२०१७ साल। राजा महेन्द्रले शासनसत्ता हातमा लिनेबित्तिकै मुलुकभर धरपकड चर्किएको थियो। वीरगन्जमा पनि कांग्रेसीहरू धमाधम पक्राउ परे। धेरैको भागाभाग चल्यो। यसरी रक्सौल पस्नेहरूको हुलमै थिए, वीरगन्ज नगरपालिकाका मेयर (चेयरम्यान) केशरमान मानन्धर। नगरकै प्रथम मेयर मानन्धरले २०१४ सालमा फेरि चुनाव जितेपछि त्यतिबेला उनको दोस्रो कार्यकाल चलिरहेको थियो।
‘म कुनै दलसँग आवद्ध थिइनँ,’ दुई वर्षअघिको कुराकानीमा मानन्धर १७ साल सम्झेर भनिरहेका थिए, ‘फिर भी क्या जाने कौन मुसिबत आ जाये। म डरैले सब छोडछाड गरेर भागिहालेँ।’
चार पाँच दिन रक्सौल बसिसकेपछि मानन्धरले यसो यताको हालखबर सुँघ्न खोजेछन्।
‘तपाइँ किन भागेको नि?’ वीरगन्जका अधिकारीहरुले उनलाई भनेछन्, ‘आउनुस्, तपाइँलाई कसैले केही गर्दैन।’
त्यतिबेला गोश्वारामा एकजना खरदार बाजे निकै सक्रिय थिए। उनीसँग मानन्धरको अन्तरंग कुरा हुन्थ्यो। तिनै खरदार बाजेले पुस २१ गतेका दिन उनलाई गोश्वारा कार्यालय बोलाए। एउटा ठूलो शिलबन्दी पोका काठमाडौंबाटै आएको रहेछ।
‘ह्वाँ नेपालबाट तपाईलाई जिम्मा लगाउनुपर्ने कागजपत्र आएको छ,’ त्यो पोका अगाडि सार्दै ती खरदारले भनेछन्, ‘लौ बुझ्नुस्।’
त्यो कपडाको ठूलो पोकामा बाहिरैबाट ‘वीरगन्ज नगरपञ्चायत’ भनेर लेखिएको थियो।
‘मैले नगरपालिकाको चुनाव जितेको थिएँ,’ मानन्धरले सुनाएका थिए, ‘आ यो पञ्चायत भनेको के हो बुझ्दै बुझिनँ।’
पोका खोलेर हेरेपछि लेटरप्याड, स्टाम्पदेखि लिएर सबै स्टेशनरीका सामानहरुमा नगरपञ्चायत भनेरै लेखिएको पाइयो।
‘त्यति मात्र कहाँ हुनु?’ मानन्धर भन्दै थिए, ‘चेयरम्यान र डेपुटी भनेर जितेको मान्छेलाई प्रधानपञ्च र उपप्रधानपञ्चको स्टाम्प पठाइएको रहेछ।’
यो सबै देखेर मानन्धर आश्चर्यमा परेछन्।
‘ए भैया, सबै कुराको नाम फेरिएको छ,’ उनले सोधेछन्, ‘अनि काम चाहिँ हामीले कसरी गर्ने?’
ती गोश्वाराका खरदारले नाम फेरिए पनि मानन्धरले पहिलेदेखि गर्दैआएको काम जस्ताको त्यस्तै हुने आश्वस्त पारेपछि उनी पोका बोकेर फर्किए।
‘जननिर्वाचित भएपछि २०१८ सालको अन्तिमसम्म हाम्रो कार्यकाल थियो,’ मानन्धरले भनेका थिए, ‘त्यसपछि मलाई राजनीतिबाटै दिलचस्पी हट्यो र दुई पटक चुनाव जितेको भए पनि फेरि लड्न गइनँ।’
***
यसरी वीरगन्ज सहर निर्माण र विस्तारको अनुभव बोकेका एउटा ज्यूँदो इतिहासको आइतबार अन्त्य भएको छ। आजको मितिमा पनि माटोले लिपेको अत्यन्त सामान्य घरमा बसेर भेट्न आउने जो कसैलाई आफ्नो समय र संघर्षका कथा सुनाउने त्यस सहरकै बुजुर्ग केशरमान मानन्धरको ९७ वर्षको उमेरमा वीरगन्जकै अस्पतालमा निधन भएको हो।
***
मानन्धर वीरगन्जका प्रमुख बन्नुभन्दा पहिल्यै त्यस वस्तीलाई सहर बनाउने प्रकृयामा समेत सरिक थिए। त्यो २००९ सालको कुरा हो।
फागुनको सुरुवातमा एक जना मानिस उनको घर आइपुगे। त्यतिबेला नेपाली कांग्रेसले नियुक्त गरेका दिगम्बर झा वीरगन्जका बडाहाकिम थिए। उनी बेलाबेलामा मानिस पठाएर मानन्धरलाई कार्यालयमा बोलाइरहन्थे। यसरी गोश्वारा कार्यालय पुग्दा त्यहाँ स्वायत्त शासन मन्त्रालयका सहसचिव जगन्नाथ लामिछानेसँग बडाहाकिमले उनको भेट गराइदिए।
‘उहाँ वीरगन्जलाई नगरपालिका बनाउन र चुनावको तयारी गर्नका निम्ति खटिएर आउनु भएको हो,’ बडाहाकिमले भनेछन्, ‘तपाईँले सहयोग गरिदिनु पर्यो।’
