यु–ट्युबले अब रिमोट समातेर फ्याट–फ्याट च्यानल परिवर्तन गर्ने समय पनि पुरानो बनाइसक्यो। त्यसभन्दा निकैअघि नेपालमा टेलिभिजन स्थापना निम्ति गरिएका संघर्षको बयान त अब दन्त्यकथाजस्तै लाग्न थालेको छ।
यसै शनिबार आउन लागेको पत्रकार दुर्गानाथ शर्माको जीवनी ‘छाल’ त्यस्तै दन्त्यकथाको संग्रह हो। उनीसँग के मात्र अनुभव रहेनछ? गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजन।
गोरखापत्रका निम्ति विदेशबाट महँगो क्यामरा आउनेबित्तिकै सबैभन्दा पहिले प्रधानमन्त्रीको तस्बिर खिच्न बालुवाटार पुगेका थिए, पत्रकारहरू। प्रधानमन्त्री तुलसी गिरीलाई त्यो क्यामरा मनपरेछ। उनले भनेछन्, ‘यो क्यामरा अलिदिन मलाई नै छाडेर जानू।’
गोरखापत्रका पत्रकारले के गरुन्? क्यामरा छाडेछन्।
रेडियोबाट गिरी प्रधानमन्त्री नरहेको जानकारी आउँदासम्म पनि त्यो क्यामरा फिर्ता नपाउँदाका सकस शर्माले आफ्नो पुस्तकमा समेटेका छन्।
कालान्तरमा शर्मा रेडियो नेपालको जागिरे बने। त्यहाँ फेरि उनै प्रधानमन्त्री तुलसी गिरीको मोटर दिनैपिच्छे आउन थाल्यो। रेडियोकी प्रस्तोता सराह योञ्जन (पछि श्रीमती गिरी) लाई लिन त्यो मोटर अगाडि उभिनेबित्तिकै कार्यालयमा हलचल मच्चिन्थ्यो। झन्डा हल्लिरहेको प्रधानमन्त्रीको मोटरसँगै हाकिमको कक्षमा सुन्दरी सराह विदा माग्न आइपुग्थिन्। नपठाउँ भने त्यत्रा शक्तिशाली प्रधानमन्त्रीको मोटर। पठाउँ भने सराहले सञ्चालन गर्ने कार्यक्रम अब कसले जिम्मा लिने? रेडियोका हाकिम र कोठामै रहेका शर्माको आँखा जुध्यो। सराह विदा पाएर गइन्।
सिंहदरबार जल्दा गोरखापत्रको निम्ति रिपोर्टिङ गरेका संवाददाताको पञ्चायतकालीन यस्ता थुप्रै अनौठा र अप्ठेरा घटनाहरूको वर्णन छ पुस्तकमा।
चाहे बेलायतकी महारानीको भ्रमण बेला ‘उहाँलाई रातो गुलाब मनपर्छ’ भनेर लेख्दा त्यो बेलाको लेटर प्रेसले एउटा अन्तिम अक्षर नखोल्दा छाडा अर्थ लागेर गोरखापत्रमा मच्चिएको आतंक होस् वा भारतका राष्ट्रपति जाकिर हुसैन आउँदा ‘लेटर डा. जाकिर हुसैन सेड’ भनेर लेखिनुपर्ने ठाउँमा ‘लेटर’ बाट पछाडिको आर छुट्दा (स्वर्गीय अर्थ लाग्ने गरी) राइजिङ नेपालमा गएको भूइँचालो। पुस्तकमा ती आतंक र भुइँचालाहरूको वर्णन छ।
दुर्गानाथ शर्मा टेलिभिजनबाटै चिनिएका मात्र होइन, नेपालमा टेलिभिजन भित्र्याउने थोरै ‘पायोनियर’ मध्येको नाम पनि हो। डिजिटल प्रविधिले चिहाउन पनि नपाएको त्यो युगमा नेपालले टेलिभिजनका निम्ति कस्तो संघर्ष गरेको थियो भन्ने जानकारीको दस्तावेज पनि यो पुस्तक बन्न पुगेको छ।
...
