अर्जेन्टिनाका विश्व चर्चित स्ट्राइकर लिओनल मेसीले नेपालको विकट जिल्लामा जोखिममा परेका बालबालिकाको पुर्नउत्थानका लागि तीनवटा स्वास्थ्य केन्द्रको स्थापना गरिदिएका छन्।
उनले युनाइटेड नेशनको बालबालिका कार्यक्रम (युनिसेफ) सँग मिलेर नेपालमा बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन विकट जिल्लामा स्वास्थ्य केन्द्रको निमार्ण गराएका हुन्।
मेसी सन् २००७ देखि आफ्नो नाममा दर्ता भएको ‘लिओ मेसी फाउन्डेसन’ मार्फत समाजसेवा गर्छन्। उनले शुक्रबार बिहान विश्व कप छनोटको दक्षिण अमेरिकी समूहअन्तर्गत चिलीविरुद्ध खेल्नु अघि आफ्नो फेसबुकमार्फत जानकारी दिएका थिए।
उनको फाउन्डेसनले युनिसेफसँग मिलेर नेपालमा १४ वटा स्वास्थ्य केन्द्र निमार्णमा काम गरिरहेको छ। थप ११ वटा स्वास्थ्य केन्द्रको निमार्ण काम चलिरहेको छ।
मेसीले नेपालमा युनिसेफको कार्यक्रमअन्तर्गत आफ्नो फाउन्डेसनको संलग्नतामा भएको काम प्रति सन्तोष व्यक्त गरेका छन्। उनले फेसबुकमा लेखेका छन्–‘म निकै खुसी छु, लिओ मेसी फाउन्डेसन र युनिसेफको सहकार्यमा नेपालमा राम्रोसँग काम अगाडि बढेको देखेर। तीनवटा स्वास्थ्य केन्द्रको निमार्ण भइसकेको छ र ११ वटा बन्ने क्रममा छन्!’
मेसीले निमार्ण भएको स्वास्थ्य केन्द्रको फोटो पनि ट्याग गरेका छन्। बार्सिलोनाका स्टार स्ट्राइकर मेसी २०१० देखि युनिसेफका सद्भावना दूत पनि हुन्। उनी विश्वभरि छरिएका बालबालिकाको शिक्षा र स्वास्थ्यलगायत आधारभूत कार्यमा युनिसेफसँग सहकार्य गर्ने गर्छन्।
नेपालमा निमार्ण भएका स्वास्थ्य केन्द्र कुन ठाउँमा बनेको हो, यसलाई गोप्य राखिएको छ।