कता कता आफूले नगरपालिका भन्ने नाम सुनेको भए पनि यसमा कसरी सघाउने भन्ने भेउ मानन्धरले पाएनछन्।
सुरुमा उनी हाँसे र त्यसपछि ‘नगरपालिका नाम त मैले जरूर सुनेको छु, तर यसको चुनाव कस्तो हुन्छ?’ भनेर सोधेछन्।
जवाफमा सहसचिवले आफू भर्खर विराटनगरमा नगरपालिका स्थापना गरेर आएको हुनाले त्यसै अनुसार काम वीरगन्जमा पनि गर्ने र त्यसमा मानन्धरले सघाए मात्र पुग्ने बताए।
‘वीरगन्जको रेलवे लाइनलाई आधार बनाएर यसको वरपर एरिया कत्रो छ?’ ती सहसचिवले भनेछन्, ‘यहाँको बसोबासको रुपरेखा थाहा पाउन तपाईँले सघाइदिनु भए हुन्छ।’
त्यो बेला मानन्धर स्कुलमा काम गर्थे। बिहान बेलुकी ट्युसनको चटारो थियो। त्यसैगरि हरेक साँझ ब्यारेकमा फुटबल पनि खेल्न जानैपर्ने। यस्तोमा आफूलाई समयको बढो मुश्किल पर्ने जानकारी बडाहाकिमलाई दिएछन्।
सुन्नेबित्तिकै बडाहाकिमले हेडमास्टरलाई पत्र लेखेर एक महिना काजको बन्दोबस्त गरिदिने बताएछन्। यो ‘काज’ भन्ने फेरि अर्को नबुझिने शब्द थियो।
‘आप चिन्ता मत किजिये,’ बडाहाकिमले भनेछन्, ‘यहाँ काम किजिये वहाँ हाजिर होते रहेगा।’
त्यसपछि सहसचिव लामिछानेलाई लिएर मानन्धर घरघरै चहार्न थाले। रजिष्टरमा विवरण टिप्दै हिँड्थे। नक्सा बनाउनका निम्ति एकजना हरनाम सिंह नामका पञ्जाबी ओभरसियर पनि साथमा थिए। सबैतिर लगेर देखाएपछि अर्को समस्या आयो अब वडाको भाग कसरी लगाउने?
त्यो बेला सिंगो बिर्ता मात्रै पनि असाध्यै ठूलो थियो। अहिले नै त्यो बेलाको बिर्ता तीन वटा वडामा टुक्रा भइसकेको छ।
यसरी सुरूको चरणमा वीरगन्जमा जम्मा ६ वटा वडा बनेको थियो।
रेखांकन सकिएपछि त्यसपछि जनसंख्याको माग भयो। सहरको सबैभन्दा कुनामा एकजना उपाध्याय ब्राम्हणको घर थियो त्यहीबाट गन्ती सुरु गरियो। सानोदेखि ठूलासम्म कतिजना छन् त्यो मात्र हिसाब गरियो। त्यसैगरि अठार वर्ष पुगेकाहरुको बेग्लै सूची।
त्यो बेला मान्छेहरू नाम दिनै अप्ठेरो मान्थे। ढोकामा पुगेका बेला मानन्धरको समूहलाई ‘किन नाम दिने?’ भनेर हायलकायल पार्थे। उनीहरुलाई नगरपालिका भनेर बताएपछि ‘के हो नगरपालिका?’ भनेर अर्को प्रश्न सोध्थे। यसरी पुरा विवरण टिप्नै असाध्यै धेरै समय लागेको थियो।
‘जसरी पनि दस हजार जनसंख्या पुर्याउनु पर्छ,’ सहसचिवले फेरि अर्को अत्तो थापे, ‘त्यति नभइ त नगरपालिका बन्दैन।’
मानन्धरले अनेक कोशिस गर्दा पनि बल्ल तल्ल आठ हजार जनसंख्या मात्र पुग्यो।
यता सहसचिव दस हजार जनसंख्या पुग्नैपर्ने बताइरहेका थिए भने उता बडाहाकिम झर्को मान्न थालिसकेका थिए। हरेक घरमा केही सदस्य थप गरेर पनि मिलाइदिन बडाहाकिमले गरेको अनुरोध पनि सहसचिवले मानिदिएनन्। कर्मचारीलाई फेरि गन्ती गर्न पठाइयो। पछिल्लो पटक भने उनीहरुले जसोतसो गरेर कूल जनसंख्या १० हजार ५५ जना पुगेको भनेर रेकर्ड पेश गरिदिए।
यसरी तराइमा विराटनगरपछि दोश्रो नगरपालिकाको रुपमा वीरगन्जको जन्म भएको थियो।
यसरी नगरपालिका बनेको लगत्तै २०१० साल जेठमा नगरको चुनाव गराउन काठमाडौंदेखि टोली खटिएर आयो। बडाहाकिम झाले फेरि मानन्धरलाई बोलाइ पठाए।
‘आप इतना मेहनत किएँ है,’ बडाहाकिमले भनेछन्, ‘अब लड्ना भी आप हि को पडेगा।’
चिताउँदै नचिताएको कुरो सुनेर मानन्धर चकित परे, ‘ये काम हमसे कैसे होगा?’