२०४२ भदौ दोस्रो साता। दिउँसो ११ बजे। जब विमानले अस्ट्रेलियाको निम्ति बैंककको भूमि छाड्यो, दुर्गानाथ शर्मा एउटा तनावबाट मुक्त भएर अर्को तनावमा प्रवेश गर्दै थिए। ठीक दुई घन्टाअघिसम्म उनको हातमा अस्ट्रेलियाको भिसा थिएन। बैंककस्थित होटलबाट ९ बजे दूतावास पुगेर भिसासहितको पासपोर्ट बुझेपछि उनी दूतावासबाटै सोझै विमानस्थल आइपुगेका थिए।
यिनले टेलिभिजनमा कार्यक्रम बनाउन सक्छन् भन्ने ठ्याम्मै विश्वास नभएकाले राजा वीरेन्द्रको राजकीय भ्रमणमा सामेल नगरिएका यी पत्रकार यसरी दौडादौडमा परेका थिए।
‘नेपालमा टेलिभिजनको प्रसारण सुरु गर्न हामी एउटा मौकाको प्रतिक्षामा थियौं,’ आफ्नो संस्मरणात्मक पुस्तक प्रकाशनको सन्दर्भमा शर्माले सेतोपाटीसँग भने, ‘त्यो राजकीय भ्रमण हाम्रा निम्ति अवसर थियो।’
आजको जस्तो सञ्चारको विकास भइसकेको थिएन। भू–उपग्रह चाहिन्थ्यो। त्यसैले पहिले अस्ट्रेलियाको भू–उपग्रह केन्द्रसँग अनुमति मागियो। उनीहरूले प्रयोग गर्न दिने भए। अर्थात् त्यहाँबाट पठाइएका सामग्री अब हाम्रो बलम्बुस्थित दूरसञ्चारको केन्द्रमा उपलब्ध हुन सक्थ्यो। यति गरिसकेपछि भिडियो क्यामरा किन्न र भ्रमण खर्च जुटाउन सरकारसँग बजेट माग गरियो। उनीहरूको योजनामाथि कसैलाई विश्वास लागेन।
सरकारले पनि तत्काल पैसा दिएन। नीर शाहले व्यक्तिगत हिसाबबाट बैंकसँग ऋण लिए। त्यसपछि सुरु भएको थियो अस्ट्रेलिया भ्रमणको तयारी।
शाहसँग पहिलेदेखि नै भिसा रहेकाले उनी हङकङ पुगेर क्यामरा किन्दै सिड्नी पुग्ने योजना बन्यो। भ्रमण दलमा थप दुई जना थिए, पत्रकार शर्मा र क्यामरापर्सन श्याम चित्रकार। उनीहरू भने बैंकक पुगेर भिसा लिएपछि मात्र उता जान सक्थे।
‘अन्य सञ्चारकर्मी राजासँगै यात्रा गरिरहेको त्यो भ्रमणमा हामीलाई पूरै बेवास्ता गरिएको थियो,’ शर्माले भने, ‘यिनीहरूले के पो गर्लान्? भन्ने अविश्वास राखेरै हेर्थे।’
यस्तोमा केही गरेर देखाउने आँट बोकेका शर्मा आफैं पनि बेलाबेला ‘सकिन्छ कि सकिँदैन’ भनेर सशंकित हुन्थे।
हुन पनि त्यतिबेला नेपाल टेलिभिजनसँग केही थिएन। लाजिम्पाटमा रहेको एउटा कोठामा बसेर योजना बनाउने काम हुन्थ्यो। त्यसलाई अलिअलि भरथेग गरिदिएका थिए हरिशरण श्रेष्ठ र कृष्णदास श्रेष्ठले। उनीहरू दुवै अमेरिकी दूतावासमा सञ्चारसम्बन्धी प्राविधिक काम गर्थे। अमेरिकी दूतावासमा भएका केही सामग्री ल्याएर प्रसारणको व्यवस्था गर्ने हरिशरणलाई नै नेपालको टेलिभिजन प्रसारणका पहिलो प्राविधिक बताउँछन् शर्मा।
