धनुषा र महोत्तरीबाट ठूलो परिमाणमा चाँदी लुकाइछिपाई भारत लैजाने गरेको तथ्य खुलेको छ। मुलुकमा बिक्री हुने सुन र चाँदीको माग भारतमा अत्याधिक रहेकाले तस्करी बढिरहेको छ।
धनुषा र महोत्तरी सुन चाँदी तस्करीको ट्रान्जिट स्थल बन्दै गएको छ। धनुषा प्रहरीले चारकिलो अवैध चाँदीसहित धनुषाको पोर्ताहाबाट महोत्तरीको बर्दिवास नगरपालिका –६ का २२ वर्षीय सञ्जोग घटानी र सोही स्थानका २९ वर्षीय नवराज लोहनीसहित दुई जनालाई पक्राउ गरेपछि सो प्रकरण बाहिर आएको हो ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको बा ८१ प ८६५९ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पूर्व–पश्चिम राजमार्गको पोर्ताहास्थित चेकपोइन्टबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । उनीहरुले बोकेको तयारी गहनासहित चार किलो चाँदीको कुनै बिल तथा कागजात नभेटिएपछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केवर पठाइएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शहरी क्षेत्रमा प्रहरीले कडाई गरेपछि तस्करहरु जिल्लाको गा्रमीण क्षेत्रमा रहेको भन्सार नाका तथा चोर बाटो हुँदै सुन चाँदी भारत तस्करी गर्ने गरेको पाईएको छ ।