बडाहाकिमले सोधेछन्–‘आपके पास आदमी है कि नही?’
मानन्धरले भनेछन्– ‘पुरा वीरगन्जभर हमारा चेलासे भरापडा है। लेकिन ये काम हमसे कैसे होगा?’
त्यसपछि बडाहाकिमले फेरि अर्को बैठक राखे जसमा मानन्धरले पढाउने विद्यालयका संस्थापक रघुवीररामजीलाई पनि निम्त्याइयो।
नगरपालिकाको चेयरम्यानमा जिते मासिक दुई सय भारतीय रुपैयाँ भत्ता र हरेक बैठकको पाँच रुपैया बेग्लै पाइने जानकारी दिइयो। (२०२१ सालसम्म वीरगन्जमा भारतीय रुपैयाँ नै चल्थ्यो)
‘स्कुलबाट राजीनामा दिएर उठ्दा जिते त ठीकै छ,’ मानन्धरले भनेछन्, ‘कसैगरि हारेँ भने मेरो बालबच्चा भूखै हुन्छन्।’
त्यतिबेला जवाफ दिनका निम्ति स्कुलका सेक्रेटरीसमेत रहेका रघुवीररामजी अघि सरेछन्।
‘आप जितिएगा तो जाइएगा, नगरका सेवा किजियेगा,’ उनले भनेछन्, ‘नहीँ तो फिर आपका स्कुलमे स्वागत होगा।’
यसरी चुनाव सुरू भयो। त्यतिबेलाको गाउँ वीरगन्जमा केही पाइन्थेन। त्यसैले माइकदेखि लिएर पर्चा र पम्पलेटसमेत रक्सौलबाटै छपाएर ल्याइयो। पछि प्रसिद्ध ब्यापारीका रुपमा चिनिएका शंकरलाल केडिया त्यतिबेला मानन्धरका विद्यार्थी थिए। केडिया दाजुभाइले आर्थिक सहयोग पनि गरिदिए।
स्वतन्त्र उम्मेद्वार बनेका मानन्धरको विरुद्ध नेपाली कांग्रेस नगर कमिटि अध्यक्ष उत्तरबहादुर श्रेष्ठ मैदानमा उत्रिएका थिए।
चुनाव त्रिजुद्ध हाइस्कुलमै भयो।
तेल राख्ने टिनको कन्टेनर बाकस थियो। त्यो बेला भोट दिने कागज असाध्यै सानो हुन्थ्यो। मतपत्रमा नेपालको नक्शा र तल नेपाल लेखिएको हुन्थ्यो। जति उम्मेद्वार हुन्थे उतिवटै बेग्लाबेग्लै बाकस हुन्थे।
यसरी बाकसहरु बडाहाकिमको कार्यालयमा पुर्याइयो।
‘बाक्सा खुल्दा म परै बसेर काँपिरहेको थिएँ,’ मानन्धर भन्थे, ‘कसैगरि हारेँ भने जागिरबाट पनि राजीनामा दिएकोले असाध्यै डर लागेको थियो।’
तर, यस्तो त्रास धेरै समयसम्म टिकेन। एकै छिनमा मानन्धरका समर्थकहरू बाहिर आएर हल्ला गर्न थालिहाले। ‘जित्यो जित्यो’ भन्दै उनलाई जुरुक्कै उचाले। उता कांग्रेसकै उम्मेदवारलाई हराएको भएता पनि बडाहाकिम झा दंग देखिन्थे।
त्यस दिन सिन्दुरे जात्रा र बाजागाजासहित मानन्धरलाई सहर परिक्रमा गराइएको थियो।
यसरी नगरपालिका गठन भयो। नगरपालिकामा खरदार बासुदेव उपाध्याय हाकिम थिए। पहिलो कार्यालय बिर्ताकै दमकल अफिसमा राखिएको थियो।
खरदार उपाध्यायले नै आएर औपचारिक जानकारी गराउँदै ‘हजुरलाई साइत हेराएर स्वागत कार्यक्रम राख्छु’ भनेपछि मानन्धर दंग परेका थिए। त्यतिबेला मानन्धरसँगै भाइस चेयरम्यानका रुपमा डा. गोपालचन्द्र अधिकारी विजयी भएका थिए। त्यसैगरी दुई तीन दिनमै ६ वटै वडाका मेम्बरहरु पनि जम्मा भए। यसरी काम सुरुभएको थियो।
त्यतिबेला सरकारले वार्षिक १० हजार रुपैयाँभन्दा बढी बजेट भनेर पठाउँथ्यो। कार्यालयका हाकिम अर्थात् खरदारबाहेक २० जना सरसफाइकर्मी र चारजना कुल्ली थिए। त्यसबाहेक जनप्रतिनिधि।
काम चाहिँ दिनदिनै आउने घरायसी झगडा र टोले मारपिटका घटनाहरुको पञ्चायती बसेर मिलाइदिनुपर्ने। कहिलेकाहिँ त यसरी झगडा मिलाउँदा मिलाउँदै खाना खाने फुर्सद् पनि पाइन्थेन।
