करिब एक वर्षको अवधिमा सोलुखुम्बुबाट ३४ ट्रक चौंरी गाई निकासी भएको छ ।
जिल्ला पशु सेवा कार्यालय सोलुखुम्बुका वरिष्ठ पशु सेवा अधिकृत लेखराज दाहालका अनुसार गत वैशाखदेखि हालसम्म जिल्ला पशु सेवा कार्यालयबाट अनुमति लिएर सो सङ्ख्याको चौंरी गाई जिल्ला बाहिर लगिएको हो। एउटा ट्रकमा साना बाच्छाबाच्छी करिब २०/२२ वटा र ठूला चौंरी १२/१३ वटाको दरले लैजाने गरेको उनले बताए।
सडक सञ्जालले गाउँ जोडिएपछि व्यवसायीले जङ्गलमै पुगेर चौंरी गाई लैजाने गरेका हुन् । जिल्लाबाट सङ्खुवासभा, भोजपुर, पाँचथरलगायतका जिल्लामा लैजान अनुमति माग भएको र कतिपयले पाल्नका लागि लगेको र केही त्यहाँबाट तिब्बत निकासी भएको हुनसक्ने पशु सेवा कार्यालयले जनाएको छ ।
अत्याधिक रुपमा चौंरी गाई अन्यत्र निकासी हुन थालेपछि कार्यालयले नियन्त्रण र सङ्ख्या वृद्धिका लागि चासो देखाएको छ । यसका लागि कार्यालयले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको पशु सेवा अधिकृत दाहालले बताए।
चौंरी गाई बढी मात्रामा पाइने टाक्सिन्दु र काँकु गाविसमा यो कार्यक्रम लागू हुने जनाइएको छ । आगामी आवमा चौंरी गाईको व्यवस्थापनका लागि १० लाख ९१ हजार ५ सय रुपैयाँ रकम खर्च गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ ।
सो बजेटबाट चौंरीपालकलाई तालिम, अनुदान तथा चौंरी गाई सुरक्षालगायतका काम गरिनेछ । रासस