यसरी लाजिम्पाटको स्टुडियोबाट प्रसारण गरिएका सामग्री त्यतिबेला मुश्किलले सयवटाजति टेलिभिजन रहेको काठमाडौंका घरसम्म पुग्थे। राजाको भ्रमण अझ बढीले हेरुन् भनेर टेलिभिजनसँग रहेको तीनवटा सेटलाई रत्नपार्क, भुगोलपार्क र हनुमानढोकामा ‘सार्वजनिक केन्द्र’ जस्तो बनाएर देखाउने बन्दोबस्त गरिएको थियो।
‘दुई दिनमा राजाको भ्रमण टोली अस्ट्रेलिया पुग्दै थियो,’ शर्मा भन्छन्, ‘त्यसभन्दा अगाडि नै त्यो मुलुकको चिनारी गराउने एउटा डकुमेन्ट्री तयार पार्ने योजनाबारे म विमानमै सोच्न थालेँ।’
शर्माले काठमाडौं छाड्नुअगावै गोरखापत्रले ‘राजाको अस्ट्रेलिया भ्रमणसँगै नेपालमा टेलिभिजनको नयाँ इतिहास प्रारम्भ हुँदैछ’ भनेर समाचार छापिसकेको थियो। त्यसले पनि दबाब बढाएको थियो। यता प्रचार भइसक्यो उता आफूहरूसँग न क्यामरा छ न त प्रविधि। श्याम चित्रकारले बोकेको एउटा भिएचएस क्यामरा थियो। त्यो व्यावसायिक प्रयोजनमा कामै नलाग्ने।
‘यस्तो अवस्थामा मैले काठमाडौं छाड्नुअगावै सिड्नीस्थित एबिसी (अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन) सँग कुरा गरिसकेको थिएँ,’ उनी भन्छन्, ‘ओर्लिनेबित्तिकै होटलमा झोला राखेर सरासर एबिसीको कार्यालय पुगेँ।’
एक जना भिडियो सम्पादक यसै कामका निम्ति जिम्मा लगाइएको थियो। उनीहरू सरासर सम्पादन कक्षमा पुगे।
‘पर्सि राजारानी ओर्लनुअगावै भोलि बेलुकी नै हामी क्यानबेरा उड्दैछौं,’ शर्माले त्यहाँका भिडियो सम्पादकलाई भनेछन्, ‘त्यसअगावै हामीलाई यहाँ भएका फुटेज र सम्पादन कक्ष भोलि एक दिनलाई चाहियो।’
भोलिपल्ट चित्रकारकै भिएसएस क्यामराले खिचिएका सिड्नीका दृश्य बोकेर फेरि एबिसी पुगे। काट्दा र जोड्दा नै विमान उड्ने बेला भइसकेको थियो। ती सम्पादकले नै ‘रकेटको गति’ मा कार कुदाएर उनीहरुलाई विमानस्थल छाडिदिए। तै विमान एक घन्टा ढिला भएकाले उनीहरु २५ मिनेट अबेर पुग्दा पनि छुटेको थिएन।
क्यानबेरा पुगिसकेपछि अर्को अप्रिय खबर सिड्नीबाट आयो। भर्खरै विमानबाट ओर्लिएका नीर शाहको क्यामरा नै हराएछ। हङकङमा किनिएको त्यो युम्याटिक क्यामरा शाहले एयर इण्डियालाई सुम्पेका रहेछन्। त्यो हराएपछि अब केले यो भ्रमणको दृश्यांकन गर्ने?
