बाह्रसिंगाको झुण्ड हेर्न ख्याती कमाएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक बढाउने उद्धेश्यले नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमले शुक्रबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव सुरु गरेको छ ।
निकुञ्जमा करिब तीन हजारको संख्यामा बाह्सिँगा छन् । गर्मी याममा हरेक बिहान र साँझ जीप सफारी गर्दा सयौंको संख्यामा बाह्सिँगाको झुण्ड अवलोकन गर्न सकिन्छ । बाह्सिँगा बाहेक गैंडा, हात्ती, चित्तल, मृगका साथै थरिथरिका चरा पाइन्छ ।
पर्यटनको प्रचूर संभावना हुँदाहुँदै पनि राम्रो प्रचार नभएकाले शुक्लाफाँटामा पर्यटकको चहलपहल कम छ । त्यसैले पर्यटक बढाउन नेपाली र भारतीय टुर अपरेटरहरु समेतलाई बोलाएर महोत्सव मनाइएको नाटा सूदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले बताए ।
निकुञ्ज मुख्यालय मझगाउँमा आयोजित महोत्सव आइतबारसम्म चल्ने छ । महोत्सवमा राना थारु, चौधरी लगायत समूदायको नृत्य प्रस्तुत गरिएको थियो । साथमा गायक नविन पौडलले सुदूर होइन हो सुन्दरपश्चिम खप्तडको भेकतिर,विभिन्न खाले जडि र बुटी पाइन्छन् लेकतिर.....बोलको लोकगीत गाएका थिए । महोत्सव अबसरमा तीन सय भन्दा बढी पर्यटकलाई फाँटामा जंगल सफारी गराउने आयोजकको योजना छ ।
महोत्सव उद्घाटनका अबसरमा नाटाका केन्द्रिय अध्यक्ष मधुसुदन आचार्य, टानका केन्द्रिय अध्यक्ष चन्द्र रिजाल, नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण अर्याल, पर्यटनकर्मी प्रकाश भट्ट, आयोजक समितिका अध्यक्ष मायाप्रकाश भट्ट लगायतले सुदूरपश्चिमको पर्यटन संभावनाबारे बोलेका थिए ।
महेन्द्रनगरबाट ७ किमि दुरीको निकुञ्ज मुख्यालयबाट जीप र हात्ती सफारी गराइन्छ । महेन्द्रनगरमा एक दर्जन भन्दा बढी आधुनिक होटल छन् भने शुक्लाफाँटाको प्रबेशद्वार नजिकै परमानन्द भण्डारीको शुक्लाफाँटा जंगल कटेज र रानाथारु सामुदायिक होमस्टले ८ घरमा होमस्टे चलाएका छन् ।
पर्यटनकर्मी सम्मानित
सुदूरपश्चिमको पर्यटन प्रबर्धनमा योगदान पु¥याउने तीन जना अगुवालाई शुक्रबार नाटा सुदूरपश्चिमले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता गोपी हमाल, वाइल्ड वेस्ट ट्रयाँगलका परिकल्पनाकार अमर शाही र एयरक्राफ्ट म्यूजिमका संचालक क्याप्टेन वेद उप्रेती छन् । उनीहरुलाई कार्यक्रमका प्रमूख अतिथि नाटाका केन्द्र्रीय अध्यक्ष मधुसुदन आचार्यले सम्मानपत्र प्रदान गरेका थिए ।