वार्षिक रुपमा विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्यामध्ये ६५ लाख वायु प्रदूषणका कारण हुने गरेको छ।
प्रदूषणकै कारण मृत्यु हुने कुल जनसङ्ख्याको ११ दशमलव ६ प्रतिशत रहने गरेको देखिएको छ। वार्षिक रुपमा संसारभरि पाँच करोड ६० लाख ३४ हजार ४८३ जनाको मृत्यु हुने गरेको पाइएको छ।
नेपालजस्ता विकासोन्मुख देशमा अधिकरुपले प्रदूषणकै कारण मृत्यु हुने मानिसको सङ्ख्या भने डरलाग्दो स्थितिमा पुगेको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा उल्लेख छ। यो सङ्ख्या नेपालको परिप्रेक्ष्यमा प्रदूषणका कारणले ९० प्रतिशत मानिसको ज्यान जाने गरेको पाइएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा खेम कार्कीका अनुसार एसिया क्षेत्रका देशमा प्रत्येक तीन मानिसको मृत्यु हुँदा दुई जना वायु प्रदूषणकै कारण हुने गरेको छ। प्रदूषण अधिक रुपमा विद्युत्भार कटौतीका समयमा हुने गरेको उनले बताए।
यसैगरी काठमाडौँ उपत्यकाका हकमा यहाँ सञ्चालित इँटाभट्टाबाट अधिकमात्रामा प्रदूषण बढ्दै गएको उनको भनाइ छ। उनका अनुसार प्रदूषण न्यून गर्नका लागि व्यवस्थित रुपमा कलकारखाना तथा उद्योग सञ्चालन गरिनुपर्छ।
विद्युत्भार कटौतीको समयमा चलाइने जेनेरेटरका कारण आउने धुवाँले वायु प्रदूषणमा वृद्धि भइरहेको जनाइएको छ। उक्त समयमा ५७ दशमलव ५४ प्रतिशत वायु प्रदूषण हुने गरेको अध्ययनले देखाएको छ। उनका अनुसार वायु प्रदूषण मध्याह्नभन्दा बिहान बेलुका अधिकतम रहने गरेको छ। नेपालमा मात्रै बर्सेनि एक लाख ३६ हजार मानिसको प्रदूषणकै कारण मृत्यु हुने गरेको उनले बताए।
प्रदूषणले मानिसको स्वास्थ्यमा गहिरो असर पारिरहेको बताइएको छ। यसबाट मुटु, दमखोकी र फोक्सोमा अधिकतम असर पर्ने गरेको उनको भनाइ छ। उनका अनुसार प्रदूषणले ७२ प्रतिशत मुटु, १४ प्रतिशत दमखोकी र १४ प्रतिशत फोक्सोमा रोग लाग्ने गरेको छ। प्रदूषणकै कारणले निमोनिया रोगमा वृद्धि तथा ट्राफिक प्रहरीलाई पनि अधिक समस्या ल्याएको पाइएको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वायु विशेषज्ञ भूपेश अधिकारीका अनुसार वायु प्रदूषणले मानिसको जीवनयापनमा थप चुनौती ल्याएको छ। यसले अकालमा बर्सेनि हजारौँ मानिसले ज्यान गमाउनु परेको उनले बताए।
प्रदूषणले अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइजहाज अवतरणमा समेत समस्या आइरहेको उनको भनाइ छ। हवाइजहाजको दृश्यपनमा समस्या आउनाले अवतरणमा जोखिम रहेको उनले बताए।
नेपाल जस्तो अविकसित देशमा प्रदूषण न्यून गर्न सम्बधित निकायको बेलैमा ध्यान नगए यसले दीर्घकालीन समस्या ल्याउनेमा उनले चिन्ता व्यक्त गरे। प्रदूषण कम गर्ने उपायको खोजी गरेर समाधानतर्फ जानुपर्नेमा उनको जोड छ।
उनका अनुसार मानिसले खोक्दासमेत वायु प्रदूषणमा असर देखिएको छ। खासगरी सडकमा गुड्ने यातायातका साधनबाट अधिक रुपमा दिनानुदिन वायु प्रदूषण वृद्धि भइरहेको उनको तर्क छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा डा जीवराज पोखरेलका अनुसार वायु प्रदूषण नियन्त्रणका लागि राज्यले गर्ने लगानीमा वृद्धि गरिनुपर्छ। प्रदूषण न्यून गर्न नास्टले समेत समय समयमा आवश्यक भूमिका निर्वाह गरिरहेको उनले बताए। प्रदूषण नियन्त्रणम नागरिकलगायत राजनीतिक इच्छाशक्ति हुनु जरुरी रहेको उनको भनाइ छ। रासस