क्यानबेरास्थित एबिसी टेलिभिजनको कार्यालयले श्याम चित्रकारको क्यामराबाट खिचिएका सामग्री भू-उपग्रहबाट पठाउन मिल्दैन भनिसकेको थियो।
‘हामी तपाईंको देशबाट टेलिभिजन प्रसारणको श्रीगणेश गर्न नेपालदेखि आएका हौं। हाम्रो क्यामरा काम लाग्दैन। तपाईं आफ्नो क्यामरा पनि दिन सक्नुहुन्न। अब यसको विकल्प बताइदिनोस्’ भनेर आग्रह गरेपछि एक जना कर्मचारीले बजारमा क्यामरा पाइने पसलको ठेगाना दिए।
त्यो पसल ९ बजे मात्र खुल्छ, उता राजा चढेको विमान ११ बजे ओर्लँदैछ। शर्मालाई रातभर निद्रै लागेन। काठमाडौंका अखबारमा निस्केका समाचार र हेडलाइन सम्झँदा झन् चस्स घोच्न थाल्यो।
ठ्याक्क नौ बजे पुग्दा पसल खुलिसकेको थियो ।
क्यामरा पाइयो। बढेमानको युम्याटिक क्यामरा जसलाई श्याम चित्रकारले चलाउनु त परको कुरा त्यतिन्जेलसम्म देखेका पनि थिएनन्। उनले क्यामरा हातमा लिएर घरि यता त घरि उता पल्टाउन थाले। जताततै स्विच र बटन थिए। कसलाई चलाउँदा के हुन्छ भन्ने थाहै छैन।
‘यो क्यामराको म्यानुअल पाइन्छ कि?’ केही भेउ नपाएपछि चित्रकारले भनेछन्।
शर्माले पसलेसँग अंग्रेजीमा म्यानुअल उपलब्ध गराइदिन अनुरोध गरे। पसलेले त्यो पनि छैन भनिदिए। अब के गर्ने?
‘यसको ह्वाइट ब्यालेन्स कसरी गर्ने,’ चित्रकारको जिज्ञासा शर्माले फेरि ती गोरा पसलेलाई राखिदिँदा अब चाहिँ हप्काइ खाएछन्।
‘म पैसा लिएर तपाईंलाई क्यामरा दिन मात्र सक्छु,’ ती पसलेले भनेछन्, ‘म क्यामराम्यान नभएकाले तपाईंका अरु कुनै पनि जिज्ञासाको उत्तर मसँग छैन।’
शर्माले चित्रकारलाई हेर्दै ‘दाइ, क्यासेट हाल्ने, ब्याट्री हाल्ने र अन-अफ गर्नेसम्मको काम त तपाईंले जान्नुभएको होला नि?’ भनेर सोधे।
चित्रकारले घाँटी हल्लाएछन्।
‘त्यसो भए बाँकी सबै कुरा बिर्सेर केवल पशुपतिनाथलाई सम्झनुस् र खिच्नुस्,’ उनले भनेछन्, ‘जे होला होला, देखा जाएगा।’
त्यसपछि उनीहरु कुदाकुद विमानस्थलतर्फ लागे। विमान ओर्लिसकेको थियो। त्यहाँ बेतोडले हावा चलिरहेको थियो। यस्तो बेला शर्माको टोलीले क्यामरा बोकेको देखेपछि अष्ट्रेलियन पत्रकारहरु पनि चकित परेछन्। नेपालमा पनि टेलिभिजन रहेछ भनेर थाहा पाएका उनीहरु अनेक जिज्ञासा राख्न थाले।
अर्कोतिर यसरी हावा चलेका बेला क्यामराले आवाज टिप्न सकिरहेको थिएन। त्यस्तो स्थितिमा माइक्रोफोनलाई ‘मफ्लर’ले ढाक्नुपर्ने हुन्थ्यो। अब त्यो ‘मफ्लर’ कताबाट ल्याउने?
