वैज्ञानिकले सौर्यमण्डल बाहिर पृथ्वी जत्रा ७ वटा नयाँ ग्रह पत्ता लागेको घोषणा गरेपछि खगोल विज्ञानका क्षेत्रमा सनसनी मच्चिएको छ। उक्त खोजसँगै वैज्ञानिकका निम्ति सौर्य मण्डलबाहिर जीवको अस्तित्व छ कि छैन भनेर अनुसन्धान गर्ने ढोका खुलेको छ
पत्ता लागेका ग्रहहरूले ट्रापिष्ट-१ नाम गरेको सानो तारालाई परिक्रमा गर्छन्, जुन पृथ्वीबाट ४० प्रकाश वर्ष टाढा छ। वैज्ञानिकहरूका अनुसार उक्त दुरी धेरै टाढा होइन। उत्साह मान्नुपर्ने अर्को कुरा भनेको ती ग्रहहरुले ट्रापिष्ट-१ लाई यस्तो ढंगले परिक्रमा गर्छन् जसले वैज्ञानिकहरुलाई ती ग्रहबारे विस्तृत अध्यन गर्न सहज हुन्छ।
उक्त ताराको प्रकाश धिमा भएका कारण त्यहाँको ग्रह प्रणाली अध्ययन गर्न वैज्ञानिकका लागि सजिलो छ।
नयाँ पत्ता लागेका ग्रहमध्ये केहीमा पृथ्वीको जस्तै तापक्रम हुने सम्भावना छ। त्यसो भएमा त्यहाँ जीवको उत्पति र विकासका निम्ति समुद्र हुने सम्भावना हुन्छ। मुख्यतः ३ वटा ग्रहमा जीव-वनस्पति रहने सम्भावना रहेको वैज्ञानिकहरूको भनाई छ। बलिरहेको तापमान तारा र ग्रहहरूको दुरीले त्यहाँ पानी र जीव-वनस्पति रहन सक्ने वातावरण निर्धारण गर्छ।
ट्रापिष्ट-१ अनुसन्धानमा खटिएका अन्तर्राष्ट्रिय टोलीका वैज्ञानिक माइकल गिलोन भन्छन् - ‘एउटै तारा वरिपरी घुमिरहेका यति धेरै ग्रह पाइएको यो पहिलो पटक हो।’
यो नयाँ खोज नेचर जर्नलमा बुधबार प्रकाशित भएको हो।
‘मलाई लाग्छ ती ग्रहमा यदि जीव अस्तित्वमा छन् भने तिनीहरुलाई भेट्नका लागि हामीले महत्वपूर्ण उपलब्धि हाशिल गरेका छौं,’ वेलायतको क्याम्ब्रिज विश्वविद्यालयका खगोलसाश्त्री अमाउरी ट्रीआउड भन्छन्, ‘यदि त्यहाँ जीव-वनस्पती छन् र पृथ्वीमा जस्तै उनीहरुले ग्यास निकाल्छन् त्यसलाई हामि पत्ता लगाउन सक्छौं।’
पृथ्वीमा भएका टेलिस्कोप र अन्तरिक्षमा भएका हबल स्पेस टेलिस्कोप मार्फत त्यहाँको वातावरण अध्ययन गरिने छ।
अर्को वर्ष अन्तरिक्ष प्रक्षेपण गरिने जेम्स वेब टेलिस्कोप मार्फत ट्रापिष्ट-१ बाट निस्किएका किरणहरू अध्ययन गर्न सजिलो हुनेछ।
‘ट्रापिष्ट-१ ग्रहले ब्रह्माण्डमा बाह्य जीवा खोज्ने कार्यलाई तिब्रता दिने पक्का छ,' एमआइटी खगोलशास्त्री सर सिगेर भन्छिन्।
ब्रह्माण्डमा रहेका अन्य ताराका ग्रहहरू हुनुपर्छ भन्ने अन्दाज खगोलशास्त्रीहरुले लामो समयदेखि गरेका थिए। तर केही दशक अघिसम्म पनि उनीहरुले त्यस्ता ग्रह भेट्न सकेका थिएनन्। पछिल्लो समयमा उनीहरूले ३४०० त्यस्ता ग्रहहरु भेटिसकेका छन्।
गत वर्ष उनीहरुले पृथ्वीको आकारको प्रोक्सिमा सेन्टाउरी नाम गरेको तारा नजिक पृथ्वीको आकारको एक ग्रह फेला परेका थिए। पृथ्वीबाट उक्त ताराको दुरी केवल ४.२४ प्रकाश वर्ष टाढा थियो।