यसरी आठ वर्षसम्म वीरगन्जको नगर प्रमुख रहेर चलाएपछि २०१९ सालको चुनावमा भने उनले भागै लिएनन्। मन्त्री भइसकेका पशुपति घोष प्रधानपञ्चको प्रतिस्पर्धामा उत्रिए र जिते।
नगर प्रमुखको कुर्सीबाट उठेको भोलिपल्टै उनी रघुवीरामजीको साथमा फेरि हाइस्कुल प्रवेश गरे। ‘अफिस इन्चार्ज’को जिम्मेवारी उनलाई दिइयो।
यो त्यही स्कुल थियो जसको स्थापनामा पनि मानन्धरले महत्वपूर्ण योगदान दिएका थिए। दरबार हाइस्कुल पछि मुलुककै दोस्रो पुरानो हाइस्कुल त्रिजुद्ध। (स्कुल चाहिँ विराटनगरतिर खुलिसकेको थियो)
***
केही समयअघि प्रधानमन्त्रीरहँदै सुशिल कोइराला मानन्धरलाई भेट्न बिर्तास्थित उनको निवास पुगेका थिए। त्यसलगत्तैको भेटमा मैले मानन्धरलाई बधाई दिएको थिएँ।
‘अरे, वो तो मेरा पढाया स्टुडेन्ट है,’ मानन्धरले हाँस्दै भनेका थिए, ‘आफूले पढाएको मानिस प्राइम मिनिस्टर भएका छन्। बहुत अच्छा इन्सान हैँ वो।’
***
त्यो विद्यालयको कथा भने यस्तो छ।
मानन्धरकी सानीआमाको विहे जलेश्वरमा भएको थियो। सानीआमाका दुई छोरा जनकपुरमा पढ्थे । तीनै दुई दाजुको पाहुना भएर उनी विवाह पञ्चमी घुम्न जनकपुर पुगेका थिए।
मेलामा असर्फी महासेठको खिच्रिमिच्रि पसलमा बसिरहँदै एकजना धोती कुर्ता लगाएर गम्छा ओढेका व्यक्ति आए। उनले हातमा कम्मल पनि बोकेका थिए।
असर्फी महासेठले ‘आपको क्या चाहिए’ भनेर सोधे।
‘नहीँ ऐसे ही देख रहेँ है,’ त्यस व्यक्तिले जवाफ फर्कायो।
महासेठले भित्रै आएर बस्ने निम्तो दिए।
यसरी भित्र आएका व्यक्तिको नाम थियो जीवनेश्वर मिश्र।
वीरगन्जमा बसेर सम्पूर्ण तराइमै शिक्षाको ज्योति फैलाउने कामको सुरुवात उनै जीवनेश्वर मिश्रबाट भएको थियो। आज पनि वीरगन्जवासीहरु यसरी भारतबाट आएर शिक्षाको जग बसालिदिएकामा मिश्र र श्रीभगवान द्विवेदीप्रति नतमस्तक हुन्छन्।
कुराकानी सुरु भयो। दरभंगा जिल्लाका उनी भर्खर मैट्रिक पास गरेर पहिलोपटक विवाह पञ्चमी घुम्न आएका रहेछन्। लहरिया सरायको एक पुस्तक भण्डारमा मासिक सुख्खा तीस रुपैयाँको जागिर उनले पाएका थिए।
मानन्धरका सानोबुवाले नेपालमा आएर आफ्ना छोराहरूलाई पढाइदिने हो भने खाने बस्नेसहित थप पचास रूपैया मासिकको प्रस्ताव राखे। पहिलो महिनाको तलब अर्थात् पचास रुपैयाँ हातमा थमाइ पनि दिए।
यसरी मानन्धरको परिवारसँग सम्पर्कमा आएका मिश्र केही वर्षमै वीरगन्ज घर आइपुगे।
वीर शम्शेरले बसाएको र चन्द्रशम्शेरले रेल भित्र्याएको वीरगन्ज त्यतिबेला रेलवे लाइन पछ्याउँदै बढेको एउटा धर्सोजस्तो थियो। धर्सो पनि कतिसम्म सोझो भने परवानीपुरमा रेल आइपुग्दा छपकैयाँस्थित ताराचन्दको फूलवारीमा खेल्न पुगेका मानन्धरहरुले त्यसको बत्ती देख्थे। (१९९० सालको भूकम्पपछि त्यो लाइन घुमाइयो र रेल गुड्ने पुरानो सोझो बाटो वीरगन्जको मुख्य सडक बन्न पुग्यो)
मिश्र आएको बेला मानन्धर भारतमै टेस्ट जाँच दिइसकेपछि विरामी भएर वीरगन्ज फर्किएका थिए। विरामी भएकैले मैट्रिक परीक्षा दिन नसकेका मानन्धरलाई भेट्नकै निम्ति मिश्रा वीरगन्ज आएका थिए। एउटा टिनको बाकस र हातमा गम्छा।
