विसं १८८१ मा स्थापित पुरातात्विक महत्वको नागेश्वर मन्दिर प्रहरी बिटको स्थापनापछि सुरक्षित रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
एयरपोर्ट विस्तारका क्रममा विसं २०६८ असारमा मन्दिर काठमाडौँ महानगरपालिका वडा नं ३५ पेप्सीकोला टाउन प्लानिङमा सारिएको थियो। मन्दिर सारिएपछि पुरातात्विक महत्वको भएकै कारण पटक पटक चोरीको प्रयास भएकाले गत मङ्सिरमा महानगरीय प्रहरी बिट स्थापना गरिएको समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीले बताए।
नागेश्वर गुम्बजमाथि गजुर भएको सो मन्दिर नेपालको एक मात्र मन्दिर भएको समितिले जिकिर गरेको छ। मन्दिरको गर्भगृह नै उखेलेर शिवलिङ्ग लैजान खोजिएपछि गृह मन्त्रालयको सहयोगमा गत मङ्सिरदेखि मन्दिर क्षेत्रको सुरक्षार्थ बिट स्थापना गरिएको थियो। बिट स्थापनापछि सो क्षेत्रमा फोहर फाल्नसमेत बन्द भएको स्थानीयवासीले जनाएका छन्। रासस