हामी लालीगुँरासको जंगल नाघेर ओर्लिरहँदा उनी त्यतैतिर उक्लिरहेका थिए। ‘यामाखर्कमा बूढा मान्छेलाई ढुंगाले किचेछ,’ कालो झोला बोकेका ती व्यक्तिले भने, ‘खबर आएपछि उपचारका निम्ति जान लागेको।’ एकैछिन सुस्ताएकै बेला ती व्यक्ति, अर्थात् २९ वर्षे चिकित्सक बमबहादुर शाही सेतोपाटीसँग कुरा गर्न तयार थिए।
पृथ्वीनारायण क्याम्पसबाट प्रमाणपत्र, त्यसपछि राजधानीमै सिएमए र हेल्थ असिस्टेन्ट। यति पढिसकेपछि शाहीलाई कुनै सुगम स्थानमा जीवन बिताउन गाह्रो पर्दैन थियो। तर, उनले त्यसो गरेनन्।
‘यो पेशाको धर्म भनेकै सेवा गर्नु रहेछ,’ उनी भनिरहेका थिए, ‘यहाँ कामगर्दा जति पुण्य कमाउछुँ त्यो अन्त मिल्छ जस्तो लागेन र फर्किएँ।’
उनको जन्मथलो रन्मा मैकोट र वरपरका गाउँहरु संभवत २१ औं शताब्दीकै सबैभन्दा विकट स्थानमध्ये पर्छ। पूर्वी रुकुमकै अन्तिम बस्ती यस गाउँभन्दा मास्तिर वर्षमा एकपटक मात्र स्थानीयहरु उक्लने गर्छन्, यार्चागुम्बा टिप्न। त्यसबाहेक बाँकीका दिन यी गाउँका निम्ति कहालीलाग्दो बिरानो बन्छ। केही वर्षअघिसम्म पनि यहाँ कोही बिसन्चो भए सम्पत्ति छ भने बोकेर तल लगिन्थ्यो। हैन भने, कि त जडिबुटीको काँचो ज्ञान कि धामी झाँक्रीको विश्वास।
यस्तोमा बिरामी पर्नु भनेको धेरैका निम्ति एक हिसाबले अन्त्येष्टीकै पर्खाइजस्तो हुन्थ्यो। तर, हिजोआज परिस्थिति फेरियो।
०६० सालताका शाहीले सिएमए सकेर गाउँमा मेडिकल खोल्दा कम्ती अप्ठेरो थिएन। त्यसो त उनीअघि पनि पढाइ पूरा नगरेरै एक युवकले गाउँमा स्वास्थ्य सेवा दिन थालेका थिए। तर, ती युवक पनि माओवादीको पछि लागेर हिँडिदिएपछि ठप्पै भएको अवस्था थियो।
‘एकातिर उपचार नपाएका गाउँलेको हानाथाप,’ उनी प्रारम्भ गर्दाको दिन सम्झँदै थिए, ‘अर्कोतिर सुरक्षाकर्मीले औषधि पनि ल्याउन नदिएको अवस्था।’
यस्तो बेला स्वास्थ्यकर्मी मात्र नभएर प्रत्येक कदम सावधानीपूर्वक चाल्नुपर्ने बाध्यता पनि उनलाई आइलाग्यो।
‘माओवादीले लगिदिन्छ भनेर तलबाट गाउँलेका निम्ति चामलसमेत ल्याउन दिँदैन थिए,’ उनी भन्दै थिए, ‘औषधि त झनै रोकिन्थ्यो।’
त्यो समस्या समाधान गर्न रुकुमभन्दा निकै पर म्याग्दीदेखि औषधि ओसारेको अनुभव पनि उनीसँग छ।०६३ सालपछि भने उनी हेल्थ असिस्टेन्ट पढ्नका निम्ति फेरि ओर्लिए। त्यो सकेर फर्केपछि उनको सेवा निरन्तर जारी छ।‘सायद सहरमा बसेको भए अलिक सुविधा हुन्थ्यो,’ उनी भन्छन्, ‘तर, उपचार गर्ने मान्छेलाई यताका गाउँलेले दिने जति इज्जत अन्त कतै हुँदैन।’
पहिले पहिले उपचार गर्ने मान्छे भएर पनि पर परका गाउँलेहरु फाइदा उठाउन सक्दैन थिए। हिजोआज मोबाइलको सुविधा विस्तार भएपछि भने त्यो समस्या पनि समाधान भएको उनको अनुभव छ।
‘यामाखर्कका बूढालाई बिहान दिसापिसाब गर्न गएका बेला ढुंगाले चेपेको रहेछ,’ उनी भन्दै थिए, ‘फोनबाट जानकारी पाएपछि यतिबेला उक्लन लागेको हुँ।’ त्यतिबेला घडीमा बिहानको आठ पनि बजेको थिएन। मोबाइलले तत्काल खबर ल्याइदिन थालेपछि सेवा पनि छिट्टै दिन पाउँदा उनलाई आनन्द लागेको छ।
शाहीका अनुसार गाउँतिरबाट आउने सन्देशमा बढीजसो दूर्घटना र सुत्केरी केस हुने गरेका छन्। खबर पाउनेबित्तिकै स्लाइन, औषधि र आवश्यक उपकरण बोकेर उनी कुदिहाल्छन्। यसरी सेवा दिएपछि गाउँलेहरुले स्वस्फूर्त दिने पारिश्रमिक र कोशेली उनको भागमा पर्ने गर्छ। उनीजस्तो गाउँको स्वास्थ्यसेवामा समर्पित व्यक्तिलाई राज्यको तर्फबाट कुनै सहयोग सुविधा छ कि भनेर सोध्दा उनले केही पनि नरहेको बताए। उनलाई बरु सरकारी तवरबाटै गरिएका पहलहरु पनि फितलो भएकामा दुःख लाग्छ।
