चैतको दोस्रो साता लागिसक्दा पनि राजधानीमा जाडो घट्नुको साटो बढेको छ। बिहान घाम लागे पनि चिसो हुने र दिउँसो घरि घाम लाग्ने र घरि बादल छाउने भएपछि राजधानीवासीले बाक्ला ज्याकेट फुकाल्न सकेका छैनन्।
मौसमविद्ले चैतको सुरुमा परेको पानी र त्यसपछिको स्थानीय सिस्टमका कारण राजधानीमा चिसो बढेको बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रवी प्रधानाङ्गका अनुसार चैतको पहिलो साता पश्चिमी वायूको प्रभावले देशभरि वर्षा र हिमपात भएको थियो त्यसैको असर हो, अहिलेको जाडो।
‘राजधानी नजिकका हिमाल र अग्ला ठाउँमा परेको हिउँ हुँदै अहिले राजधानीमा हावा आइरहेको छ’, प्रधानाङ्गले भने, ‘चिसो बोेकेको उत्तर पश्चिमी वायूले राजधानीमा बिहानपख चिसो बढाएको छ।’
त्यस्तै प्रि मनुसुन अवधि सुरु भइसकेकाले स्थानीय सिस्टमका कारण दिउँसो बादल लाग्ने र अपरान्हमा बदली हुने भएकाले दिउँसो चर्को घाम लाग्न सकेको छैन। ‘एकातिर दिउँसो घाम नलागेकाले जमीनको सतहले धेरै ताप सोस्न सक्दैन, अर्कातिर राति आकाश खुलेपछि हिमालबाट आउने हावाले सतहलाई झन चिसो बनाइदिन्छ’, प्रधानाङ्गले भने, ‘यी दुई कारणले चिसो बढेको हो।’
हिमालबाट हावा आउने क्रम केही दिन रहने भएकाले अझै केही चिसो हुने उनले बताए। ‘भोलि र पर्सी त पानी पर्ने सम्भावना छैन, शुक्रबार अलिकति वर्षा हुने देखिन्छ’, उनले भने, ‘त्यसपछि भने केही परिवर्तन हुन्छ कि।’ पूवानुमान महाशाखाले तीन दिनसम्मको मात्रै मौसम पूवानुमान गर्ने गरेको छ।