शर्माले पाकेटमा हात लगेर रुमाल निकाले। त्यही रुमालले माइक्रोफोनलाई बेरिदिए।
यसैबीच त्यहाँ राजाको सवारी भयो। कुदाकुद मच्चियो। विमानस्थलको सानो औपचारिक कार्यक्रमपछि दिनभरि अनेक भेटघाट, वार्ता र घुमफिरको दृश्यांकन जारी रह्यो। यसरी खिचिएका दृश्य भरे काम लाग्ने हो वा होइन भन्ने थाहा नभए पनि उनीहरुले राजाको पछि पछि हिँडेर सबै कार्यक्रम खिच्न भने छाडेनछन्।
‘चेक गर्ने उपकरण पनि नहुँदा त्यो क्यामराले खिचिरहेको छ वा छैन भन्नेबारे हामी पूर्णत अनभिज्ञ थियौं,’ शर्मा भन्छन्, ‘तै पनि भोक र तिर्खा माया मारेरै खिच्न छाडेनौं।’
प्रधानमन्त्रीले दिएको रात्रिभोजमा राजाको प्रत्युत्तर भाषण सकिनेबित्तिकै उनीहरु कुदाकुद एबिसीको स्टुडियो पुगे। सम्पादन कक्षमा गएर क्यासेट हाले। के हुन्छ थाहा छैन। सबै अधैर्य भएर पर्खिरहेका थिए। उता बसेका प्राविधिकले स्विच थिच्नासाथ अचानक पर्दामा राजा वीरेन्द्र र रानी ऐश्वर्या मुसुक्क हाँस्दै विमानबाट ओर्लेको देखियो।
‘त्यतिबेला ठूलै युद्ध जितेको अनुभूति भएको थियो,’ शर्मा भन्छन्, ‘लामो समयदेखि रोकिएको रक्तसञ्चार फेरि सुचारु भएजस्तो लाग्न थाल्यो।’
सिड्नीमा तयार पारिएको वृत्तचित्र र राजकीय भ्रमणका कार्यक्रम तत्कालै भू उपग्रहमार्फत् नेपाल पठाइयो। यता नेपालमा पनि बलम्बुस्थित टेलिकमको केन्द्रले ती दृश्य पाएको जानकारी गरायो। यसरी नेपाल टेलिभिजनको इतिहासमा विदेशबाट पठाएको पहिलो समाचार प्रसारण भएको थियो।
‘त्यो रात हामी होटल गएनौं,’ शर्मा भन्छन्, ‘बारमा गयौं र अबेरसम्म वियर पिउँदै नेपाल टेलिभिजनका आगामी खाकाहरु कोर्न थाल्यौं।’
अर्को विहान फेरि अर्को आश्चर्यबाट सुरु भयो। अष्ट्रेलियाका अखवारहरुमा राजारानीको तस्बिर र क्याप्सन मात्र थियो। त्यसको ठीक तल त प्राथमिकताका साथ छापिएको समाचार दुर्गानाथ शर्माहरुको पो थियो। ‘राजाको अष्ट्रेलिया भ्रमणसँगै नेपालका जनताले पहिलोपटक टेलिभिजन हेर्न पाए’ र ‘मफ्लरको अभावले टेलिभिजनका रिपोर्टरले आफ्नो रुमाल माइक्रोफोनमा छोपेर काम चलाए’ जस्ता जानकारी राखेर त्यो समाचार बनाइएको थियो।
‘सुरुमा त अलिक अप्ठेरोजस्तो भयो,’ शर्मा भन्छन्, ‘तर, हामी हतोत्साही भएनौं। बरु उल्टो प्रेरणा पो दियो।’
अष्ट्रेलियाको औपचारिक कार्यक्रम सकिएपछि भ्रमणदल अनौपचारिक हिसाबले छुट्टी मनाउन ‘ह्यामिल्टन आइल्याण्ड’ जाँदै थियो। त्यो अष्ट्रेलियाको असाध्यै महँगो पर्यटकीय महत्वको टापु हो।
‘तर हामी त भ्रमणदलका सदस्य थिएनौं,’ शर्मा भन्छन्, ‘यस्तोमा के गर्ने भनेर नीर शाहजीले योजना बुन्न थाल्नु भयो।’
त्यो भ्रमणमा राजाका संवाद सचिव चिरनशम्शेर पनि साथमै थिए।
