संसारमै यातायातको सबभन्दा लोकप्रिय र सस्तो साधन साइकल निर्माणको जस जर्मनीका कार्ल भोन ड्राइसलाई जान्छ।
सन् १८१७ मा कार्ल भोनले पेडल र चेन नभएको काठको दुईपाङ्ग्रे गुड्ने यन्त्र प्रदर्शन गरेका थिए। सन् २०१७ मा आइपुग्दा साइकलले आफ्नो यात्राको दुई सय वर्ष पूरा गरेको छ। यो दुई सय वर्षमा साइकलको स्वरुप त फेरियो, तर यसको लोकप्रियता अझ चुलिएको छ। वातावरण प्रदूषणले आक्रान्त धेरै देशले त औपचारिक रुपमै साइकललाई प्रोत्साहित गर्न थालेका छन्।
खुट्टाले पेडल घुमाएर कुदाउनुपर्ने साइकल झट्ट हेर्दा एक साधारण यन्त्र लाग्छ। जटिल र स्वचालित यन्त्रको युगमा हुर्किएका मानिसले साइकल आविष्कारका निम्ति धेरै समय र ठूलो परिश्रम खर्च गर्नु परेन होला भनेर सोच्नु अस्वाभाविक होइन। तर साइकलको इतिहास धेरैले सोचेभन्दा जटिल र विवादित छ। साइकल आविष्कार कसले गर्यो भन्ने विवाद पनि पूर्ण रुपले समाधान भएको छैन।
पुरानो समयका साइकल हिजोआज सडकमा गुड्नेभन्दा भिन्न थिए। लामो समयदेखि विकास हुँदै आएको, धेरै अविष्कारकले योगदान गरेको र समयसँगै डिजाइनमा व्यापक परिवर्तन भएकाले पनि यससम्बन्धी विवाद नसुल्झेको हो।
साइकल यातायातको लोकप्रिय साधन बन्नुभन्दा धेरैअघि आफ्नो शारीरिक बलले गुडाउने चारपाङ्ग्रे यन्त्र प्रयोगमा आइसकेको थियो। सन् १४१८ मा गिओभानी डे ला फोनटाना नाम गरेका इटाली इन्जिनियरले साइकलजस्तै यन्त्र आविष्कार गरेका थिए। उक्त यन्त्रमा रहेका चारवटा चक्का डोरीले एकअर्कासँग कसिएका थिए।फोनटानाले उक्त यन्त्र आविष्कार गरेको झन्डै चार सय वर्षपछि सन् १८१३ मा कार्ल ड्राइस नाम गरेका कुलीन जर्मन घरानाका व्यक्तिले आफ्नै ढंगले चारचक्के गुड्ने यन्त्रको निर्माण सुरु गरे।
निकै मेहनतपछि सन् १८१७ मा ड्राइसले पहिलोपटक दुईचक्के कुद्ने यन्त्र निर्माण गर्न सफल भए। उक्त यन्त्रले ‘ड्राइसाइन’, ‘कुद्ने यन्त्र’ वा ‘सोखको घोडा’ जस्ता विभिन्न नामले युरोपमा परिचय बनायो।
ड्राइसले गरेको उक्त आविष्कारलाई त्यस समयका मानिसले उत्सुकतापूर्वक हेरेका थिए। त्यसलाई कुनै यातायातको साधनका रुपमा होइन, एक व्यक्तिले विचित्र चासोका साथ निर्माण गरेको यन्त्रका रुपमा मानिसले बुझे। त्यो बेला मानिसलाई थाहा थिएन, उक्त ‘सोखको घोडा’ ले तात्कालीन समाजको एक गम्भीर समस्या समाधान गर्दै थियो। त्यो समस्या थियो, घोडाको अभाव।
सन् १८१० दशकको सुरुआतमा खडेरी र प्राकृतिक प्रकोपका कारण युरोपमा अनिकाल पर्यो। मानिसले हजारौं घोडा काटेर खाए। सवारीका रुपमा घोडाको अभाव खड्कियो। समाजलाई त्यसपछि ड्राइसले बनाएको सोखको घोडाको आवश्यकता महशुस भयो। वास्तविक घोडाको विकल्पका रुपमा सोखको घोडाले काम गर्ने अवस्था सिर्जना भयो।
