पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जको परिवेशमा २०११ सालदेखि पत्रकारिता प्रारम्भ गरी पत्रकारितामै जीवन समर्पित गरेका वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको जीवनमा आधारित वृतचित्र ‘चाचाजी’ निर्माण गरिएको छ।
‘चाचा’ नामले परिचित पत्रकार गुप्ताका जीवनका विभिन्न पक्ष उठान गरी वृतचित्र तयार गरेको वृतचित्रका निर्माता/निर्देशक सञ्चारकर्मी सन्तोष रेग्मीले आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिए।
८८ वर्षीय पत्रकार गुप्ता आज पनि पत्रकारितामा उत्तिकै सक्रिय छन्। आफै समाचार लेख्ने, कम्पोजिङ गर्ने, छाप्ने र वितरणसम्मको काम आफैँ भ्याउने उनको परिचय आज पनि उही रुपमा जारी छ ।
पत्रकारितामा समर्पित हुँदा २०१७ सालयता गुप्ताले भोग्नु परेका विभिन्न समस्या, यातना, अभाव, सङ्घर्ष वृत्तचित्रमा समेटिएको सञ्चारकर्मी रेग्मीले बताए।
विसं २०१७ पछि मिसन पत्रकारिता सुरु गर्नुभएको र त्यसका लागि आफ्नै सम्पादनमा २०३१ मा साप्तिाहिक ‘किरण’को प्रकाशन थाल्नुभएका गुप्ताको पत्रकारिताको यात्रा अनवरत रुपमा जारी छ।
पत्रकार गुप्तालाई नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता सेनानीका रुपमा सम्मान गरिसकेको छ भने प्रेस काउन्सिल नेपालको गोपालदास पत्रकारिता पुरस्कारलगायतका दर्जनौं सम्मान र पुरस्कारबाट गुप्ता सम्मानित भइसकेका छन् । रासस