भूकम्प प्रभावित १७ जिल्लाको तथ्याङ्क सङ्कलन अन्तिम चरणमा पुगेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।
तनहुँ र सोलुखुम्बुमा तथ्याङ्क सङ्कलन केही बाँकी रहेको भए पनि १५ जिल्लाको काम सकिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।
“तनहुँको काम एक हप्तामा सकिन्छ, सोलुखुम्बुमा साविकका तीन गाविस नाम्चे, खुम्जुङ र चौँरीखर्कमा हिउँ परिरहेकाले काम हुन सकेको छैन, त्यहाँको अधिकतम तापक्रम माइनस चार डिग्री सेल्सियस छ, मौसम सुध्रिएपछि काम सुरु हुन्छ”– उनले भने।
भोजपुर, खोटाङ, सङ्खुवासभा, धनकुटा, लमजुङ, पर्वत, स्याङ्जा, पाल्पा, कास्की, अर्घाखाँची, नवलपरासी, चितवन, बाग्लुङ, गुल्मी र म्याग्दी गरी १५ जिल्लाको तथ्याङ्क सङ्कलन सम्पन्न भएको छ ।
अहिलेसम्म सङ्कलन भएको तथ्याङ्कअनुसार १७ जिल्लामा एक लाख ७० पीडित छन् । भूकम्पलगत्तै लिइएको तथ्याङ्कअनुसार १७ जिल्लामा एक लाख ९० हजार पीडित थिए । त्यसअनुसार अब २० हजारको हाराहारीमा मात्र तथ्याङ्क सङ्कलन गर्न बाँकी छ ।
विभागले पुस १ गते १७ जिल्लामा कार्यालय खोली पुस १५ गतेदेखि पीडितको मात्रै तथ्याङ्क सङ्कलन गर्ने ‘भेरिफिकेसन मोडल’ बाट सूची लिएको थियो । रासस