रुपन्देहीको देवदहमा भएको सडक दुर्घटनामा आज एकजनाको मृत्यु भएको छ। आज दिउँसो टिपरको ठक्करबाट मोटरसाइकलमा सवार देवदह– ४, भवानीपुर निवासी खिमबहादुर पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले लु १ ख ४६६१ नं को टिपरले देवदह– ५ सिङ्गाहा भित्री सडकमा लु ६ प ४६४९ नं को मोटरसाइकललाई ठक्कर दिएको जनाएको छ।
टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका बुद्धिराज न्यौपाने घाइते भएका छन्। उनको हात कामै नलाग्ने गरी थिचिएको देवदह प्रहरी चौकी प्रमुख भक्ति पाण्डेले जानकारी दिए।
ठक्करबाट मृत्यु भएका पुन देवदहको भवानी मावि विद्यालय व्यवस्थापन समितिका सदस्य हुन्। ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ। रासस