नेपालभित्रको ‘सानो नेपाल’ भनेर चिनिने बागलुङ जिल्ला दस स्थानीय तहमा बाँडिएको छ। नयाँ कायम भएका स्थानीय तह कार्यान्वयनमा आइसकेका छन्।
नगरपालिका र गाउँपालिकामा कार्यकारी अधिकृतसहितका कर्मचारी खटिएका छन्। दैनिक कार्यसम्पादन र सेवा प्रवाह सुरु भइसकेको सम्बन्धित तहका पदाधिकारीले जनाएका छन्। राजनीतिक दल, सर्वसाधारणसहितको उपस्थितिमा स्थानीय तहका कार्यालय स्थापना गरिएका छन्। कतिपय ठाउँमा कार्यालय खोल्दा ‘हर्ष बढाईं’ समेत गरिएको छ।
गाउँतहमै राज्यको प्रभावशाली उपस्थितिको सुनिश्चितताले नागरिक तहमा ठूलो आशाको सञ्चार गरेको छ। राज्यको शक्ति, स्रोत र सेवा घरगाउँमै पुग्नुलाई एउटा नवीन घटनाको रुपमा विश्लेषण गरिएको छ। केन्द्र, क्षेत्र र जिल्ला सदरमुकाममा मात्र केन्द्रित अधिकार अब सिधै नगरपालिका र गाउँपालिमा पुगेको छ। नागरिकलाई अधिकार सम्पन्न बनाउँदै विकास र समृद्धिको यात्रामा मुलुकले ठूलो अग्रता हासिल गरेको छ।
राज्य पुनःसंरचनामा बागलुङः
पुरानो व्यवस्थामा एक नगरपालिका र ५९ गाविस रहेको बागलुङमा अब चार नगरपालिका र ६ गाउँपालिका भएका छन्। नयाँ कायम भएका नगरपालिकामा बागलुङ नगरपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र जैमिनी नगरपालिका रहेका छन्।
जिल्लाका मुख्य चारवटा व्यापारिक, राजनीतिक केन्द्रलाई नगरपालिकाले समेटेका छन्। नगरपालिकाका नाम ऐतिहासिक पृष्ठभूमिका आधारमा राखिएको छ।
जिल्लाकै नामबाट बागलुङ नगरपालिका, बाइसे–चौबिसे राज्य हुँदाको तत्कालीन गलकोट राज्यको नामबाट गलकोट नगरपालिका नामकरण गरिएको छ। यस्तै, जैमुनी ऋषिको नामबाट जैमुनी नगरपालिका नामकरण गरिएको छ। मुलुककै एकमात्र सिकार आरक्ष रहेको ढोरपाटनको नामबाट ढोरपाटन नगरपालिकाको नामकरण गरिएको छ। बागलुङ नगरपालिकाको बागलङ सदरमुकाम, गलकोटको हरिचौर, ढोरपाटनको बुर्तिवाङ र जैमुनीको कुश्मीसेरामा केन्द्र निर्धारण गरिएको छ।
क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो नगरपालिका ढोरपाटन बनेको छ भने सबैभन्दा सानो बागलुङ नगरपालिका। जनसङ्ख्या र वडाको हिसाबले सबैभन्दा ठूलो बागलुङ नगरपालिका बनेको छ भने सानो ढोरपाटन नगरपालिका। बागलुङ नगरपालिकाको क्षेत्रफल कुल ९८.०१ वर्ग किलोमिटर छ भने ढोरपाटन नगरपालिकाको क्षेत्रफल दुई सय २२.८५ वर्ग किलोमिटर छ। बागलुङमा १४ वडा र जनसङ्ख्या ५७ हजार आठ सय २३ छ। ढोरपाटनमा २६ हजार दुई सय १५ जनसङ्ख्या र वडा जम्मा ९ वटा छन्।
गलकोट नगरपालिका १९४.३९ वर्ग किलोमिटरमा फैलिएको छ जसको जनसङ्ख्या ३३ हजार ९७ र वडा सङ्ख्या ११ रहेको छ। जैमुनी नगरपालिकाको क्षेत्रफल एक सय १८.७१ वर्गकिलोमिटर छ भने ३१ हजार चार सय ३० जनसङ्ख्या र १० वटा वडा छन्।
जिल्लाका ६ गाउँपालिकामध्ये पाँच वटाको नाम खोलाको नामबाट राखिएको छ जसमा काठेखोला, ताराखोला, बडीगाड खोला, तमानखोला र निसीखोला रहेको छ।
बरेङ गाउँपालिकालाई मात्र ठाउँको नामले नामकरण गरिएको छ। धेरै जनसङ्ख्या र वडा भएको गाउँपालिकामा बडिगाड गाउँपालिका हो भने सबैभन्दा कम जनसङ्ख्या भएको गाउँपालिका तमानखोला हो। सबैभन्दा कम वडा भएको गाउँपालिकामा तमान परेको छ जसमा जम्मा पाँच वडा छन्। बडिगाड गाउँपालिका एक सय ७८.६८ वर्ग किलोमिटरमा फैलिएको छ जसको जनसङ्ख्या ३० हजार ९ सय ६ रहेको छ र वडा १० वटा छन्।
बडिगाड गाउँपालिकाको केन्द्र साविकको ग्वालीचौर गाविस कार्यालय ताकिएको छ। निसीखोला गाउँपालिकाको क्षेत्रफल दुई सय ४४.३७ वर्ग किलोमिटर, जनसङ्ख्या २० हजार ६११ र वडा सङ्ख्या सात रहेको छ। निसीखोला सबैभन्दा ठूलो क्षेत्रफल भएको गाउँपालिका हो जसको केन्द्र देवीस्थान तोकिएको छ। ताराखोला गाउँपालिका १२९.५३ वर्ग किलोमिटरमा फैलिएको छ। यसको वडा सङ्ख्या पाँच छ भने जनसङ्ख्या १२ हजार ९ रहेको छ। केन्द्र साविकको अर्गल गाविस तोकिएको छ।
तमानखोला गाउँपालिका सबैभन्दा कम तीन गाविस मिलाएर बनाइएको गाउँपालिका हो। यसमा १० हजार ६५९ जनसङ्ख्या र ६ वडा क्षेत्रफल एक सय ७८.०२ वर्ग किलोमिटर रहेको छ। काठेखोला गाउँपालिकाको जनसङ्ख्या २२ हजार ८६५ रहेको छ। क्षेत्रफल ८२.८८ वर्ग किमि र वडा सङ्ख्या आठ रहेको छ। यसको केन्द्र बिहुँ सुल्डाँडा तोकिएको छ।
यस्तै, बरेङ गाउँपालिकामा पनि वडा सङ्ख्या पाँच रहेका छन्। कुल ७५.२८ वर्ग किलोमिटरमा फैलिएको उक्त गाउँपालिकाको जनसङ्ख्या १४ हजार ४९२ रहेको छ जसको केन्द्र साविकको हुग्दिशिर गाविस कार्यालय तोकिएको छ।
विप्रेषण, झोलुङ्गे पुल, हातेकागज, बुट्टैनलीका कारण परिचित बागलुङ जिल्ला स्रोतसाधनका हिसाबले धनी छ। जैविक विविधताले भरिपूर्ण बागलुङ राजनीतिक दृष्टिकोणले पनि प्रभावशाली जिल्लामा गनिन्छ। कृषि, पर्यटन, जलविद्युत् जस्ता क्षेत्रमा विकासको अथाह सम्भावना बोकेको यस जिल्लाको समग्र विकासलाई पुनःसंरचनाको नयाँ खाकाले गति दिने विश्वास लिइएको छ। रासस