जिल्लाको सुदूरदक्षिणी गाविस वहाकीमा रहेको वहाकी सामुदायिक क्याम्पस आर्थिक र भौतिक पूर्वाधारको अभावमा सङ्कटमा परेको छ।
विसं २०६७ देखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालन गरेको क्याम्पसका प्राचार्यको तलब सुविधादेखि भौतिक संरचनाको विकासका लागि आर्थिक समस्या उत्पन्न भएको हो। ग्रामीण क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन तथा बढ्दो बसाइँसराइ रोक्ने उद्देश्यले क्याम्पस स्थापना गरिए पनि पछिल्लो समय विभिन्न समस्या उत्पन्न हुन थालेको छ।
त्रिविले मानविकी र शिक्षा सङ्कायतर्फ अध्यापनका लागि अनुमति दिन तयार भए पनि आर्थिक स्रोतको अभावमा जनशक्तिदेखि भौतिक पूर्वाधार तयार पार्न नसकिएको क्याम्पस प्रमुख एकनारायण भट्टराईले बताउ। हाल उच्च माविले दिएको भवनमा कक्षा सञ्चालन गरिए पनि क्याम्पसको आफ्नै भवन नहँुदा समस्या भएको उनको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयबाट बर्सेनिजसो केही रकम अनुदान स्वरुप आउने भएपनि पर्याप्त रकम नभएकाले भवन निर्माण गर्न नसकिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमलप्रसाद भुसालले बताए।
भवन निर्माण र प्राचार्यलाई तलब सुविधा दिन रकमको अभाव भइरहेको र आफूहरु स्थानीयस्तरदेखि विभिन्न स्थानमा स्रोतको खोजीका लागि भौँतारिरहेको उनले बताए। जिल्लाको सुदूरदक्षिणी पाँच गाविस तथा छिमेकी गाविस पूर्तिघाट र सेतीवेणीबाट समेत स्नातक तहमा बिए र बिएड अध्ययनको लागि विद्यार्थी आउने गरेका छन् । बर्सेनि विद्यार्थीको सङ्ख्या बढ्दै गएता पनि अध्यापन गराउने शिक्षकलाई नै तलब खुवाउन समस्या पर्ने गरेको छ ।
विद्यार्थीबाट शुल्क लिएर पनि क्याम्पस सञ्चालन गर्न सम्भव नभएको क्याम्पस सञ्चालक समितिले जनाएको छ । उक्त क्षेत्रका विद्यार्थी उच्च मावि तहसम्मको अध्ययनपछि माथिल्लो तहको शिक्षा लिन जिल्ला छाडेर जानुपर्ने बाध्यतालाई हटाउन क्याम्पस सञ्चालन गरिए पनि समस्या उत्पन्न भएको बताइएको छ।
हाल वहाकी तथा शालिग्राम गाविसले केही बजेट छुट्याएता पनि त्यसले क्याम्पस सञ्चालन गर्न पर्याप्त नभएको सञ्चालक समितिले जनाएको छ । क्याम्पसको नाउँमा भने हाल पाँच रोपनी जग्गा खरिद गरी चारकोठे भवन निर्माण गर्न लागेको भुसालले बताए । विश्वविद्यालय अनुदान कोषबाट भवनका लागि २५ लाख रुपैयाँ विनियोजन भएको हुँदा क्याम्पसले जग्गा खरिद गरी भवन निर्माण गर्न लागेको उनको भनाइ छ।
उक्त क्याम्पसमा अहिले १०० जनाको हाराहारीमा विद्यार्थी सङ्ख्या रहेको र नवनिर्मित भवन पूरा भएपछि थप विद्यार्थी सङ्ख्या बढाउन सकिने व्यवस्थापन समितिको अनुमान समेत छ। क्याम्पस सञ्चालनपछि गरिब र निमुखा परिवारका विद्यार्थीलाई फाइदा पुगेको स्थानीयबासीको भनाइ छ। रासस