‘उनमा के इगो जागेको थियो थाहा छैन,’ शर्मा भन्छन्, ‘हामीलाई पटक्कै रुचाइरहेका थिएनन्।’ सुरुमै ‘यिनले गर्न सक्दैनन्। बेकारमा बेइज्जत हुन्छ’ भन्ने ठानेरै उनले आफूहरुलाई सञ्चारकर्मीका रुपमा भ्रमणदलमा समावेश नगरेको शर्मा बताउँछन्।
‘शायद नीर शाहसँग कुनै मतभेद थियो होला,’ शर्मा अनुमान लगाउँछन्, ‘त्यतिबेला दरबारमा यस्ता कुराहरु भइरहन्थे।’
संवाद सचिवले मन नपराए पनि खूद राजाका अङ्गरक्षक ताराबहादुर थापासँग चाहिँ नीर शाहको पक्का दोस्ती थियो।
ताराबहादुरलाई नै पछ्याउँदै नीर शाह एकछिन हराए। ‘लौ हामी पनि जाने भयौं,’ नीर शाह हौसिँदै शर्मा र चित्रकारनजिक आइपुगे। कुमार खड्गविक्रम शाहका भाइ नीर शाहलाई राजा वीरेन्द्रले सँगै लैजाने संकेत दिएका रहेछन्।
परराष्ट्र मन्त्रालयका प्रतिनिधिले टेलिभिजनका यी तीन जनालाई उनीहरुको सामान रिसेप्सनमा बेग्लै राख्न लगाएका थिए। यसरी भ्रमणदलका अन्य सदस्यको टिममा उनीहरुको सामान हतार हतार समावेश गरियो।
ह्यामिल्टन आइल्याण्डका रोमाञ्चक क्षणहरु सम्झँदा दुर्गानाथ शर्मा अहिले पनि रमाउछन्। त्यो अत्यन्त सुन्दर अनकन्टार टापुमा उनीहरुका निम्ति केवल घुम्ने र खाने कार्यक्रम मात्र थियो।
दिनभरि समुद्रको किनारमा क्याम्प बनाएरै राखिन्थ्यो। राजा रानी र भ्रमणदलका सदस्यहरुको दुई बेग्लाबेग्लै क्याम्प थिए। मनलागेको बेला किनारमा बसेर उच्चस्तरको खानपिनको मजा लिने र मनलागेको बेला छेउमा राखेको मोटरबोट चढेर सयर गर्न जाने। अलिक पर सिसाजस्तो भुइँमा टेकेर पानी मुनीको अत्यन्त रोचक दृश्यहरु हेर्ने सुविधा पनि त्यहाँ थियो। बोटमै पनि खानपिनको राम्रो प्रवन्ध गरिएको थियो।
बेग्लाबेग्लै मोटरबोटमा घुमफिर गरे पनि किनारमा बसेको बेला चाहिँ घरिघरि राजारानी यता भ्रमणदलसँग भेट्न आइरहन्थे। ‘यस्तो बेलामा राजाले कट्टु मात्र लगाएर घरि पौडेको त घरि किनारमा आएको देख्दा अचम्म लाग्थ्यो,’ शर्मा भन्छन्, ‘उता हर म्याजेस्टी पनि त्यस्तै!’
तर, पछिपछि चाहिँ सामान्य हुँदै गयो। एकपटक जिम्बाबे गएको बेलामा सेसेल टापु पुगेपछि बेलुकीपख घुम्न निस्केका शर्माले राजा र रानीलाई यस्तै निस्फिक्री लुगा लगाएको देख्दा एकछिन त अप्ठेरै भएछ। त्यतिबेला पनि ‘उहाँहरुलाई अलिकता प्राइभेसीको व्यवस्था मिलाइएको हो। तपाइहरु अन्तै गइदिनुस्’ भनेपछि शर्माहरु अर्कै बाटो हिँडेका थिए।
यसरी राजारानीलाई जहिल्यै औपचारिक पोशाकमा देख्दै आएका मानिसले अनौपचारिक पोशाक र गतिविधिका बेला चिन्नै पनि मुश्किल पर्ने शर्माको अनुभव छ।
र, त्यही भइदियो ह्यामिल्टन टापुमा त्यो साँझ।
