नक्कली लाइसेन्स बनाउने एक अड्डामा ललितपुर प्रहरीले छापा मारेको छ। ललितपुरको कार्यविनायक नगरपालिका वडा नम्बर ५ सिद्धिपार्कमा रहेको एक घरमा ललितपुर प्रहरी र अपराध महाशाखाकाे टोलीले छापा मारेर २ जनालाई पक्राउ गरेको छ।
नक्कली लाइसेन्स बनाउने सिन्धुली घर भइ कार्यविनायक नगरपालिका ५ बस्ने अनिल कुमार पाख्रिन र नक्कली लाइसेन्स बनाउने ललितपुर भनिमण्डलका गणेश बहादुर गोलेलाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका निमित्त प्रमुख एसपी अशोक सिंहले जानकारी दिए।
प्रहरीले उनीहरुको साथबाट १ सय १५ थान खाली लाइसेन्स, ६ थान लाइसेन्स नक्कली, र १ सय ९० वटा यातायात कार्यालयको होलोग्राम बरामद गरेको छ। होलोग्राम सक्कली भएको आशंका गर्दै प्रहरीले त्यस विषयमा अनुसन्धान भइरहेको बताएको छ।
पाख्रिनले साढे २ तला घरको दोस्रो फ्ल्याट भाडामा लिएर त्यहीँबाट नक्कली लाइसेन्स बनाउँदै आएका थिए। यातायत कार्यालयकै कर्मचारीको मिलेमतोमा होलोग्राम उनले लिएको हुन सक्ने भन्दै त्यसतर्फ पनि अनुसन्धान अघि बढाइएको एसपी सिंहले बताए।
यातायत कार्यालयमा २०५५ सालदेखि लेखापढीका काम गरेका पाख्रिनले ६ महिनाअघि देखि नक्कली लाइसेन्स बनाउने गरेको बताए। उनले लाइसेन्स बनाइदिए वापत कम्तिमा १ हजारदेखि २५ हजारसम्म लिने गरेको अपराध महाशाखाका प्रहरी निरिक्षक खुमलाल भुसालले बताए।