सरकारले प्रदान गरेको जग्गालाई व्यावसायिक प्रयोग गरेर यहाँका केही सामुदायिक विद्यालय नमुना विद्यालय बन्न सफल भएका छन्।
बुटवलका कालिका मावि, कान्ति मावि, नवीन औद्योगिक कदरबहादुर मावि, शान्ति नमुना माविलगायत एक दर्जन विद्यालयले जग्गालाई व्यावसायिक प्रयोग गरेर आम्दानीको राम्रो स्रोत बनाएका छन्। जिल्ला शिक्षा कार्यालय रुपन्देहीका प्रमुख टेकबहादुर थापाले विद्यालयमा सरकारले प्रदान गरेको जग्गालाई पछिल्लो समय व्यावसायिक प्रयोग गरेर आम्दानीसँगै विद्यालयको गुणस्तरसमेत वृद्धि भएको बताए।
जिल्लाका एक दर्जनभन्दा धेरै विद्यालयका जग्गा विद्यालयका नाममा रहेको छ । सोमध्ये केही विद्यालयले भवन बनाएर बाँकी रहेको जग्गा भाडामा प्रदान गरेर आम्दानी गरेका छन् । केही विद्यालयले व्यावसायिक योजनासहित सटर निर्माण तथा जग्गालाई भाडामा लगाएका छन् ।
बुटवल–६ हाट बजारस्थित कान्ति विद्यालयको आयस्रोतका हकमा ३९ सटर हाट बजारलाइनमा स्थापना भएका छन् । त्यसबाट मासिक रु तीन लाख भाडाबाट विद्यालयले पाउने गरेको विद्यालयका प्राचार्य गोविन्द ज्ञवाली बताए। उनले निजी स्रोतबाट शिक्षक राख्न धौ धौ भएका बेला सटरलाई व्यवस्थित गरेपछि तलब खुवाउन सहज भएको बताए।
विसं २०१० मा स्थापित कान्तिमा ८७ शिक्षक कर्मचारीमध्ये ३३ जना मात्र दरबन्दीमा छन् । सो विद्यालय विसं २०७१ को प्रवेश परीक्षामा पश्चिमाञ्चल क्षेत्रमा उत्कृष्ट देखाई प्रथम भएको थियो । त्यहाँ नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यममा कक्षा सञ्चालन हुँदै आएको छ ।
यहाँ नाम चलेका सामुदायिक विद्यालयमध्ये कदरबहादुर माविले बुटवल– १३ देवीनगरमा भवन बनाएर भाडामा लगाउँदा मासिक एक लाख रुपैयाँ पाउने प्राचार्य प्रेमबहादुर बस्नेतले बताए ।
यस्तै कालिका माविले पनि सिद्धार्थ राजमार्गसँग जोडिएको कालिकानगरमा सटर भाडा लगाएर आम्दानीको मुख्य स्रोत बनाएको छ । विद्यालयका प्राचार्य घनश्याम पाठकले स्रोत वृद्धिसँगै विद्यालयले शैक्षिक गुणस्तरमा पनि निकै सफलता हासिल गरेको बताए।
तिलोत्तमा नगरपालिका, मणिग्रामस्थित शान्ति नमुना विद्यालयले ४० बिघा जग्गा भाडामा प्रदान गरी वार्षिक ५० लाख आम्दानी गरेको छ । विद्यालयका प्राचार्य कुलप्रसाद लामिछाने त्यसबाट शिक्षकको तलब तथा अन्य कार्यका लागि राम्रो सहयोग भएको बताउँछन्। रासस