राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेल र नेपालस्थित चिनियाँ राजदूत यु होङबीच सोमबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा भएको भेटमा भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको प्रगतिका साथै द्विपक्षीय सहयोगका विषयमा कुराकानी भयो।
भेटका क्रममा चिनियाँ राजदूत होङले भूकम्प प्रभावित जिल्लामा भइरहेको पुनर्निमाणप्रति चासो राख्दै विद्यालय, स्वास्थ्य संस्था र ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा थप सहयोग गर्न आफूहरु इच्छुक रहेको बताइन्।
भेटमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले भूकम्पपछिको अवस्थामा चीनले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै पुनर्निर्माणको अभियानलाई सफल बनाउन छिमेकी मुलुकसँगको सहकार्य अनिवार्य भएको उल्लेख गरे।
राजदूत होङले चिनियाँ सहयोगमा सञ्चालित परियोजनाहरुलाई दुबै मुलुकको संयुक्त पहलमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै असल छिमेकीको नाताले नेपाललाई गर्दे आएको सहयोगलाई आफ्नो मुलुकले आगामी दिनमा पनि निरन्तरता दिने बताए। पोखरेलले विभिन्न प्रक्रियागत र कानुनी झमेलाका कारण पुनर्निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेको भन्दै यसलाई द्रुत गतिमा लैजानेबारे आफूले पहल गरिरहेको बताए। उनले पुनर्निर्माणको कामलाई तिव्रता दिन विकास साझेदार संस्थासँगको सहकार्यलाई उच्च महत्व दिएर अघि बढेको उल्लेख गरे।
सोमबारै सिइओ पोखरेलले फ्रान्सका राजदुत यभिस कारमोनासँग पनि भेटवार्ता गरेका छन। भेटमा राजदूत कारमोेनाले शिक्षा क्षेत्रको पुनर्निर्माणमा थप सहयोग गर्न आफुहरु इच्छुक रहेको बताए। सो क्रममा प्राधिकरणका सिइओ पोखरेले पुनर्निर्माणको गतिलाई तिव्रता दिन सवैै बिकास साझेदारहरुसंग समन्वय गरेर अघि बढ्ने बताए।