तराई मधेस थरुहटलगायत क्षेत्रभित्र राजनीतिक दलहरुले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाका सत्यतथ्य छानबिन सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले धनुषा जिल्लाको सदरमुकाम जनकपुरबाट मधेस आन्दोलनमा भएका घटनाहरुको स्थलगत अनुसन्धान सुरु गरेको छ ।
तराई, मधेस र थरुहटमा भएको आन्दोलनका क्रममा भएका हत्या, हिंसा, आगजनी, तोडफोड, कुटपिटलगायतका घटनाहरुको सत्य तथ्य छानबिनका लागि आयोगको टोलीले स्थलगत अनुसन्धान सुरु गरेको हो।
उच्चस्तरीय छानबिन आयोगका अध्यक्ष तथा पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित टोलीले मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका ठाउँहरुको स्थलगत अनुगमन गरेको छ।
टोलीले जनकपुरको मिल्स एरिया, भानु चोक, शिवचोक, पिडारी चोक, रामानन्द चोक, विश्वकर्मा मन्दिरलगायतका स्थानहरुमा प्रहरीको गोली लागी हत्या भएको घटनाका प्रत्यक्षदर्शी तथा परिवारजनसँग प्रत्यक्ष रुपमा भेटघाट गरी जानकारी लिएका छन् ।
धनुषामा मृत्यु भएका आन्दोलनकारीको घटनास्थल, गोली लागेको स्थानको दूरी मापन, गोली चलाइएको अवस्थाबारे जानकारी लिनुका साथै घटनाका बेला प्रत्यक्षदर्शी तथा आन्दोलनकारीसँग छलफल गरी टोलीले घटनाको विस्तृत अध्ययन गरिरहेका छन् ।
टोलीलाई सरकारद्वारा सहिद घोषणा गरिएका नितु यादवका बुवा श्रीनारायण यादव, दिलीप यादवका बुवा रामनरेश यादव, सञ्जय चौधरीका दाजु राजुकुमार चौधरी र रोशन ठाकुर रमणका भाइ सुमित ठाकुरले घटनाका बारेमा विस्तृत जानकारी गराएका थिए ।
आयोगको टोलीसमक्ष आन्दोलनको क्रममा प्रहरीको गोली लागी घाइते भएका, अङ्गभङ्ग भएका, कुटपिटबाट चोट लागेका, तोडफोड भएकालगायतका अन्य घटनाका बारेमा समेत जानकारी गराइएका थिए ।
घटनाका पीडित परिवार तथा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष लालले सम्पूर्ण विषयवस्तुमा स्रोत, परिधि, प्रमाण, घटनास्थल आदि सबैको विषयवस्तुलाई गहन रुपमा अध्ययन गदै जाने र यसको प्रतिफल जनतासामु आउनेमा सबैलाई विश्वस्त हुन आग्रह गरेका थिए ।
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले भने, ‘कारबाही हुन्छ वा हुँदैन भन्ने विषयमा अहिले केही बताउन सक्दिैन, अनुसन्धानका विभिन्न चरणहरु हुन्छन्, ती सबै चरणहरुको प्रतिवेदनले टुङ्गो लगाउँछ ।’
अध्यक्ष गिरिशचन्द्र लालको नेतृत्वमा आएका टोलीका सदस्यहरुमा पूर्वन्यायाधीश सूर्यप्रसाद कोइराला, पूर्वअनुसन्धान विभाग प्रमुख नवराज ढकाल, सुखचन्द्र झा र सुजन लोपचन छन् ।
धनुषासहित मधेस तथा थरुहटका १८ जिल्लाबाट तीन हजार एक सय उजुरी तथा निवेदन प्राप्त भएको आयोगका अध्यक्ष गिरिशचन्द्र लालले जानकारी दिए। गत मङ्सिर १६ गतेदेखि पीडित पक्ष, सरोकारवाला, मानवअधिकार, र सम्बन्धित सङ्घसंस्थाबाट उजुरी आह्वान गरे बमोजिम सो उजुरी परेको हो ।
यसैगरी चैतको ११ र १२ गते महोत्तरी जिल्लाको जलेश्वरलगायतका स्थानहरुमा स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको आयोगले जनाइएको छ । अनुगमन तथा निरीक्षणका क्रममा आयोगको टोलीले जिल्लाका सम्पूर्ण उजुरीकर्ता, सरोकारवाला, मानवअधिकारसँग सम्बन्धित सङ्घसंस्थामार्फत घटनासँग सम्बन्धित फोटो, श्रव्य दृश्य र आवश्यक कागजातका प्रमाणहरु सङ्कलन पनि गरिरहेका छन् । रासस