हाल नेपालमा ३४ हजार क्षयरोगीले मात्र औषधि सेवन गरिरहेका छन्। विश्व स्वास्थ्य सङ्गठनले नेपालमा ४३ हजार क्षयरोगी भएको अनुमान गरे गरिए पनि नौ हजार बिरामी अझै सम्पर्कमा नआएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक शरच्चन्द्र वर्माले बताए।
माइक्रो ब्याक्ट्रियम ट्युबरक्लोसिस नामक क्षयरोगको कीटाणु पत्ता लागेको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ का दिन यो दिवस मनाउने गरिन्छ।
स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले समयमै उपचार गरे सहज ढङ्गबाट निको हुने क्षयरोगलाई मानिसकै लापर्बाहीका कारण उपचार गर्न कठिन हुने जीवाणु विकसित हुँदै गएको बताए। उनका अनुसार नेपालबाटै क्षयरोग र यसको जीवाणु अन्त्य गर्न राष्ट्रिय अभियान सञ्चालन भइरहेको जानकारी पनि दिए। रसुवा– उपकरणको अभावले सहज रुपमा क्षयरोगका बिरामी पत्ता लगाउन समस्या परेको छ ।
निमित्त जिल्ला स्वास्थ्य प्रमुख इसा दाहालले स्थानीय अस्पतालमा खकार परीक्षण भए पनि रगतको परीक्षण गर्ने विशेष उपकरण नहुँदा रोगको अन्तिम निर्णण गरी क्षयरोगका बिरामीलाई छिटोभन्दा छिटो औषधि खुवाउन समस्या परेको बताइन्।
जिल्लामा तीन महिलासमेत १२ क्षयरोगीले औषधि सेवन गरिरहेको बताइएको छ । दुई हप्तासम्म लगातार खोकी र ज्वरो आउने, खानाको रुचिमा कमी, तौल घट्दै जाने जस्ता लक्षण क्षयरोगको हुने भएकाले यस्ता सङ्केत देखा परेमा नजिकको स्वास्थ्यचौकी वा अस्पतालमा तुरुन्तै सम्पर्क राख्न सबै रसुवावासीलाई आग्रह गरिएको छ ।
क्षयरोगीको पहिचान गर्न यस वर्ष सीमावर्ती क्षेत्र टिमुरेमा खकार परीक्षण गरिने योजना रहेको क्षयरोग निवारण अधिकृत विष्णुप्रसाद जैसीले बताए।
बागलुङ– जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा शुक्रबार आयोजित शिविरमा ७७ जना कैदीबन्दीको खकार जाँच गरिएको छ । तीमध्ये ७२ जनाको रगतमा मधुमेहसमेत जाँच गरिएको कार्यालयका क्षयकुष्ठ ‘सुपरभाइजर’ देवप्रकाश घिमिरेले जानकारी दिए।
धौलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले समूहमा मानिस बस्ने ठाउँ क्षयरोगका लागि जोखिमयुक्त हुने हुँदा कारागारमा क्षयरोग परीक्षण शिविर राखिएको बताए।
बुटवलमा जटिल क्षयरोगीलाई नियमित औषधि सेवन र चिकित्सकीय सेवा प्रदान गर्न पाँच वर्षदेखि डट्स आवासगृहको व्यवस्था गरिएको छ । आवासगृहमा अहिले पनि यस्तै लामो समय औषधि सेवन गर्नुपर्ने र जटिल खालका क्षयरोगी बस्दै आएको लुम्बिनी अञ्चल अस्पताल, बुटवल क्षयरोग क्लिनिकका प्रमुख सत्यराज शाक्यले जानकारी दिए। उनीहरुलाई सरकारले खान बस्नसहित मासिक दुई हजार ५ सय रुपैयाँ समेत उपलब्ध गराउँदै आएको छ ।
रुपन्देहीमा पछिल्लो तथ्याङ्कानुसार क्षयरोगका नयाँ रोगी प्रतिएक लाखमा एक सय ४० जना पत्ता लाग्ने गरेको पाइएको छ । यस्तै क्षयरोगी निको हुने दरमा पनि उल्लेख्य प्रगति देखिएको छ । मृत्युदर भने प्रतिएक लाखमा चार जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्ले देखाएको छ ।
यस्तै एक वर्षमा जिल्लामा एक हजार तीन सय ८६ क्षयरोगी पत्ता लागेका छन् । तीमध्ये जटिल खालका डिआर टिबीका बिरामी ४२ जना अर्थात् ११ प्रतिशत रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठरोग निरीक्षक टीकाराम अधिकारीले जानकारी दिए।
यस्तै क्षयरोगको उपचारलाई सर्वसुलभ बनाउन चालु आवमा ८० उपचार र २२ रोग निदान केन्द्र, २० सहरी उपचार केन्द्र तथा उपकेन्द्र, दुई डिआर टिबी उपचार केन्द्र एक एक डिआर टिबी निदान केन्द्र, जिन एक्सपोर्ट केन्द्र र डिआर टिबी आवास गृह छन् ।
उनका अनुसार जिल्लामा रोग निदानका लागि निःशुल्क खकार, कल्चर तथा जेन एक्सपर्ट जाँच, डट्स सेन्टरबाट औषधि, आवास र पुनःउपचार तथा मासिक पोषण खर्चको व्यवस्था गरिएको छ ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा विष्णुप्रसाद पौडेलले सरकारले क्षयरोग न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरेर जनतालाई सेवा उपलब्ध गराएको बताउँदै यसको न्यूनीकरणका लागि सबै पक्ष सचेत हुन जरुरी रहेकामा जोड दिए । रोगसँग लड्न बेलैमा रोगको निदान र नियमित औषधि सेवन गरेमा अन्यमा सर्ने खतरा निक्कै कम रहेको जनाइएको छ । रासस