चार वर्षअघि मात्र तेह्रथुमको आठराई इवाका किसान अलैँची बेच्न पिठ्यूँमा बोरा बोकेर पाँचथरको सदरमुकाम फिदिमसम्म पैदलै पुग्थे। उतिबेला प्रति केजी १० रुपैयाँ त बोकानी भाडा मात्र तिर्नुपर्थ्यो।
त्यति टाढाको बाटो बोकाएर लगेपछि हात परेको दाममा चित्त बुझाउनुबाहेक विकल्प हुन्थेन किसानलाई। उनीहरुले भाग्य हुँदा राम्रै भाउ पाउँथे, नभए अमिलो मुख लाएर हतारमा घर फर्कनुको विकल्प पनि थिएन। बजारसम्म ल्याउन र बेच्नै समस्या भएपछि बारीमा फल्ने तरकारी र फलफूलतिर किसानको ध्यानै थिएन। कति कृषि उपज त माटोमा त्यत्तिकै फल्थे, त्यहीँ मिल्थे।
पूर्वी पहाडका दुर्गम भेगका तिनै किसान अचेल अलैँची बेच्न दिनभर हिँडेर बजार झरेका कुरा कथाजस्तै सुनाउँछन्। उनीहरु भन्छन्, “अहिले त हामी व्यावसायिक तरकारी, फलफूल खेती र अकबरे पनि लगाउन थालेका छौँ। बजारको कुनै सुर्ता छैन। किन्ने घरै आउँछन्। नआए बिहान गयो, बेच्यो, साँझ घर फिर्यो।”
पूर्वी पहाडका गाउँमा भइरहेकोे परिवर्तनको कारण हो यहाँको सडक सञ्जाल र त्यससँगै जोडिएर आएको मध्यपहाडी लोकमार्ग जसले उत्पादनलाई बजारसँग, गाउँलाई सहरसँग, किसानलाई उद्यमशीलतासँग र गरिबीलाई समृद्धिसँग क्रमशः जोडिरहेको छ। “पहिले यही अलैँची बेच्न पाइएला कि नपाइएला? भन्ने चिन्ताले निन्द्रा लाग्थेन, अहिले त अदुवा र अम्लिसो पनि लगाएको छुँ, तै पनि मज्जाले सुत्छु,” इवाका कृषक राम पौडेल भन्छन्, “नाम्लो लाउनु पर्दैन, गाडी गाउँमै आउँछ।”
छातेढुङ्गाका अर्का किसान चन्द्र तिवारीकोे उत्साह त यतिसम्म बढेको छ कि उनले यसपालि एक सय ५० वटा स्याउ पनि रोप्न भ्याए, आफ्नो उही खेतमा, जहाँ कुनै बेला गहुँ र मकै रोप्नुको विकल्प उनीसँग थिएन। “व्यापारी गाडी चढेर घरघरै सामान किन्न आइरहेका छन्, त्यही देखेर यसपालि स्याउ लगाएको छु, कस्तो फल्दोरैछ, हेरुँ,” उनले भने। सडक बन्दैमा आफैँ कतै पनि विकास हुँदैन। तर विकास हुनलाई सडक नभई पनि हुँदैन। फेरि सडक बन्दैमा पैसा ह्वारह्वार्ती गाउँ छिर्ने पनि होइन। त्यसैले सडक जति दुर्गमका बस्तीभित्र सम्म पस्दै जान्छ, विकासको उज्यालो पनि क्रमशः छिर्छ।
यही रहस्य बुझेका पुर्वी पहाडी जिल्ला तेह्रथुमको दुर्गमका बासिन्दा सडक सञ्जालमा धमाधम जोडिँदै छन्। यहाँ बर्सेनि सडक सञ्जाल तीव्ररुपमा फैलिँदो छ। त्यसो त पूर्वी तराईसँग जोडिन मात्र एक दशकदेखि तड्पिरहेका यिनीहरु एकैसाथ पूर्व–पश्चिम जोडिने अभियानमा पनि छन्। पहाडै–पहाड पूर्वदेखि पश्चिमसँग नाता गाँस्ने राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गले पनि यिनीहरुलाई बजारसम्म जोडेको छ।
पूर्वमा चिवा भञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म प्रस्तावित करिब एक हजार सात सय किलोमिटर लामो लोकमार्गले तेह्रथुमका डेढ दर्जनभन्दा बढी गाउँलाई छोएको छ। सडकले छोएका छेउछाउका बस्तीको फेरिँदो मुहार र व्यावसायिक बन्ने तर्खरमा रहेका किसानले सडकले ल्याउँदै गरेको परिवर्तनको छनक दिन्छन्।
