नेपाली भाषाको जननीका रुपमा संस्कृत भाषा रहे पनि यस शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्न सकेको छैन।
संस्कृत शिक्षाको संरक्षण एवम् विकासका लागि सरकारले लगानी गर्दै आए पनि लगानीअनुरुप अपेक्षित उपलब्धि हासिल हुन नसक्नु यतिखेर चिन्ताको विषय बनेको छ। प्राचीनकालमा गुरुकुल पद्धतिबाट अध्ययन अध्यापन हुन्थ्यो र संस्कृत सिक्नु अनिवार्य थियो। पूर्वीय संस्कृतिका सम्पूर्ण धार्मिक ग्रन्थ संस्कृत भाषामा रचिए पनि पछिल्लो समयमा यस शिक्षाप्रति आकर्षणभन्दा पनि विकर्षण बढी देखिएको छ।
विगतका समयमा संस्कृत शिक्षाका लागि पोखरा र आसपासका क्षेत्र आकर्षक गन्तव्य बने पनि पछिल्लो समयमा संस्कृत शिक्षाकै लागि खोलिएका शैक्षिक संस्थामा विद्यार्थीको सङ्ख्या नगण्य रहेको छ । संस्कृत शिक्षाका लागि सञ्चालित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको विन्दुवासिनी संस्कृत विद्यापीठमा २०५० सालदेखि शास्त्री तहसम्म विभिन्न विषयमा निरन्तर पठनपाठन हुँदै आएको छ ।
स्थापनासँगै तीन वर्षपछि २०५३ सालदेखि विश्वविद्यालयको आङ्गिक विद्यापीठका रुपमा रहेको यस विद्यापीठमा हाल १०२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यापीठका प्राचार्य अम्बिकाप्रसाद भट्टराईले जानकारी दिए।
विद्यापीठमा हाल शास्त्री तहसम्म आधुनिक विषय नेपाली, अङ्ग्रेजीसहित प्राचीन विषय ज्योतिष, साहित्य, व्याकरण जस्ता विषयको अध्यापन हुँदै आएको छ ।
प्राचार्य भट्टराईका अनुसार विद्यापीठमा हाल बाह्मण विद्यार्थीका साथै अन्य जातिका विद्यार्थी पनि अध्ययनरत छन् ।
संस्कृत शिक्षामा विद्यार्थीको आकर्षण वृद्धि गर्ने उद्देश्यले विश्वविद्यालयले तहगत रुपमा आकर्षक छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ तर त्यसले विद्यार्थीको सङ्ख्या बढाएको छैन ।
विद्यापीठका साथै लामो इतिहास बोकेको यहाँको संस्कृत माध्यमिक विद्यालय संस्कृत विषय अध्ययन अध्यापन हुने अर्को संस्था हो ।
विसं १९५८ मा भाषा पाठशालाका रुपमा स्थापित यो विद्यालय पोखरा क्षेत्रकै पुरानो विद्यालय पनि हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीका अनुसार विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन निःशुल्क भर्नाका साथै विद्यालय पोसाक र पाठ्यपुस्तक निःशुल्क रुपमा वितरण गर्ने गरिएको छ ।
गुणस्तरीय शिक्षाका लागि कक्षा १० मा छात्रावाससमेत सञ्चालन गरेको जानकारी दिँदै उनले अपेक्षित रुपमा अझै विद्यार्थीको आकर्षण बढाउन नसकेको उल्लेख गरे।
उनका अनुसार पछिल्ला समयमा विद्यालयमा अन्य जातिका विद्यार्थीभन्दा दलित विद्यार्थीको सङ्ख्या बढेको छ ।
“विद्यालयमा दलित विद्यार्थीको आकर्षण वृद्धि हुनुमा समाजसेवी स्व भवे सार्कीलगायतका व्यक्तिको प्रेरणा र सामाजिक जनचेतना अभिवृद्धि मुख्य रहेका छन्,” उनले भने – “संस्कृत शिक्षाप्रति थप आकर्षण हुने गरी सरकारले यस शिक्षाको विकासलाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ ।”
विद्यालयका प्रधानाध्यापक कृष्ण देवकोटाले विद्यालयमा हाल १५६ जना विद्यार्थी रहेका र त्यसमध्ये ८० प्रतिशतभन्दा बढी दलित विद्यार्थी रहेको जानकारी दिए।
“विद्यालयमा ब्राह्मण क्षेत्री समुदायका विद्यार्थीको सङ्ख्या कम रहेको छ,” उनले भने – “ कुल विद्यार्थीमा १५ प्रतिशत जति जनजातिका छन् । पाँच प्रतिशतमात्र बाह्मण क्षेत्री समुदायका छन् ।”
अनिवार्य बनाइनुपर्ने संस्कृत शिक्षालाई हेय भावबाट हेरिने प्रवृत्ति आममानिसमा रहेको उनको गुनासो छ ।
संस्कृत विद्यालय भन्नेबित्तिकै सबै विषय संस्कृतमा पढ्नुपर्छ कि भन्ने भावनाले पनि संस्कृत विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नसकिएको बताउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेपालीले भने – “कक्षा ६ बाट माथि कुल ८०० पूर्णाङ्कमध्ये २०० अङ्कको मात्र संस्कृत पढ्नुपर्छ । अन्य साधारण माविमा जस्तै हो भन्ने जानकारीसमेत नहुने गरेका कारण पनि विद्यार्थी सङ्ख्यामा कमी आएको हुन सक्छ ।”
पूर्वीय संस्कृतिको मुख्य भाषाका रुपमा संस्कृत भाषा रहे पनि यसको अध्ययन तथा अनुसन्धानको दायरालाई फराकिलो पार्न नसकिएको प्राध्यापक जगन्नाथ रेग्मीको स्वीकारोक्ति छ ।
अनुसन्धानको क्रमलाई बढाउँदै गएमा मात्र पनि यसको महत्व तथा गरिमा बढ्दै जानेतर्फ राज्यको ध्यान पुग्नुपर्ने उनले बताए।
पछिल्लो समयमा संस्कृत भाषालाई मूलधारमा ल्याउनका लागि कक्षा १० सम्म संस्कृत भाषा अनिवार्य गरिनुपर्ने विषय फाट्टफुट्ट चर्चा आउने गरेको छ । पाठ्यक्रममा संस्कृत विषयलाई समावेश गर्नुका साथै लोकसेवा आयोगको पाठ्यक्रममा संस्कृत शिक्षाका विषय समावेश गरिदिए यसप्रति सर्वसाधारणको आकर्षण बढ्ने यस क्षेत्रका विज्ञहरु बताउँछन् । रासस