मानन्धरले खुट्टा ढोगे त्यसपछि आमा बुवासँग परिचय गराइदिए।
आफू घुम्नका निम्ति आएको र दुई चार दिन बसेर यसो स्थिति बुझ्ने बताएका मिश्रा सर माछा मासु लसुन प्याज केही पनि नखाने स्वयंपाकी थिए। उनको साथमा खुट्टीवाला खडाउ थियो। त्यही खडाउ लगाएर नुहाइ धुवाइ आफैंले भात पकाउँथे। यसरी दुई साता जति बसेपछि मिश्राले मानन्धरलाई ‘बाबु हमको घुमादो’ भनेछन्।
त्योबेला वीरगन्जमा मेनरोडबाहेक केही थिएन। छेउछाउमा जताततै गाउँ मात्र। मानन्धरले यसो मुख्यसडकबाट लगेर सेकेन्ड रोडबाट ल्याइदिए । उता हिरण्यशम्शेरको दरबार थियो। त्यतै गोश्वारा अफिस।
यसरी घुमेर फर्किसकेपछि मिश्रा सरले अचानक ‘हमको अब यहि रहना है’ भनेछन्।
दरभंगाको चर्चित राज हाइस्कुलमा सदैव दोस्रो स्थानमा उत्तीर्ण हुने मानन्धर पढाइमा जेहेन्दार थिए। एघारको पढाइ सकेर विरामी भएपछि घर फर्केका उनको पढाइ फेरि अगाडि बढ्नुपर्छ भन्ने मिश्रा सरको मुख्य चाँसो थियो। यस्तोमा मिश्राको निर्णयले मानन्धर परिवारमा पनि उत्साह नै थप्यो।
पढाउन सुरु गरेपछि थप बच्चाहरू खोज्न मानन्धरलाई अह्राए। टोल मोहोल्लाका दुई चार जना केटाहरु पढ्न आउन थाले । ट्युसन फि थियो एकदेखि डेढ रूपैया भारु।
त्योबेला वीरगन्जमा पठन पाठनको संस्कृति विकास भइसकेको थिएन। विर्तामाइ मन्दिर नजिकै एक जना श्यामलाल मास्टर थिए । मिना बजार अगाडि संस्कृत पाठशाला थियो। त्यो पनि बन्द भएर खाली कम्पाउण्ड मात्र थियो। लाठको घर पछाडि अर्को संस्कृत पाठशाला पनि थियो जुन पढाइ नभएर शून्य नै रहन्थ्यो। श्रीपुरमा अर्का एक कायस्थ मास्टर बस्थे। उनी पनि बाटोमै बसेर पढाउथे ।
‘इन सबके अलावा भी यहाँ यूपी (उत्तर प्रदेश) का एक मास्टर है,’ मिश्रा सरले मानन्धरलाई आदेश दिएछन्, ‘पता करो वो कौन है।’
खोज्दै जाँदा फेला पनि परे। त्यतिबेला भूपालमानसिंह प्रधान वीरगन्जमा सुब्बा थिए। उनका छोरा युवराजसिंह प्रधान (पछि चीनका राजदूत)लाई घरैमा पढाउने एक शिक्षक थिए श्रीभगवान द्विवेदी।
द्विवेदीकी दिदीको बिहे वीरगन्जकै राइस मिल सञ्चालक भवानीशंकर शर्मासँग भएको थियो । रायबरेलीबाट दिदी भिनाजु भेट्न आएका उनी यतै बसेर पढाउन सुरू गरेका रहेछन्।
मिश्र सरको आदेश बमोजिम ती दुवै मास्टरलाई भेट गराउन मानन्धर लागि परे। घरैमा पुगेपछि मानन्धर पहिले भित्र पसेर हात जोड्दै ‘हमारे गुरू बाहर हैँ। आपसे मिलना चाहते हैँ’ भनेपछि द्विवेदीले ‘कहाँ के कौन गुरु हैँ?’ भनेर सोधे। सबै जवाफ दिएपछि बढो शालिन ढंगले उठेर बाहिर निस्केका थिए। मानन्धरका अनुसार जहिले पनि वेल ड्रेस्ड, ह्याण्डसम, चश्मावाला मान्छे थिए द्विवेदी सर ।
बाहिर निस्कने बित्तिकै द्विवेदीले ‘बोलिए’ भने।
जवाफमा मिश्र सरले ‘देखिए हम चाहते हैँ यहाँ एक स्कुल खुले’ भनेछन्।
द्विवेदी– अभि तो कुछ नहि है।
मिश्र– आप हम मिलकरके लडका लोगको जम्मा करेंगे, फिर पढायेंगे।
द्विवेदी– कितना लड्का है?
