यस वर्षको माध्यमिक शिक्षा परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ। परिक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा छन्।
माध्यमिक शिक्षा परीक्षाको लागि देशभर कुल १ हजार ९ सय २३ केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए।
यस वर्ष सबै भन्दा कम परिक्षा केन्द्र मुस्ताङ र मनाङमा रहेको छ । काठमाडौंमा सबै भन्दा बढि ९६ वटा परिक्षा केन्द्र रहेको परिक्षा नियन्त्रक रेग्मीले बताए।
परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष,निरीक्षक र कार्यालय सहायक गरी ६७ हजार ५ सय ९१ कर्मचारी खटाइएको छ।
परीक्षा नियन्त्रक रेग्मीका अनुसार चैत ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्धितिय विषयको परीक्षा संचालन हुनेछ।
विभिन्न प्राविधिक विषय समेत गरी चैत्र १४ गतेसम्म परीक्षा संचालन हुने परिक्षा निणन्त्रण कार्यालयले जनाएको छ।
परिक्षाका नियम उल्लंघन गरेमा १ लाख रुपैयाँ जरिवाना र ६ महिना जेल वा दुवै सजाय हुन सक्ने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
शिक्षा ऐनको आठौं संशोधनमा माध्यामिक तहको परिक्षा राष्ट्रिय परिक्षा वोर्डले क्षेत्रीय स्तरमा गर्ने उल्लेख भए पनि तयारी नपुगेको भन्दै अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई माध्यामिक शिक्षा परिक्षा एसइई परीक्षा गर्ने जिम्मेवारी दिइएको छ ।
यसअघि कक्षा १० लाई एसएलसी परीक्षा भनिएकोमा नयाँ व्यवस्था अनुसार कक्षा १२ मा मात्रै एसएलसी परीक्षा हुने भएकाले बिहीबार परीक्षा दिएका विद्यार्थीले २ वर्षपछि फेरि कक्षा १२ मा एसएलसी दिनुपर्ने छ।