सरकारले डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको विषयमा परेको मुद्दामा बिहीबार अन्तिम सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय तेजबहादुर केसी र ईश्वरप्रसाद खतिवडाको इजलासमा आइजिपी नियुक्तिको सुनुवाइ हुने सर्वोच्च अदालत स्रोतले जनाएको छ।
चन्दलाई आइजिपी बनाउने सरकारको निर्णयमा अन्तिम सुनुवाइ सकिएपछि सर्वोच्च अदालतले उनको नियुक्ति सदर वा बदर गर्ने फैसला गर्ने छ।
सरकार गत फागुन १ गते चन्दलाई प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको थियो। सरकारले तेस्रो वरियतामा रहेका डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि उक्त निर्णयलाई रोक लगाउन माग गर्दै अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए।
यस्तै पहिलो वरियतामा रहेका डिआइजी नवराज सिलवालले पनि चन्दलाई आइजीपी बनाउने निर्णय रोक्न माग गर्दै आफूलाई आइजीपी नियुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए।
सिलवालले वरियता क्रम मिचेर चन्दलाई आइजीपी बनाउने निर्णयमाथि रोक लगाउन माग समेत निवेदनमा गरेका थिए। प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले प्रहरी महानिरीक्षक पदमा यही फागुन १ गते भएको डीआईजी चन्दको नियुक्तिको सम्बन्धमा भएका सम्पूर्ण काम कारबाही हाललाई यथास्थितिमा राख्न र राख्न लगाउन, नियुक्ति दिने दिलाउने, पद बहाली गर्ने गराउनेलगायतका कुनै पनि कार्य नगर्न र नगराउन सोही दिन अन्तरिम आदेश दिएको थियो।