मिश्र– हमारे पास ५–६ लड्का है।
द्विवेदी– हमारे पास भी १२–१५ है।
यस्तो अवस्थामा संयुक्त पठनपाठन गराए पनि आ–आफ्ना विद्यार्थीहरुको शुल्क आफू आफूले नै लिने सहमति भएछ।
कहाँ पढाउने भन्ने फेरि अर्को चिन्ता थियो।
संयोगवश बडाहाकिम भएर आएका हिरण्य शम्शेरको साथमा पञ्चनारायण मानन्धर नामका निजी फोटोग्राफर पनि थिए। उनी मानन्धरकै मामा पर्थे। बडाहाकिमसँगै वीरगन्ज आएका उनले बोकेर ल्याएको क्यामराका थुप्रै ब्याग र डब्बाहरु देखेरै भानिज मानन्धर दंग परेका थिए।
हिरण्यसँगै कालीमाटीका डिठ्ठा हरिकृष्ण मानन्धर पनि आएका थिए। उनी पनि मानन्धरकै आमाको भान्जा नाता पर्ने। त्यो बेला डिठ्ठाको काम बैठकेको हुन्थ्यो। कानमा मन्त्र दिने।
वडाहाकिमको क्वार्टरमै बसे पनि उनीहरु मानन्धरको घरमा घेटघाटका निम्ति आइरहन्थे। त्यस्तै एउटा दिन मिश्र सरले बडाहाकिमसँग भेट्ने इच्छा प्रकट गरे।
मानन्धरका बुवाले यो कुरालाई ठट्टामा उडाउँदै त्यति ठूलाबडासँग भेट्न मुश्किलै पर्ने बताए। तर, मिश्र सरले ‘कानमा कुरा भर्ने मान्छेले चाहेमा यो भेटघाट सम्भव छ’ भनेछन्।
डिठ्ठा आएका बेला एक दिन सविस्तार यस विषयमा कुराकानी भयो।
त्यतिबेला बझाङी राजा जयपृथ्वीबहादुर सिंहले खोलेको विशाल तेल मिल १९९० सालको भुइचालोले भत्काएपछि बन्द भएर अलपत्र अवस्थामै थियो। त्यसको चिम्नीसहितको ठूलो कम्पाउण्ड थियो। टिनको सेडले अधिकांश भाग ढाकेका थिए भने बाँकीको जमिन खाली नै थियो। यसरी बन्द भइसकेको मिलको सेडमा पढाउने व्यवस्था मिलाइपाउन बिन्ती गर्ने कुरा उठाइयो।
सबै कुरा सुनेपछि डिठ्ठाले ‘५–७ दिन पख’ भने।
यस्तो कुरा माथि काठमाडौंमै सोधेर पठाउनु पर्ने उनको तर्क थियो। तै पनि अस्थायी रुपले चौरमै त्रिपाल टाँगेर, बोरा मागेर ल्याएर टालटुल गर्दै छाप्रो बनाउने काम गरियो। विद्यार्थीलाई भुइँमै राखेर पढाउन पनि थालियो। त्यतिबेला मिश्र र द्विवेदीको अभियानमा मानन्धर मुख्य सहयोगी थिए।
उता काठमाडौंमा सोधिपठाएको पनि ५–६ महिना बितिसकेको थियो। त्यतिन्जेल अर्का शिक्षक मुकुटधारी लालदाससमेत गरेर पढाउनेको संख्या तीन पुगिसकेको थियो। मैट्रिक पुरा नभइसकेको भए पनि केटाकेटीलाई पढाउने जिम्मेवारी मानन्धरले पनि पाएका थिए।
त्योताका बडाहाकिम हिरण्य शम्शेरकहाँ भएभरका अड्डादेखि थानाका सबै हाकिमहरु हरेक बेलुकी पुग्थे । कोहि नजिक त कोहि परै बसेर नमस्ते गर्ने हुलमा मानन्धरहरु पनि हुन्थे। बाहुनहरु स्वस्ती गर्न जान्थे, साहुमहाजन र अरुहरु नमस्ते गर्थे। हुक्का लिएर आरामले फराकिलो कुर्सीमा बस्ने हिरण्यशम्शेर उनले चाहेजति सबैसँग कुरा गर्थे। उनको तोते बोली थियो । त्यही बोलीमा ‘कोहो कोहो कोहो’ भनेपछि डिठ्ठाले मानन्धरहरु सबैको परिचय गराइदिए।
