उत्तर कोरियाका तानाशाह किम जोङ-इलका सौतेनी दाइ किम जोङ-नामको हत्यामा घातक रासायनिक पदार्थ प्रयोग भएको पाइएको छ।
मलेसियामा भएको नामको हत्यामा ‘भीएक्स नर्भ एजेन्ट’ नाम गरेको घातक रासायनिक पदार्थ प्रयोग भएको पाइएको हो।
नामको मृत शरीरको परिक्षण गर्दा उक्त कुरा पाइएको मलेसियाका अधिकारीले बताएका छन्।
हत्यामा प्रयोग गरिएको ‘भीएक्स नर्भ एजेन्ट’लाई संयुक्त राष्ट्र संघले ‘वेपन अफ मास डिस्ट्रक्शन’ अर्थात् आमहत्यामा प्रयोग हुने हतियारको सूचीमा राखेको छ।
त्यसलाई रासायनिक युद्धमा प्रयोग गरिन्छ। पहेंलो रङ्गको उक्त पदार्थ चिल्लो, स्वाद र गन्धरहित हुन्छ।
गतहप्ता मलेसियाको राजधानी क्वालालाम्पुर एयरपोर्टमा दुई महिलाले किम जोङ-नामको अनुहारमा उक्त रासायनिक पदार्थ छर्किदिएका थिए।
किम जोङ-नामलाई कुनै समय उत्तर कोरियामा सम्भावित राष्ट्र तथा सरकार प्रमुखको रुपमा लिइन्थ्योl तर उक्त पद उनका सौतेनी भाइ किम जोङ-इलले लिए। त्यसपछि उनी वर्षौंदेखि देश बाहिर बस्दै आएका थिए।
गत हप्ता मृत्यु हुनुअघि दुई महिलाले आफ्नो अनुहारमा कुनै पदार्थ छर्किदिएको भन्दै उनले तुरन्तै प्रहरीसँग सहयोग मागेका थिए। त्यसपछि उनी बेहोस भए र अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको थियो।
बिबिसीका अनुसार उनको हत्यामा प्रयोग भएको रासायनिक पदार्थले विशेष गरी छालाबाट भित्र छिरेर स्नायु प्रणालीलाई अवरुद्ध गर्छl
एक थोपा मात्र छालामा पर्यो भने केही मिनेटमा नै मानिसको मृत्यु हुन्छ। मात्रा थोरै भयो भने त्यसले आँखामा पीडा हुने, धमिलो देखिने र वान्ता हुने जस्ता लक्षण देखिन्छन्।