मलेसिया भन्नेबित्तिकै धेरै नेपालीको मनमा वैदेशिक रोजगारको एक प्रमुख गन्तव्यको झझल्को आउँछ। लगभग आठ लाख नेपालीले पसिना बगाइरहेको मुलुकका निम्ति यो स्वाभाविक पनि हो।
टुरिजम मलेसियाका दक्षिण एसिया विभाग प्रमुख लोगी धासन थानाराज भने हामीलाई यस्तो मलेसियासँग साक्षात्कार गराउँदै थिए, जहाँ वर्षेनी १ करोड ५० लाख विदेशी पर्यटक घुम्न आउँछन्। तिनमा नेपाली पर्यटकको संख्या पनि उल्लेख्य छ।
हुन त यहाँ पर्यटकले हिमाली दृश्यको आनन्द उठाउँदै मन्त्रमुग्ध हुन पाउँदैनन्। न उचाइबाट फाल हानेर ‘बन्जी जम्पिङ’ गर्दै आफ्नो साहसको परीक्षा लिन पाउँछन् न त नदीमा पानीको छालसँग बत्तिँदै ‘र्याफ्टिङ’ को आनन्दै उठाउन सक्छन्।
त्यसो भए के छ त मलेसियामा, जसबाट लोभिएर वर्षेनी पर्यटकको ताँती लाग्छ?
सन् १९५८ मा बेलायतबाट स्वतन्त्र भएको पूर्वी एसियाली मुलुक मलेसियाको पर्यटकीय विशेषता भन्नु नै उसको तीव्रतर आर्थिक विकास हो। त्यसैले त हिमालय एयरलाईन्सको फाम ट्रिपमा मलेसिया भ्रमणमा रहेका नेपाली पत्रकार टोलीलाई थानाराज गर्वसाथ सुनाउँदै थिए, ‘हाम्रो पर्यटकीय विशेषता भनेकै आधुनिक विकासबाट निर्मित समृद्ध मलेसिया हो।’
उनको संकेत मलेसियाका मानवनिर्मित विकास संरचनातर्फ थियो, जसले पर्यटक लोभ्याउँछ। चौडा र फराकिला फास्ट ट्रायक सडकतर्फ थियो, जहाँ जति कुदे पनि थकान महसुस हुँदैन। क्वालालम्पुर सहरदेखि विमानस्थलसम्मको ७५ किलोमिटर यात्रा यसको ज्वलन्त उदाहरण हो। यहाँ सडक यति चुस्त छ, कहीँकतै अवरोध झेल्नु पर्दैन। झन्डै ४० मिनेटमै यो दुरी तय हुन्छ।
यति मात्र होइन, सहरी क्षेत्रमा महानगरपालिकाले निःशुल्क सुविधासम्पन्न बस चलाएको छ। बसले सहरका प्रमुख सपिङ सेन्टर, पेट्रोनास ट्विन टावर, केएल टावर लगायत पर्यटकीय क्षेत्रहरूको फेरो मार्छ। यसले पर्यटकलाई ट्याक्सीवालाको हैरानी बेहोर्नुपर्दैन।
मलेसियाको विकास कतिसम्म योजनाबद्ध छ भने, सानो सहरी क्षेत्रफलमा सबै संरचना चिटिक्क मिलाएर राखिएका छन्, कुशल दोकानदारले पसल सजाएजस्तो। व्यवस्थित आवास, विश्वासिलो सार्वजनिक यातायात, पर्याप्त फुटपाथ, गगनचुम्बी भवन र सहरभित्रै देख्न पाइने पर्याप्त हरियाली– यी यस्ता विकास संरचना हन्, जसले मलेसियाको राजधानी क्वालालम्पुरलाई लोभलाग्दो बनाएको छ।
‘युरोप र अमेरिकीबाहेक एसियाली पर्यटकका लागि हाम्रा विकास संरचना नै पर्यटकीय आकर्षण हुन्,’ थानाराजले भने, ‘आफूले कमाएको केही हिस्सा भ्रमणमा खर्च गर्ने संस्कृति बढ्दै गएका एसियाली मुलुकहरू चीनदेखि इन्डोनेसिया, फिलिपिन्स, भारत र नेपालबाट जानेहरूले आधुनिक विकासबाट बनेको सम्मृद्ध मलेसियाको भरपुर आनन्द लिन पाउँछन्।’