डिठ्ठाले परै रहेका मानन्धरतिर औंला देखाइदिएपछि बडाहाकिमले ‘कहाँ घर है?’ भनेर सोधे।
यही मौकाको प्रतिक्षा थियो। मानन्धरले घर मात्र बताएनन् एउटा व्यवस्थित पठन पाठन स्थल खोल्ने इच्छा पनि प्रकट गरे।
‘ल ठीक छ। महाराजको सवारी पनि हुनेवाला छ। म बिन्ती चढाउँला।’ बडाहाकिमले यति भनेपछि उनीहरुलाई विदा दिइयो।
त्यसको केही दिनमै श्री ३ जुद्धशम्शेरको सवारी वीरगन्जमा भयो। हात्तीमा राखेर बजार परिक्रमा सुरु गरियो। सबैभन्दा पहिले घोडामा सवार छोरा बहादुर शम्शेर। हेर्दै डरलाग्दो। जुँगा पनि उस्तै। घोडा लिएर अगाडि अगाडि ढब ढब गरेर आएपछि सबै तर्सिएर भागाभाग हुने।
त्यो सवारीको अघिल्लो दिन नै ‘तिमीहरु सबै मास्टर यो ठाउँमा उभिरहनू’ भनेर तोकिएको थियो। त्यो ठाउँ अहिले त्रिजुद्ध हाइस्कुलको ठीक अघिल्तिर पर्छ। त्यसै ठाउँमा स्वस्ती गर्न उभिएका ब्राम्हणहरुको ठेलमठेलाले गर्दा मास्टरहरु मुश्किलले अड्न सकिरहेका थिए। श्री ३ को हात्ती नजिकै आइपुग्दा धक्काधक्की झनै बढ्न थाल्यो।
यसरी लमक् लमक् आएको श्री ३ को हात्ती मास्टरहरु उभिएको ठाउँ नजिकै पुगेपछि टक्क अडियो। हात्तीको पछाडिबाट सिक्काको वर्षात् भइरहेको थियो। हात्ती रोकिनेबित्तिकै जुद्धशम्शेरले घुरेर मास्टरहरुलाई हेरे। त्यसपछि नजर घुमाएर उता तेल मिलको टिनका सेडहरु तिर हेरे। त्यसपछि बोल्नु त परै जाओस् कुनै इशारा संकेतसमेत नगरेर हात्ती लमक् लमक् अघि बढ्यो। बिर्ता मन्दिरको कुनाबाटै सवारी भित्रतिर छिर्यो।
श्री ३ लाई दिन भनेर राखिएको निवेदन मिश्र सरको हातैमा रहन पुग्यो। डराएर दिनै सकेनछन्। त्यो लश्करमै रहेका हिरण्य शम्शेरले भने इशारा गर्दै र हात हल्लाउँदै ‘उताबाट फेरि आउँला। उता जाउ उता जाउ’ भनेर इशारा गर्न थाले।
हात्ती परै पुगिसकेको थियो। त्यसपछि बल्ल श्री ३को नजर फेरि यता परेछ। त्यो लामो कार्ड जस्तो चिठ्ठी उता राजा हात थापेका छन् यता दिने सरहरु थर्थर काँपिरहेका छन्। त्यतिबेलै घोडामा सवार बहादुरशम्शेर अचानक मास्टरहरुको सामुन्ने आए। ‘मलाइ देउ यो चिठ्ठी’ भन्दै स्वाट्ट तानेर लिएपछि फेरि बेगले घोडा उता लम्कियो। जसोतसो चिठ्ठी थमाउन सकेकामा यता गुरुजीहरु पनि ढुक्क भए।
त्यसपछि गुरुहरुको टोली फेरि कुरा बुझ्न भनेर साँझपख बडाहाकिमकहाँ पुगे।
‘ठीकै छ। चिठ्ठी पुगिहाल्यो। म राति जाँदैछु। केहि न केहि उपाय लगाउनेछु।’ बडाहाकिमले यति भनेर विदा गरे।
त्यसपछि बडाहाकिमबाट पाएको जानकारीले शिक्षकहरुको भुइँमा खुट्टा रहेन।
‘ल खोल्न दिनु...हाइस्कुल खोल्न दिनु भन्ने महाराजबाट हुकुम भएको छ। ’
अब खोल्न दिनु त भने । तर, बनाउने कल्ले ?