ड्राइसले बनाएको सोखको घोडा आज हामीले कुदाउने हलुका हावा प्रतिरोधी साइकलभन्दा निकै फरक थिए। ५० पाउण्ड वजनको त्यो साइकलमा काठको फ्रेममा दुईवटा काठकै पांग्रा जडित थियो। उक्त फ्रेममा जडान गरिएको छालाको गद्धामा मानिस बस्थे। काठको ह्यान्डल समातेर त्यसलाई गुडाउँथे। त्यसमा गियर थिएन। त्यसका पेडल पनि थिएनन्। चालकले आफ्ना खुट्टाले साइकललाई धकेल्थे।
युरोपमा ड्राइसले गरेको आविष्कारको नक्कल हुनथाल्यो। बेलायती घोडा-गाडी निर्माता डेनिस जोन्सनले त्यसलाई नक्कल गरेर उत्पादन सुरु गरे। ‘पेडिसट्रियन करिकल्स’ नाम गरेको उक्त यन्त्र लन्डनका कुलीन घरानाका मानिसमाझ केही लोकप्रिय भयो। तर यसले सडक दुर्घटना बढ्यो। बटुवाको जीवन खतरामा परेको भन्दै सडक सुरक्षित बनाउन साइकलमाथि संसारभर प्रतिबन्ध लगाइयो।
त्यसपछि सन् १८६० दशकमा साइकल नयाँ रुपमा फर्कियो। त्यसको फ्रेम अझै काठको थियो, तर त्यसका पांग्रा स्टिलले बनेका थिए। पहिलोपटक उक्त यन्त्रमा पेडल जडान गरियो र गियर प्रणाली पनि विकास गरियो। त्यसलाई ‘भेलोसिपेड’ (चाँडो हिँड्ने खुट्टा) वा ‘बोन सेकर’ (शरीरको हड्डी हल्लाउने यन्त्र) पनि भनियो। चाँडो कुद्ने यन्त्र भए पनि त्यसलाई कुदाउँदा निकै शारीरिक कष्ट हुन्थ्यो।
साइकलको प्रयोगमा नयाँ क्रान्ति ल्याउने पेडल र गियर प्रणाली कसले आविष्कार गर्यो भन्ने प्रस्ट छैन। सन् १८६२ मा कार्ल केच नाम गरेका जर्मन नागरिकले उक्त आविष्कार आफूले गरेको दाबी गरे। तर, यसको बौद्धिक अधिकार उनले पाएनन्। अमेरिकामा त्यसको बौद्धिक अधिकार पिएरी लालेमेन्ट नाम गरेका फ्रान्सेली नागरिकले पाए। घोडा गाडी निर्माता लालेमेन्टलाई सन् १८६६ मा दुईपाङ्ग्रे यन्त्रमा पहिलोपटक पेडल जडान गरेको श्रेय दिइयो।
लालेमेन्टले आफ्नो आविष्कार सार्वजनिक रुपमा प्रदर्शन गरेपछि पेरिसका उद्योगपति आइमे र रेने ओलिभरले त्यसबारे थाहा पाए। उनीहरुले ‘भेलोसिपेड’ निर्माण गर्न चासो देखाए। उनीहरुले आफ्ना सहपाठी जर्ज डे ला बोगलिसे र फलामको काम गर्ने पिएरी मिच्उक्सलाई उक्त यन्त्रको सामान निर्माण गर्ने जागिर दिए।
सन् १८६७ मा उनीहरुले आफूले बनाएको ‘भेलोसिपेड’ बजारमा बेच्न थाले। त्यसबाट उनीहरुलाई ठूलो व्यापारिक सफलता प्राप्त भयो। ‘भेलोसिपेड’ को डिजाइन र आर्थिक विवादका कारण उनीहरुको कम्पनी बन्द भयो। तर, ओलिभरले छुट्टै खोलेको ‘कम्पनी पेरिसिने’ नाम गरेको संस्थाले निरन्तर ‘भेलोसिपेड’ उत्पादन र बिक्री गर्यो।
