हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा सप्तरी जिल्लाका शिवालयमा आज बिहानैदेखि पूजापाठका लागि हिन्दू धर्मावलम्वीको भीड लागेको छ।
जिल्लाको शम्भुनाथ नगरपालिकामा रहेको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको शम्भुनाथ महादेव मन्दिरमा पूजाअर्चनाका लागि भीड लागेको छ । आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुर, मिस्टान्न तथा फलफूलसहित रङ्गीचङ्गी लुगा लगाई महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा शम्भुनाथको शिव मन्दिरमा चढाउनका लागि लामबद्ध भएका थिए ।
विभिन्न ध्वजा तथा बलवतीले सिङ्गारिएको सो मन्दिरमा पूजापाठका लागि सप्तरी, सिरहा तथा भारतको विहार राज्यका सुपौल र मधुवनी जिल्लालगायत सहरी तथा ग्रामीण क्षेत्रका धर्मावलम्बी आज बिहानै लाम लागेर पूजाआजा गरिरहेका छन् ।
त्यस्तै, सप्तरीको राजविराज नगरपालिका–१ मा रहेको शिव मन्दिर, महदेवा गाविसस्थित शिव मन्दिर र २ नं योगिनियाँ–९ मा रहेको महादेव मन्दिर तथा कञ्चनरुप नगरपालिकाको बलुवामा रहेको शिव मन्दिर लगायतका विभिन्न शिवालयमा दर्शनार्थीको भीड लागेको छ । आजको दिन शुद्ध भई शिवको पूजापाठ तथा व्रत बस्नाले सुख, समृद्धि तथा दीर्घायु हुने जनविश्वास रहेको छ । रासस