उनीहरुलाई त्यो बेलुकी आफूखुसी र मौसमअनुसारको पोसाकमा एउटा रेस्टुरामा परराष्ट्रका शिष्टाचार महापालले डाकेका थिए।
पातलो टिसर्ट र पाइन्ट लगाएर रेष्टुरामा खाँदै गर्दा छेवैको टेबलमा अघिदेखि बसेका मानिस त राजारानी पो रहेछन्। ‘हामीलाई देखेर आँखा जुधेपछि दुवै मुस्कुराए,’ शर्मा भन्छन्, ‘मैले लगत्तै उठेर नमस्ते गर्दा हाँस्दै ‘बस बस’ भनेर इशारा आयो।’
त्यतिबेलै अष्ट्रेलियन कलाकारहरुको गानाबजाना सुरु भएछ। एकछिनसम्म हेरेपछि ताराबहादुर थापा सरासर शर्माहरु बसेको टेबलमा आएछन्। ‘सरकारबाट तपाईंहरुलाई नेपाली गीत गाउन भनिबक्सेको छ’ उनले सन्देश सुनाए।
यता टेलिभिजनकर्मीहरु ‘अब के गाउने र कसरी गाउने?’ भनेर अक्क न बक्क परेछन्। श्याम चित्रकारको त कुरै थिएन। नीर शाह र दुर्गानाथ पनि टुक्राटाक्री मात्र गुनगुनाउन सक्ने थिए।
अस्ट्रेलियन गीत सकिनासाथ राजारानीले उनीहरुतिरै पुलुक्क हेरेर ‘इशारा’ पनि गरेपछि त आपतै पर्यो।
शाह उठेर जसोतसो टुक्रा मिसाएर लोकगीत गाउने प्रयासमा लागे। अब के होला भन्ने ठानिरहेका थिए उता राजा र रानीले ताली पो बजाइदिए। त्यतिले पनि पुगेन।
‘मेरो आँखालाई विश्वासै नलाग्ने गरी राजारानी त फ्लोरमा गएर नाच्न पो थाले,’ शर्मा भन्छन्, ‘रानीले साडीको फेरलाई कम्मरभित्र हालेर राम्रैसँग नाचेको देख्दा म त छक्कै परेँ।’
त्यतिबेलै राजारानीले हातले इशारा गर्दै शर्मालाई पनि ‘आउ’ भनेछन्। शर्माको त सात्तोपुत्लो उडेकै थियो। उताबाट आएका ताराबहादुरले ठेल्दै र धकेल्दै मञ्चमै पुर्याइदिए।
यसरी राजा र रानी छमछमी नाचिरहेको बेलामा शाह र शर्मा भने अलिकति किनार लागेर गाउँदै यसो नाचिरहेको जस्तो जिउ हल्लाउन थाले।
‘तिमीहरुले गरेको कामको फिडब्याक मैले काठमाडौंबाट पाइसकेको छु। यु ह्याभ डन गुड’ त्यतिबेलै राजाले उनीहरुलाई भनेछन्।
भोलिपल्ट विहानै फर्कने योजना थियो।
त्यतिबेला राजा अष्ट्रेलिया जाँदा आरएनएसीको आफ्नै विमान लिएर गएका थिए। त्यसमा सामान्य यात्रु हुँदैन थिए। यसरी विमान लिएर हिँडेको भ्रमण दलको अष्ट्रेलियापछि ब्रुनाइ, मलेसिया, जापान जाने कार्यक्रम थियो।
आफूहरुले यस्तरी सफलतापूर्वक टेलिभिजनको कार्यक्रम तयार पारेपछि बाँकीको भ्रमणमा पनि सरिक हुन पाइएला कि भन्ने उनीहरुको इच्छा थियो।
उता चिरन शम्शेरले आफुहरुलाई कुनै हालतमा लैजानै नचाहेको संकेत दिइरहेकै थिए। त्यो भ्रमणदलमा नाम नभएकैले अब थप्ने कुरामा चाहिँ उनको रुची थिएन। ‘उहाँले प्रेस्टिज इस्यु बनाउनु भयो कि के हो ख्वै,’ शर्मा सम्झन्छन्, ‘हाम्रो कानमा हामीलाई अगाडि लैजान सचिव ज्यूले मान्नुभएन भन्ने कुरा आइसकेको थियो।’
फेरि ताराबहादुरको माध्यमबाट राजासम्म कुरा लगियो।