‘म आफैँ यो क्षेत्रमा लागेको व्यक्ति, के गुनासो पोखौं ?’ उनी भनिरहेका थिए, ‘तपाईंहरु आफैं तल गएर बुझ्नुस् थाहा पाइहाल्नुहुन्छ ।’
शाहीले हामीलाई तल उनकै घरमा पाहुना बन्ने निम्तो दिँदै फेरि उकालो चढे। त्यसपछि एकैछिनको ओह्रालो र तेर्सो बाटोले हामीलाई चाहिँ मैकोट पुर्यायो।
भनिन्छ पश्चिमाहरु केही सय वर्ष पुरानो जीवन हेर्न काठमाडौं आउँछन्। त्यसैगरी काठमाडौंवासीले अझ केही सय वर्ष पुरानो जीवन हेर्नुपरेमा यो अत्यासलाग्दो डाँडा आए हुन्छ। यहाँको माग र राज्यको सोचाइ बीचमा कति गहिरो खाडल छ भन्ने कुराको उदाहरण गएको महिनादेखि मात्र चल्न सुरु भएको अस्पताल भवन हेरे पुग्छ। एकातिरको भीरमा गाउँ छ, ढुंगा र माटोले बनेका आदिम घरहरुको थुप्रो। अर्कोतिरको भीरमा टलक्क टल्किने पहेँलो रंगको भव्य अस्पताल भवन छ। पिलर सिस्टमले बनेको र देख्दै यस दुर्गममा करोडौं परेको सहजै अनुमान हुने।
गाउँमै उपलब्ध साधन र सस्तो स्थानीय प्रविधि बेवास्ता गर्दै उभ्याइएको त्यस अस्पतालमा के छ? गाउँलेहरु भन्छन् केही छैन। न औषधि, न उपचार गर्ने मान्छे। अनि उतिपरदेखि यत्रोविधि छड ओसारेर अस्पताल किन बनाएको? किनभने यस भेगमा भवन बनाउँदा कमिशन आउँछ।
यत्रो अस्पताल बनाएपछि उपचार गर्ने मान्छे किन पठाइएन?
‘१५ दिनअघि मात्र एकजना उपचारकर्मी आएका थिए,’ गाउँलेहरु भन्दै थिए, ‘तर, फेरि तल तालिम छ भनेर उनी सदरमुकामतर्फ ओर्लिए ।’ उनीहरुका अनुसार यसरी गाउँमा आएका व्यक्तिहरु लामो समय कोही पनि बस्दैनन् र कुनै न कुनै निहुँ पारेर सदरमुकाम ओर्लिहाल्छन्। त्यस भव्य भवनमा त्यतिबेला औषधिका नाममा पर्याप्त सिटामोल र जीवनजल पनि नरहेको गाउँलेको गुनासो थियो।
यस्तो विसंगति किन?
सदरमुकाम खलंगास्थित जिल्ला जनस्वास्थ्य प्रमुख डा. यदुचन्द्र घिमिरेलाई सम्पर्क गर्न खोज्दा उनी पनि केही महिनादेखि जिल्ला बाहिरै रहेको बताइयो। मैकोटका बारेमा केही जानकारी नरहेको बताउने उनका सहकर्मीले घिमिरेलाई भेट्न पाटन अस्पतालको रेडियोलोजी विभागमा फोन गर्नुपर्ने जानकारी दिए।
‘म स्वयं पनि तालिमका निम्ति दुई महिनादेखि यतै छु,’ घिमिरेले भने, ‘एक महिनाअघि मात्र रोल्पाको भवन विभागले तयार पारेर हस्तान्तरण गरेको मैकोट अस्पताल बारे मलाई पनि केही जानकारी छैन।’
उनले एकजना स्वास्थ्यकर्मी करारमा मैकोट पठाइएको जानकारीसम्म रहेको बताए। ती स्वास्थ्यकर्मी पनि तालिमका निम्ति सदरमुकाम आएको हुनसक्नेमा उनले पनि सहमति जनाए।
आफू एक महिनापछि रुकुम फर्किएर यथास्थिती बुझ्दै कदम चाल्ने घिमिरेको भनाइ थियो।
...
मैकोटका चिकित्सक बमबहादुर शाहीले छुट्टिने बेला त्यसै बेलुकी गाउँ फर्केपछि हामीसँग धेरै कुरा गर्ने बताएका थिए। भोलिपल्ट सबेरै विदा मागुन्जेल पनि उनकी पत्नी र दुई छोराछोरी प्रतिक्षा गरिरहेकै थिए। ‘यामाखर्कका बूढाको उपचार गरिसकेपछि पुछारगाउँमा अर्को एकजनालाई पेटको समस्या परेर उताको उतै लाग्नुभएछ,’ श्रीमती भनिरहेकी थिइन्, ‘त्यसैले हिजो फर्कन पाउनुभएन।’
फेरि भेट्न नपाइएका शाहीको निम्ति राजधानीदेखि लगेको एउटा पुस्तक उपहार छाडेर हामी ओह्रालो लाग्यौं ।