गत फागुन ५ गते व्यापारी श्यामसुन्दर अग्रवाल न्युरोडबाट अपहरणमा परे। अपरहरण परेका उनी आठ लाख फिरौती बुझाएर रिहा भए। त्यही दिन भक्तपुरमा एक युवतीको हत्या भयो। ती युवती अग्रवालकै पसलमा काम गर्थिन्। महानगरीय अपराध महाशाखाले हत्या गरिएकी राधिका श्रेष्ठ अग्रवालको अपहरणमा संलग्न रहेको र उनको हत्या उनका प्रेमी प्रकाश लामिछाने गरेको अनुसन्धानमा देखिएको बताएको छ।
महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार अग्रवाल अपहरणको मुख्य योजनाकार लामिछानेले राधिकालाई प्रयोग गरेका थिए। अग्रवाल अपहरणमा उनकै साडी पसलमा काम गर्ने श्रेष्ठसहति चार जना संलग्न रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ।
अपहरणमा परेका अग्रवालसँग अपहरणका नाइके लामिछानेले ८ लाख लिएका थिए। ‘पैसा लिएको र अपहरण गरेको पोल खुल्ने भएपछि सोही दिन उसले राधिकाको हत्या गरेको देखिन्छ’, एसपी कार्कीले भने। राधिकाको फागुन ५ गते राति भक्तपुरमा हत्या भएको थियो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मुख्य योजनाकार लामिछाने भने अझै फरार रहेका छन्।