‘अहिलेलाई यति गर्यौ ठीकै छ। अब अगाडि चाहिँ उता मलेसिया र ब्रुनाइमा त तिमीहरुको नाम हुँदैन। त्यसैले तयारी गरेका हुँदैनन्। यो व्यवहारिक कठिनाइलाई हेरेर अहिलेलाई जाउ’ भनेर राजाले नीर शाहलाई फर्काए।
यसरी ह्यामिल्टनबाट मलेशियातिर उडेको विमान अचानक डार्बिनमा ओर्लिने भयो। शाह, शर्मा र चित्रकारलाई विमानबाट ओर्लन लगाइयो।
‘डार्बिनमा जबर्जस्ती नै निकालिदिएका थिए,’ शर्मा भन्छन्, ‘उतैदेखि हाम्रा लगेज पनि अलग्गै राखेर ल्याइएकोले त्यो पनि तत्कालै झारियो।’
शर्माका अनुसार त्योबेलाको डार्बिन नेपालको हुम्लाजुम्ला भनेजस्तै थियो।
‘चार घन्टाको उडानमा सिंगापुर पुग्न सकिने भएता पनि आउने तीन दिनसम्मलाई विमानै थिएन,’ शर्मा भन्छन्, ‘विदेश त परको कुरा त्यहीँ सिड्नी फर्कौं भने पनि समयमा जहाज पाइएन।’
यस्तो अवस्थामा त्यो अनकन्टार ठाउँमा तीन दिन बिताएर उनीहरु बल्ल सिंगापुर आइपुगेका थिए।
...
नेपाल आएपछि आफूहरुले अष्ट्रेलियादेखि पठाएको सामग्री कति चर्चित भएको रहेछ भनेर थाहा पाउँदा दुर्गानाथ शर्माको खुशीको सिमाना रहेन। उनलाई सबैभन्दा प्रभाव उनको आमाको अनुभवले परेको थियो।
छोराले यसरी अष्ट्रेलियाबाट खिचेर पठाएको दृश्य काठमाडौंमा हेर्न पाइन्छ भन्ने जानकारी पाएपछि उनी इलामदेखि आइपुगेकी रहिछन्। नेपाल टेलिभिजनले त्यो प्रसारण गर्ने दिन झमझम पानी परिरहेको थियो। त्यस्तो अवस्थामा पनि शर्माकी आमा भिजेरै रत्नपार्क पुगिछन् र टेलिभिजनमा छोरालाई देखेर गद्गद् भइछन्।
‘तँ त्यत्रो पर गएको मानिस कसरी यहाँ देखिइस्,’ शर्मा नेपाल आएपछि आमाको प्रश्न थियो।
‘आमा तपाईं त रेडियो सुन्दै आइरहनुभएको होइन?’ शर्माले सोधेछन्, ‘अनि रेडियोमा कहाँबाट मानिस बोल्छ?’ थपिदिए, ‘त्यो रेडियोमा जसरी आवाज मात्र आएको थियो त्यसैगरि यहाँ तस्बिर पनि आएको हो।’
त्यसपछि बल्ल आमाको अनुहारमा बुझेजस्तो संकेत देखिएको थियो। शर्माका अनुसार तैपनि आमाको निम्ति त बाँचुन्जेलै त्यो पहिलो टेलिभिजन र त्यसमा बोलिरहेको छोराको दृश्य चमत्कारै बनेर बसिरह्यो। भगवानै देखेजस्तो।
त्यतिन्जेल पनि दुर्गानाथ शर्मा गोरखापत्रबाट काजमा नेपाल टेलिभिजन खटिएका थिए।
काज सकिएपछि ‘अब त फर्किनु पर्ला’ भनेर सोच्दै थिए नीर शाह लगायतका टिमले ‘कहाँ तपाइँ यहाँबाट फर्किने अब?’ भनेर रोके।
‘नेपालमा टेलिभिजन त अलिक पछि आउँथ्यो नै होला,’ शर्मा भन्छन्, ‘तर, जुन टेलिभिजनको हामी कुरा गर्दैछौं त्यो नीर शाह नभइदिएको भए त्यतिबेला आउनै सक्दैन थियो’ शर्माले थपे, ‘मैले उनलाइ सघाउन पाएँ।’
त्यसपछि दुर्गानाथ शर्मा सदाको निम्ति टेलिभिजनका मानिस बन्न पुगे।