प्रतिव्यक्ति आय १० हजार अमेरिकी डलर रहेको मलेसिया सन् २०२० सम्म विकासोन्मुख मुलुकबाट विकसित श्रेणीमा उक्लने तर्खरमा छ। नेपाल लगायत १४ देशबाट गएका करिब ५० लाख कामदार मलेसियाको यही अभियानका हिस्सेदार बनेका छन्। मलेसियामा काम गर्न जानेमा नेपालीको संख्या दोस्रो स्थानमा छ। छिमेकी इन्डोनेसियाका २५ लाख कामदारपछि धेरै नेपालीले यहाँ रोजगारी पाएका छन्। मलेसियाले अत्यधिक उत्पादन गर्ने पाम आयलदेखि हरेक उद्योगमा विदेशी कामदारकै बाहुल्य छ।
यो लेखमा हामी केही यस्ता पर्यटकीय गन्तव्यबारे चर्चा गर्नेछौं, जुन समृद्ध मलेसियाका सान हुन्।
पुत्राजया
पुत्राजय मलेसियाको आधुनिक प्रशासनिक केन्द्र हो। क्वालालम्पुरमा अनावश्यक भीडभाड बढ्न नदिन तत्कालीन प्रधानमन्त्री महाथिर विन मोहम्मदले प्रधानमन्त्री कार्यालय लगायत सबै मन्त्रालय पुत्राजयमा सार्ने निर्णय गरेका थिए।
पुत्राजयको फराकिलो ठाउँमा बनेका अत्याधुनिक संरचना हेर्न जुनसुकै देशका पर्यटक लालायित हुन्छन्। महाथिरले पुत्राजयमा सरकारी कार्यालयहरू सारेर क्वालालम्पुरलाई हलुका मात्र बनाएनन्, अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य पनि विकास गरे।
क्वालालम्पुरलाई आर्थिक राजधानीका रूपमा विकास गरी त्यहाँबाट आधा घन्टा दुरीमा रहेको पुत्राजयलाई राजनीतिक र प्रशासनिक केन्द्र बनाउने उनको उद्देश्य हो। यहाँ सरकारी कर्मचारीका लागि नदी किनारमा गगनचुम्बी आकर्षक भवन निर्माण गरिएका छन्। पछिल्लो समय कूटनीतिक नियोगका कार्यालय पनि विस्तारै यही इलाकामा सार्न थालिएको छ। सम्पूर्ण पुत्राजया घुम्न सुविधाजनक क्रुज उपलब्ध छ।
काठमाडौंको स्वयम्भुजस्तै डाँडामा भव्य पाँचतारे होटल बनाएपछि तल ठूलो नदी बनाएर क्रुज चलाइएको मेरिना पुत्राजयाकी बजार प्रबन्धक वान इफिएरा वान मुस्ताफाले जानकारी दिइन्। उनका अनुसार ४५ मिनेटको क्रुज यात्रामा पुत्राजयाका आकर्षक गन्तव्य सहजै अवलोकन गर्न सकिन्छ।
पेट्रोनास ट्विन टावर/केएल टावर
सन् १९९६ मा निर्माण थालेर दुई वर्षमै सम्पन्न भएको पेट्रोनास ट्विन टावर आधुनिक मलेसियाको पहिचान हो। कुल ८८ तलाको टावरको लोभलाग्दो बनावटले विश्वका धेरै पर्यटकलाई आकर्षित गर्छ। मलेसिया पुग्ने जोसुकै व्यक्ति ट्विन टावरलाई पृष्ठभूमिमा राखेर तस्बिर खिचाउन भुल्दैनन्।
त्यस्तै, ४२३ मिटर उचाइको केएल टावर यहाँको धरहराजस्तै छ। यहाँबाट क्वालालम्पुरको विकास र समृद्धि आँखाभरि सजाउन सकिन्छ। केही शुल्क तिरेर चारवटा लिफ्टबाट ५५ सेकेन्डमै टावरको टुप्पोमा पुग्ने सुविधा छ।
सन्वे लगुन