सन् १८७० सम्म आइपुग्दा शारीरिक कष्ट सहनुपर्ने साइकलको भद्दा डिजाइनबाट मानिस दिक्क भइसकेका थिए। त्यसपछि निर्माणकर्ताले अघिल्लो पांग्राको आकार निकै ठूलो बनाए। डिजाइन परिवर्तन भएपछि ‘भेलोसिपेड’ले चालकको शरीर कम हल्लाउन थाल्यो। यो यन्त्र चाँडो गुड्ने पनि भयो।
त्यस समयका धनी युवाहरुका लागि उक्त डिजाइन अहिले उच्च गतिमा कुद्ने ‘स्पोर्ट्स बाइक’ जस्तै रोमान्चकारी भयो। युरोपमा सवारी प्रतिस्पर्धाका लागि साइकलवालाहरुका क्लब खुले। तर नयाँ डिजाइनका पनि आफ्नै कमजोरी थिए। यातायातको साधनका रुपमा त्यो यन्त्र अझै अव्यावहारिक थियो। ठूलो संख्यामा मानिसले अझै साइकल प्रयोग गरेका थिएनन्।
जोन कम्प स्टारले नाम गरेका बेलायती नागरिकले बनएको नयाँ डिजाइनले भने साइकल प्रयोगमा नयाँ क्रान्ति ल्यायो। उनले १८७० दशकमा अहिले प्रयोग हुने डिजाइनजस्तै ‘सेफ्टी बाइसाइकल’ को बिक्री सुरु गरे।
स्टारलेले १८७१ देखि ‘एरिअल’ ब्रान्डको साइकल बेलायतको बजारमा ल्याए। यसले साइकल उत्पादनमा दशकौंसम्म बेलायतको भूमिका अग्रणी रह्यो। साइकलको इतिहासमा स्टारले अत्यन्त चुस्त र सुरक्षित पांग्रा ‘टानजेन्ट-स्पोक ह्विल’ निर्माण गर्ने व्यक्तिका रुपमा परिचित छन्। त्यसलाई उनले सन् १८७४ मा निर्माण गरेका थिए।
अगाडिको चक्काले कुदाउँदा घच्याक-घुचुक हुने क्रम अत्यन्त कम भएपछि इतिहासमा पहिलोपटक साइकल यात्रा सहज र आरामदायी भयो। स्टारलेले बनाएको पाङ्ग्राका कारण साइकलको वजन पनि घट्यो।
त्यसपछि सन् १८८५ मा स्टारलेले ‘रोभर’ ब्रान्डको नयाँ साइकल बजारमा ल्याए। त्यसका दुवै पांग्राका आकार लगभग उत्रै थिए। त्यसको मध्यभागमा स्ट्रिंग, चेनले जोडिएको पाङ्ग्रा र गियरका कारण साइकल अत्यन्त उपयोगी र व्यवहारिक भयो। साइकल मार्फत यात्रा गर्न सहज भयो।
सुरुआती वर्षहरुमा साइकल चढ्नु महँगो सोख थियो। उत्पादन प्रतिस्पर्धी र ठूलो परिणाममा हुन थालेपछि साइकलको मूल्य घट्यो। श्रमिकहरु पनि साइकल चढ्न सक्ने हैसियतका भए। साइकल चढेर काम गर्ने कार्यालय वा औद्योगिक क्षेत्र जाने र फर्कने गर्न थाले। महिलाहरु पनि ठूलो संख्यामा साइकल चढ्न थाले। साइकल चढ्नुपर्ने हुनाले महिलाको पहिरनमा पनि परिवर्तन आयो। पुराना भद्दा पहिरन हराए र साइकल चढ्न सहज हुने किसिमका पहिरनको विकास भयो।
मानिसको जीवनशैलीमा व्यापक परिवर्तन ल्याउने कमै आविष्कारमध्ये साइकल एक हो। सवारीका अन्य साधनको विकास भएपछि साइकल प्रयोग घटे पनि अहिले वातावरणमैत्री भएकाले साइकलको लोकप्रियता फेरि बढेको छ।