महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको चहलपहल सुरु भएको छ।
मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधना गरी महाशिवरात्रि पर्व मनाउन विभिन्न ठाउँबाट भक्तजन आउन थालेपछि भक्तजनको भीड लाग्न थालेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए।
उनले बिहान ५ बजेदेखि नै मन्दिरमा पूजा खुला गरिएको र लाइनमा बसेर व्यवस्थित तरिकाले पूजा तथा दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए। कालीगण्डकी नदी किनारमा विशाल चक्रशिलामा अवस्थित गलेश्वर शिवालय पश्चिमाञ्चलकै महत्वपूर्ण धार्मिकस्थलका रुपमा परिचित छ ।
विगतका वर्षमा भीडभाडमा सुन चोरी हुने गरेकाले सुरक्षा व्यवस्थापनमा विशेष जोड दिइएको कोषले जनाएको छ । मन्दिर परिसरका विभिन्न ठाउँबाट सिसी टिभीमार्फत निगरानी गर्नुका साथै सुरक्षाकर्मी र स्वयम्सेवक परिचालनद्वारा शान्त वातावरणमा मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको अध्यक्ष केसीले बताए।
कोषले एक लाख ५० हजार रुपैयाँ लगानी गरी आठ ठाउँमा सिसी टिभी क्यामेरा जडान गरी निगरानी गर्ने व्यवस्था गरेको कोषका कार्यालय सचिव राम बानियाँले बताए। उनका अनुसार गत वर्ष जडान गरिएका चारवटा पुराना क्यामेरालाई विस्थापित गरी नयाँ र प्रविधियुक्त क्यामेरा जडान भएका छन् ।
त्यस्तै, कोषले गलेश्वर मन्दिरमा विद्युत्भार कटौतीको समयमा पनि उज्यालो राख्नका लागि सोलार जडान गरेको छ । करिब एक लाख ७५ हजारमा जडित सोलारले विद्युत्भार कटौतीकोे समयमा समेत गलेश्वर शिवालय परिसरमा उज्यालो बनाउनेछ ।
शिवरात्रिको राति महावत्ती बाल्न आउनेको सुविधाका लागि करिब पाँच सयजना बस्न सक्ने व्यवस्था समेत मिलाइसकिएको कोषले जनाएको छ । रासस