त्यो बेला हुकुम चल्नु पहिलो जरुरी थियो। गाह्रो पनि त्यही थियो। त्यो त भयो। अब बनाउनु अर्को गाह्रो काम थियो।
यता टहरोमै पनि छ कक्षासम्म पढाइ सुरुभइसकेको थियो। त्यतिबेलै अर्का शिक्षक पनि थपिए। उनी पण्डित थिए, सोमनाथ झा। संस्कृतमा आचार्य पास गरेका उनी हिन्दीसमेत पढाउने शत्र्तमा राखिएका थिए। यसरी उनी पाँचौ शिक्षक भए ।
अब समस्या कसले विल्डिङ बनाइदेला भन्ने भयो। दाता खोज्नुपर्ने। त्यतिबेला दाताहरु सबै मारवाडी मात्र थिए।
त्यतिबेला खुटवा पर्सौनीमा ‘मुसहर साह बेंगाराम’ भन्ने फर्म थियो। त्योताका यस्ता फर्महरुमा गौ (गाइ) लाई चन्दा दिने भनेर धार्मिक पैसा काट्ने काम गरिन्थ्यो। उक्त फर्मका मुनिमले त्यसैगरि पैसा काटेर जम्मा गरेको एघार हजार भारु थियो।
मालिकका छोरा नावालिकै भएकाले त्यो फर्ममा मुनिमकै हालीमुहाली थियो ।
यस्तो अवस्थामा मानन्धरको समूह रघुविर रामजीको घरमा पुगेको थियो। दुई नम्बर रोडमा अहिले पनि रहेको घरैमा भेटघाट गरेपछि उनले ‘हुन्छ म स्कुल भवन बनाइदिन्छु’ भने। त्यसपछि उनलाई बडाहाकिम हिरण्यशम्शेर कहाँ भेटाउन लगियो।
त्यहाँ पुगेपछि रघुवीररामजी ले शर्त राखे, ‘म बनाइ त दिन्छु तर जति काठ लाग्छ त्यो सबै सरकारले दिनुपर्छ।’
‘स्याब्बास,’ हिरण्य शम्शेरले उत्साहका साथ यति भनेपछि तत्काल कर्मचारीलाई अह्राइ हाले, ‘जति काठ चाहिन्छ तुरुन्त निकास गराइहाल।’
यति भन्नु मात्र के थियो जति काठ चाहिएको थियो त्योभन्दा तीन गुणा बढ्ता बडे बडे काठ आइपुगे। त्यो बेलाको सखुवा। ‘सय वर्ष खडा सय वर्ष लडा’ भन्ने भनाइ नै थियो ।
तेलमिल चाहिँ सरकारी नै थियो। त्यहीँ काठ धमाधम खसाल्न थालियो।
इँटा त धेरै नै सस्तो जमाना थियो। काठजस्तै गरि इँटाको पनि थुप्रो लाग्यो। स्कुलको भवन नबनुन्जेलसम्म पुरानो धर्मशालामा पनि केहि दिन पठन पाठन चल्यो। भगवती राइसमिलको सेड हाउस पनि प्रयोग भयो। त्यो बेलामा हुकुमै आएपछि कसले बोल्ने? वरपरका अन्य भवनहरुमा पनि पढाउन सुरु भयो।
यसरी १९९४ सालमा सुरुभएर १९९७ सालमा त्रिजुद्ध हाइस्कुलको भवन तयार भएको थियो। पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर हाइस्कुलको पढाइ थालिएको थियो। मैट्रिकको परीक्षा दिलाउन विद्यार्थीलाई लिएर गुरुहरु उता पुग्नु पथ्र्यो। यसरी पहिलो ब्याचका विद्यार्थीलाई पटना विश्वविद्यालयमा लगेर परीक्षा दिलाउने काम मुकुटधारी लाल दासले गरेका थिए भने दोश्रो ब्याचका विद्यार्थी लिएर मानन्धर उता पुगेका थिए। यसरी त्रिजुद्धमा पढ्ने र भारतमा गएर मैट्रिक दिने तेश्रो ब्याचका विद्यार्थी वीरेन्द्रकेशरी पोखरेलले बोर्डमै प्रथम स्थान ल्याएको मानन्धरले बताएका थिए जो पछि गएर नेपालकै चिफ इन्जिनियर भएका थिए।
सोलुखुम्बुका पोखरेल मात्र होइन त्यतिबेला मुलुकको तराइ भेगकै मैट्रिकसम्म पढाइ हुने पहिलो विद्यालय (काठमाडौंमा दरवार हाइस्कुलपछिको दोस्रो) भएका कारण सिंगो भेगलाई त्रिजुद्ध हाइस्कुलले शिक्षाको ज्योति फैलाएको थियो।
यसरी वीरगन्जको प्रथम र द्वितिय नगरप्रमुख मात्र होइन, मुलुककै शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएका केशरमान मानन्धरको भौतिक शरीरले आइतबार विदा लिएको छ। मानन्धरका एक छोरा र पाँच छोरीसहित थुप्रै नाति पनाति छन्। उनको शवयात्राका क्रममा त्रिजुद्ध हाइस्कुल र नगरपालिका अगाडि अन्तिम सम्मान प्रकट गरिएको थियो। अन्त्येष्टी आइतबारै स्थानीय रानीघाटमा सम्पन्न भएको छ।