अहिलेको सुख्खा समय। नजिकका पानीका मुहान सुकेपछि धेरै ठाउँमा पानीको समस्या थपिँदै गएको छ। तर विगतमा खानेपानीको समस्या भोगेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाशेश्वर घोक्सिलाका स्थानीयवासी अहिले भने खानेपानीको समस्याबाट मुक्त भएका छन्।
नजिकका कुवा तथा खानेपानीको मुहान सुकेपछि सात किमी टाढा सुनकोसी नदीको पानी खान बाध्य भएका यहाँका बासिन्दा अहिले धारामा पानी आउँदा हर्षित छन्। उनीहरुसँग विगतमा खानेपानी थाप्ने भाँडा थिए तर नजिकै पानी थिएन। अहिले भने धारामा पानी छ, तर पानी थाप्ने भाँडा कुनै खाली छैन। भूकम्पले खानेपानीको मुहान, ट्याङ्की, धारा र पाइपमा क्षति भएपछि सुनकोसीको पानी पिउँदै आएका घोक्सिलाका स्थानीय अहिले घर नजिकैका धाराबाट चौबिसै घन्टा पानी झर्दा खुशीले गद्गद् छन्।
मानव स्वास्थ्यमा सबैभन्दा महत्वपूर्ण चीज पानीलाई लिइन्छ, तर पानी पिउन नपाएर काकाकुल जस्तै बनेका त्यस क्षेत्रका जनतालाई कारितास इन्टरनेसनल नेपालको सहयोग र रिलिफ नेपालको साझेदारीले सुख्खा समयमा पनि पिउने पानी घरनजिकै उपलब्ध गराइदिएको छ । अहिले त्यस क्षेत्रमा तीन खानेपानी आयोजना सम्पन्न भइसकेका छन् । सो खानेपानी आयोजनाबाट एक सय ८६ घरधुरी र एक विद्यालय प्रत्यक्ष लाभान्वित भएका छन् ।
यस्तै, भूकम्पले तहस–नहस पारिदिएको खानेपानीको मर्मतसमेत भएको छ । विगतमा धित मर्नेगरी पानी पिउन नपाउने अवस्था रहेको बताउँदै स्थानीय अम्बिका बरालले भनिन्, “घरबाट सुनकोसीमा पानी बगेको देखिन्छ, तर लिन जाउँ सात किलोमिटर टाढा पर्छ, नुहाउने, लुगाधुने सरसफाइको त परका कुरा, धित मरुन्जेल पनि पानी पिउन पाइँदैनथ्यो ।”
अझ हामी महिलालाई त घरमा रहेका वस्तुभाउदेखि घरपरिवारका सदस्यलाई पानीको जोहो गर्नुपर्ने त्यो बाध्यताबाट छुट्कारा पाउँदा सपना जस्तै लागेको छ । अब त घर नजिकैका धारामा चौबिसै घन्टा पानी झरिरहन्छ । यसरी आइरहेको पानीको सदुपयोग गर्दै घरनजिकै तरकारी खेतीको सुरुवात गर्ने योजना बनाएको उनले बताइन्।
वर्षौंदेखि काकाकुल भएका हामी अहिले माछा जस्तै भएका छौँ, पानी पर्याप्त भएको छ । पानीलाई पुनः उपयोग गर्न सकिने जुक्ति पनि पाएका छौ, दैनिक हातमुख धुने पानी र भाँडा माझ्ने पानीलाई एकीकृत गर्दा तरकारी खेतीलाई सिँचाइ गर्न पुग्ने उनको भनाइ छ ।
यस्तै विगतमा डढेलोले खानेपानीका पाइप जलाउँदा मुहानमा पानी भए पनि धारा र घरका भाँडा खाली नै हुने गरेको अर्का स्थानीयवासी गोपाल अच्छामीले दुःखेसो सुनाए । तर अहिले दातृ निकायको सहयोगले खानेपानी प्राप्त गरेका छौँ यसलाई टिकाइराख्न पनि उत्तिकै जिम्मेवार रहनुपर्ने उनले बताए । अब खानेपानीलाई सदैव घरनजिकै आउने बनाउन खानेपानीका पाइप जमिनमा गाड्ने, खानेपानीका ट्याङकी सरसफाइ गर्नेसँगै खानेपानीका मुहान सदैव सुरक्षित बनाउने योजना बनाइएको अच्छामीले बताए।
यस्तै बर्खायाममा खानेपानी बिग्रन सक्ने भएकाले मर्मत तथा सम्भार कोषको स्थापना गरिने जानकारी दिँदै उनले भने, “अब हरेक घरधुरीबाट मासिक थोरै रकम जम्मा गर्ने र पानी पाले राख्नेछाँै, पैसा दिन सक्नेले पैसा दिनेछन् नसक्नेले अन्न दिने र त्यही अन्न बेचेर पैसा बनाई कोषमा जम्मा गर्नेछौँ ।”
विगतमा उपभोक्ताकै बुद्धि नपुग्दा खानेपानीको हाहाकार भएको उनले बताए। अव सुनकोसीमा सिनो पन्छाएर गाग्रीमा पानी भर्नुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।
स्थानीयवासी देवी श्रेष्ठ विगतमा बिहानभर पानीको चहारीमा बित्ने गरेको र विगतमा खानेपानीका समस्याको स्मरण गर्दै विद्यालयबाट छोराछोरी घरैमा पानी खान आउनुपर्ने समस्याको अन्त्य भएको उनले बताए। पहिले साना बच्चालाई बोतलमा पानी पठायो, बोतलै हराएर आउने, तिर्खा लागेको समयमा घर आउन बाध्य थिए अब त मङ्गला मावि घोक्सिलामा खानेपानीको अभावबाट अहिले मुक्त भएको छ ।
कारितास इन्टरनेसनल नेपालको सहयोग र रिलिफ नेपालको साझेदारीमा तीनवटा खानेपानी आयोजना निर्माण सम्पन्न भएका र तीनवटा अब निर्माण हुने रिलिफ नेपालका इन्जिनियर तथा कार्यक्रम संयोजक राकेशरत्न यादवले जानकारी दिए।
उनका अनुसार नौ लाख २४ हजार रुपैयाँमा घोक्सिला खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । सो आयोजनाबाट त्यस क्षेत्रका एकसय १६ घरधुरी र एक विद्यालयलाई पानीको सुविधा उपलब्ध गराइएको छ जसमा सातवटा नयाँ धारा निर्माण गरिएको र १० वटा धारा मर्मत गरिएको छ । रासस