सन्वे लगुन मनोरञ्जनका लागि बनाइएको स्थल हो। यहाँ बालबालिकादेखि वृद्धवृद्धासम्मले एकै ठाउँमा मनोरञ्जन लिन सक्छन्। खुला चिडियाखाना, सामुन्द्रिक आनन्द, जलविहार, बन्जी, वाटर पोलोसहित फनपार्कको सुविधा एकै ठाउँमा छ।
मलेसियाको स्थानीय स्वादका साथै चिनियाँ, थाई तथा इन्डियन खानाको स्वाद पाइने विश्वप्रसिद्ध रेस्टुरेन्टहरू पनि यहाँ उपलब्ध छन्। ‘यहाँ मिनी चिडियाखाना छ, जहाँ बाघ, भालु, बाँदर, मयुर, चराचुरूंगी तथा सर्पहरू राखिएका छन्। पर्यटकले यी जंगली जनावरसँग सेल्फी पनि खिच्न सक्छन्,’ सन्वे लगुनकी बजार प्रबन्धक नाताल्याले भनिन्, ‘एड्भेन्चर, एक्साइटमेन्ट र मस्ती चाहनेहरूका लागि यो उत्कृष्ट थलो हो।’
ए–फामोसा
नेपालको सौराहाजस्तै शान्त ए–फामोसा क्वालालम्पुरबाट दुई सय किलोमिटर दुरीमा पर्छ। यहाँ काम गर्ने अधिकांश कामदार नेपाली छन्। यहाँ हात्ती सफारी, हात्तीको प्रहसन र विभिन्न जंगली जनावरलाई नचाएर मनोरञ्जन दिइन्छ। जंगल सफारीका क्रममा बाघ, भालु, हरिण, मृग, चित्तल, थारल लगायत जंगली जनावर हेर्न पाइन्छ।
जंगली जनावरलाई वरिपरि तारले घेरा हालेर राखिएको यो ठाउँ एउटा ठूलो चिडियाखानासमेत हो। यहाँ बेलुकीको समय फोर डि सिनेमा, इन्डियन सोसहित विभिन्न सांस्कृतिक प्रस्तुति आयोजना गरिन्छ।
सिटी टुर
सिटी टुर मलेसियाको अर्को प्रमुख आकर्षण हो। सुविधासम्पन्न गाडीमा विभिन्न सहर घुम्दै किनमेलको पनि आनन्द लिन सकिन्छ । विभिन्न परिकार, कला, संस्कृति तथा सुन्दरताका लागि प्रख्यात मलेसिया घुम्नुको मज्जा बेग्लै हुन्छ।
प्रधानमन्त्री कार्यालयसँगै रहेको पुरानो जामे मस्जिद अवलोकन, राजदरबारमा फोटो खिच्नु, राष्ट्रिय निकुञ्ज अवलोकन गर्नु, बाटामा पर्ने सुन्दर बगैंचा हेर्दै हिँड्नु, रोयल सेलेङ्गर भिजिट सेन्टर हुँदै स्थानीय परम्परा र रहनसहनको स्वाद यहाँ लिन सकिन्छ।
बटु केभ
दुई सय ७२ खुड्किला पार गरेर बटु केभ यात्रा गर्नु पनि रोचक पर्यटकीय अनुभव हो। बाँदरको स्वागतले यो क्षणलाई अझ रमाइलो बनाइदिन्छ। माथि चढिसकेपछि बेग्लै संसारमा पुगेजस्तो लाग्छ। यहाँको सिल्क बाटिकाको डिजाइनले मनै लोभ्याउँछ।
अन्य आकर्षण
रेनफरेस्ट तथा क्यानोफी वाल्कले मलेसिया यात्रालाई अविस्मरणीय बनाउँछ । रेनफरेस्टमा यहाँको इकोसिस्टमबारे जानकारी लिनुका साथै सुन्दर प्रकृति तथा जनावर हेर्न पाइन्छ। एक हजार ७ सय ४० मिटर उचाइको गेन्तिङ हाइल्यान्ड मलेसिया पुग्ने सबै पर्यटकको अपरिहार्य गन्तव्य हो। विश्वकै ठूला होटलमा पर्ने गेन्तिङ हाइल्यान्डमा चीनदेखि विश्वभरका जुवा पारखी घुम्न आउँछन्।
केही तस्बिरहरू टुरिजम मलेसियाबाट