नेपालको सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले आजबाट आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ।
अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले मन्त्रालयले दिएको ३० लाख रुपैयाँबाट फार्मेसी सुरु गरिएको बताए।
उनले भने, “फार्मेसीबाट बिरामीले बजार मूल्यभन्दा सस्तोमा गुणस्तरीय औषधी खरिद गर्न सक्नेछन्। अहिले उपलब्ध नभएका औषधी बिस्तारै थप गर्दै जानेछौँ।” सरकारी अस्पतालले आफैँले फार्मेसी सञ्चालन गर्नुपर्ने सरकारले केही वर्षअघि नै निर्णय गरेको थियो। तर धेरै अस्पतालले विभिन्न कारण देखाउँदै फार्मेसी सञ्चालनमा ल्याएका थिएनन्।
स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा अनिवार्य रूपमा अस्पताल आफैँले फार्मेसी सञ्चालनका लागि छुट्टै बजेट विनियोजन गरेर पठाएपछि सरकार मातहतका अस्पताललाई अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्नैपर्ने बाध्यता सिर्जना भएको छ।
यसअघि सर्वोच्च अदालतले पनि सरकारी अस्पतालले अस्पताल परिसरमा आफ्नै फार्मेसी सञ्चालनमा ल्याउन आदेश दिइसकेको छ। यसअघि सरकारी अस्पतालभित्र निजी संस्थाले फार्मेसी सञ्चालन गर्दा सेवाग्राही बढी पैसा तिरेर औषधी किन्न बाध्य भएका थिए। निजी फार्मेसीले सरकारी अस्पतालभित्र औषधी पसल राख्न अस्पतालका पदाधिकारीलाई कमिसन खुवाउने चलन थियो। सर्वोच्च अदालतले आदेश दिए पनि निजी फार्मेसीको दबाबमा सरकारी अस्पतालले आफ्नो छुट्टै फार्मेसी सञ्चालन गर्न सकेको थिएन।
बिरामीले एउटै औषधीलाई फार्मेसीपिच्छे फरक फरक मूल्य तिर्नुपर्ने बाध्यता थियो। अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्दा निजी फार्मेसीले औषधीलगायत अन्य सामग्रीमा लिएको मूल्यभन्दा २० देखि ४० प्रतिशतसम्म छुट हुनेछ।
मन्त्रालयले केन्द्रीय अस्पतालमा ३० लाख, क्षेत्रीय अस्पताल २५, उपक्षेत्रीय अस्पताल २० र अञ्चल अस्पतालमा १५ लाख रुपैयाँ बीउ पुँजीका रूपमा पठाइसकेको छ।
यसैगरी जिल्ला अस्पताललाई कुल तीन करोड ४४ लाख रुपैयाँ फार्मेसी सञ्चालनका लागि निकासा भइसकेको मन्त्रालयले जनाएको छ। रासस