जिल्लामा मध्यपहाडी लोकमार्गलाई केन्द्र मानेर पनि स्थानीयस्तरमा विभिन्न गाउँ जोड्ने कृषि सडक निर्माण गरिएका छन्। दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा ३३ वटा सडक निर्माण भएको जिल्ला समन्वय समितिले जनाएको छ। कालोपत्रे सडकले सदरमुकाम र केही गाविसलाई मात्र छोएको भए पनि जिल्लाका सबै गाउँलाई कच्ची सडकले जोडिसकेको जिल्ला समन्वय समितिका सूचना अधिकारी देवेन्द्र निरौलाले बताउँछन्। उनका अनुसार कतिपय गाविसमा टोल–टोलसम्म समेत सडक पुगेको छ।
विशेषगरी सडक सञ्जालमा पछि मात्र जोडिएका खोरुङ्गा खोलापारिका बासिन्दालाई सडक निर्माणले निकै खुसी तुल्याएको छ। यस भेगका ओयाक्जुङ, जलजले, सिम्ले, इसिवु, सम्दु, खाम्लालुङ, सक्रान्तिबजार, इवा, ह्वाकु, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ र छथर क्षेत्रका सुदाप, ओख्रे, फाक्चामारा, पञ्चकन्या, आङ्दिम, हमरजुङलगायत गाउँमा सडकले विकासको बाटोमा जनतालाई डो¥याइरहेको छ। यीमध्ये छथरबाहेकका गाउँलार्ई मध्यपहाडी लोकमार्गले पनि छोएको छ।
सदरमुकामदेखि दुई दिनसम्म पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको आठराई क्षेत्रका बासिन्दा अब सडकसँग जोडिएपछि सदरमुकाम पनि नजिकिएको छ। निर्माणाधीन ग्रामीण सडकमै पनि सवारी सञ्चालन हुन थालेपछि आजभोलि आठराईबाटै पनि एकै दिनमा सदरमुकाम आएर काम सकेर भोलिपल्ट फर्कन सजिलो भएको नागरिक समाजका अध्यक्ष अनिरुद्र तिम्सिनाले बताउँछन्। सडक नबनुन्जेल आठराईवासीको व्यापारिक केन्द्र पाँचथर सदरमुकाम फिदिमबजार थियो। बिहान रातिबाट हिँडेका पसिनाका धारा चुहाउँदै साँझ बल्ल फिदिम पुगेर एक दिन बसेर किनमेल गर्थे र फिर्थे। तर सडक बनेपछि आठराईवासी एकै दिनमा फिदिम पुगेर किनमेल गरेर फर्किने गरेका छन्।
पाँचथरको फिदिमका एक होटल व्यवसायी भन्छन्–“किनमेल गर्न आउनेको भीड लाग्थ्यो। होटलमा खाना खाने र बास बस्ने खचाखच हुन्थे। गाउँ–गाउँमा बाटो बनेपछि बास बस्ने घटे, होटलको व्यवसाय सुक्यो। अचेल त दैनिक उपभोग्य सामग्री समेत उतै पुग्न थालेको छ, सामान किन्ने मानिस उति साह्रो आउँदैनन्,” उनले थपे – “सरकारी वा अरू सानातिना काम लिएर आउने पनि बिहान आएर बेलुकी फर्कन्छन्। सडक खुलेपछि पाँचथरको फिदिमका धेरै होटल विस्थापित पनि भएका छन्। फिदिममा पर्यटकलाई लक्ष्य गरी खोलिएका ठूला लगानीका होटल सञ्चालनमा रहे पनि सानातिना होटल कम मात्र छन्।”
लोकमार्गलाई आधार बनाएर विभिन्न गाउँमा मोटरबाटो पुगेको र त्यसैका कारण आठराई क्षेत्रका बासिन्दा पनि आर्थिक तथा सामाजिकरूपले परिवर्तनकोे दिशामा उन्मुख रहेको चुहानडाँडाका समाजसेवी रामचन्द्र थपलिया बताउँछन्। “विशेषतः यसले स्थानीयवासीलाई सडकको महत्व बुझाएको छ,” उनले भने–“त्यही भएर गाविस, जिविसको बजेट र स्थानीयवासीसँग रकम सङ्कलन गरेर बाटो निर्माणलाई महत्व दिइयो र अहिले टोल–टोल सडकसँग जोडिएका छन्।” यस क्षेत्रमा कतिपयले निजी प्रयासमा पनि आफ्नो टोल तथा घरैसम्म बाटो पुर्याएको थपलिया बताउँछन् । रासस