कात्तिके देउराली–२, पाँडेघरेकी बुद्धमाया परियारको दैनिकी खानेपानी बोक्दैमा दिन बित्ने गर्छ। गाउँमा सहजै खानेपानी नपाएपछि उहाँको दैनिकी पानीको जोहो गर्दैमा बित्ने गरेको हो। बुद्धिमाया भन्छिन्,'धारामा आउन १५ मिनेट लाग्छ, तर भाँडो भरेर घर पुग्दा १ घन्टादेखि डेढ घन्टा लाग्छ।' कारण सिङ्गो गाउँभरिकै एउटा मात्रै धारा छ त्यहाँ।
‘हामी गाउँभरिकालागि धारा एउटै मात्र छ, यसमा कस्ले मात्रै थाप्ने ?’ उनले भनिन्, 'यही कारण घरको एक जनाको काम भनेको खानेपानी ओसार्ने मात्रै हो।' गाउँभरिका मानिस त्यहीँ धारामा जम्मा हुने भएकाले पालो कुरेर बस्दैमा हैरान हुने उनले सुनाइन्।
उक्त धारा पनि विद्यालयको हाताभित्र रहेको र त्यही धारा गाउँले सबैले प्रयोग गर्ने भएकाले पनि पानीको थप समस्या भएको स्थानीयवासीको भनाइ छ। भूकम्पका कारण गाउँमा भएको पुरानो पँधेरो सुकेपछि झन् पानीको हाहाकार भएको हो।
‘गाउँमा पानी नै छैन, खानेपानी पनि दिनभरी लगाएर बोकेर पुर्याउनु छ’ परियारले भनिन्, ‘मान्छेलाई पानी खान त यस्तो समस्या छ, बस्तुभाउलाई पनि मुस्किलले पुर्याउँदै आइरहेको अवस्थामा घर कसरी बनाउने?'
'घरमा पुरुषको काम पनि महिलाले नै गर्नुपर्छ,’ परियारले थपिन् ‘गाउँमा काम गर्ने मान्छे पनि पाउन मुस्किल छ, अब घर बनाउन मान्छे खोजेर ठेक्कामा दिनुपर्छ।’
बुद्धमाया जस्तै अर्का विमला परियारको पनि समस्या एउटै हो। विमला पनि बुद्धिमायासँगै खानेपानी ओसार्छिन्। ‘खानेपानीको अभावका कारण घर बनाउनसक्ने अवस्था छैन’ विमलाले भनिन् 'जाडो छ, बस्ने घर छैन तर बनाउनलाई पानी पनि छैन, कसरी घर बनाउने ?'
पानीको अभावका कारण गाउँमा भूकम्पपछिको पुनःनिर्माण गर्न नसकेको स्थानीयवासीको भनाइ छ । पानीको समस्यालाई पूर्ति गर्न अहिले स्थानीय चौरीखोला पाथिभरा लिफ्टिङ तथा खानेपानी सरसफाइ उपभोक्ता समिति गठन गरी काम भइरहेको समितिका अध्यक्ष यादवराज गिरीले जानकार दिए।
'हामीले त्यसको लागि प्रतिघरधुरी रु तीन हजार ५०० का दरले रकम उठाएर काम थालेका छौँं’ गिरीले भने, 'केही महिनापछि पानीको समस्या थोरै भए पनि सुल्झाउन सकिन्छ भन्नेमा आशावादी छौ।’
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक रामप्रसाद बरालले भने 'यहाँ अहिले दुई सय घरधुरीका बासिन्दाले यहीँ एउटा धारको पानी उपभोग गर्नुपर्दा धेरै समस्या खेप्नु परेको छ।' अब केही समयपछि त्यो समस्याबाट केही भए पनि मुक्त हुने बरालको भनाइ छ। रासस