जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले बादललाई स्वच्छ राख्न आग्रह गरेका छन्। मौसम सप्ताहको अन्तिम दिन बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बादल प्रदुषित हुँदा भोग्नु पर्ने समस्याबाट बच्न सचेत गराएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने, 'बादल प्रदुषित भयो भने धेरै नकारात्मक असर पर्छ। अतिवृष्टि अल्पवृष्टि तथा अनावृष्टिको निर्धारण बादलबाटै हुन्छ। अम्लिय वर्षादेखि चट्याङको निर्धारण पनि बादलबाटै हुन्छ। त्यसैले बादललाई स्वच्छ राख्नुपर्छ।'
राष्ट्रिय जल तथा मौसम सप्ताह समितीका उपाध्यक्षसमेत रहेका शर्माले बढ्दो पानी र हावा प्रदुषणका कारण बादलको स्वच्छतामा कमी आइरहेको बताए। हरेकवर्ष मार्च २३ मा मौसम विश्वभर मौसम दिवस मनाउने गरिन्छ। यही दिवसको सन्दर्भमा एक सातासम्म मौसम सप्ताह मनाउने गरिएको छ। सप्ताहको अन्तिम दिन मंगलबार विभागले अन्तरक्रिया क्रायक्रम आयोजना गरेको हो।
बढ्दो शहरीकरण र तीव्र जनसंख्या बृद्धिका कारण वातावरण र मौसमा परेको प्रभाव र त्यसको रोकथामका लागि जनचेतना जगाउन यो दिवस मनाउन थालिएको हो। विश्व मौसम संगठन सम्बन्धि महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि मौसम दिवस मनाउन सुरु भएको हो।
सप्ताह अन्तर्गत नै बुधबार विश्व पानी दिवस मनाइएको थियो। सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले २२ मार्चलाई विश्व पानी दिवसको रूपमा घोषणा गरेपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो।.नेपालमा सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो।
राष्ट्रसंघले यसपालीको पानी दिवसलाई पानीको पुन:प्रयोगसँग जोडेको छ। विश्वमा धेरै पानी प्रयोग पछि त्यसै खेर गइरहेको र त्यसलाई पुन:प्रयोगमा ल्याउन सके पानीको अभाव घट्ने विभागका महानिर्देशक शर्माले बताए।