फोटो -बिबिसी
२ वर्ष अघि डोटी जेजोमाडौंकी १३ वर्षीया बालिकालाई घर काम लगाउनुको साथै पढाइदिने आश्वासन दिएर नाता पर्ने लोकराज पाण्डेले काठमाडौं ल्याए। बानेश्वरमा रहेको घरमा आएपछि ती वालिकाले घरमा खाना पकाउनेदेखि, लुगाधुने, सरसफाइ गर्ने सम्पूर्ण काम गर्थिन्।
पाण्डे दम्पत्तिले पढ्नका लागि स्थानीय सरकारी विद्यालयमा भर्नासमेत गरिदिए। कक्षा ७ मा भर्ना गरिदिएका ती बालिका अहिले ९ कक्षामा पढ्छिन्।
तिनै बालिका आफू सुरक्षित नभएको भन्दै बानेश्वरस्थित प्रहरीमा गइन। घर मालिक पाण्डेले आफूलाई १९ महिनादेखि बलात्कार गर्दै आएको भन्दै ती बालिकाले प्रहरीसमक्ष गएर उजुरी हालेकी हुन। प्रहरीले अहिले पाण्डेलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ।
तर प्रहरीमा आफूले पाण्डेविरुद्ध दिएको उजुरी फिर्ता लिन दबाब आएको उनले बताएकी छिन्। पाण्डेका आफन्तले उजुरी फिर्ता लिन केही आर्थिक प्रलोभन देखाएको उनले बताइन। 'मेरा बुबा पनि डोटीबाट काठमाडौं आउनुभएको छ,' उनले भनिन, 'हिजोदेखि त बुबाले पनि उजुरी फिर्ता लिन आग्रह गरेका छन्।" उजुरी फिर्ता लिए केश मिलाइदिने उनीहरुले वचन दिएको कुरा बाबुले आफूलाई भनेको उनले बताइन।'
बालिका बलात्कारको मुद्दा खुकुलो बनाउन प्रहरीलाई राजनीतिक दबाबसमेत आएको केन्द्रीय बालकल्याण समितिले जनाएको छ। 'बलात्कारजस्तो जघन्य अपराधको मुद्दा मिलाउन कतिपय नेता र प्रहरीका माथिल्लो तहका हाकिमहरुले हामीहरुसँग आग्रह गरेका छन्,' समितिका एक पदाधिकारीले भने।
आवश्यक परे उनीहरुकाे नाम सार्वजनिक गर्ने ती पदाधिकारीले चेतावनी दिए। अहिले ती वालिका जिल्ला बालकल्याण समितिको संरक्षणमा छिन्। प्रहरी र पीडकले बालिका अभिभावकको जिम्मा लगाउन समितिलाई भनिरहेको छ।
बाबुसँग जान बालिका पनि राजी नभएको र ती बालिकालाई कानुनी परामर्श दिनुपर्ने भएकाले अहिले नै अभिभावकको जिम्मामा सुम्पिन नहुने केन्द्रीय बालकल्याण समितिका बालअधिकार स्रोत व्यक्ति रवि गौतमले बताए।