काठमाडौं, चैत २१ (सेतोपाटी)– एक वर्षयता उपत्यकामा सडक छेउका घर भत्काउन सक्रिय ट्राफिक प्रहरीको आफ्नै मुख्यालय यसै साता भत्कने भएको छ । ‘तीन दिनभित्र बग्गीखाना र त्यसै कम्पाउन्ड भित्रको डिआइजी निवास भत्काउने आदेश आजै दिएको छु,’ काठमाडौं उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त भाइकाजी तिवारीले बुधबार सेतोपाटीसँग भने, ‘नगर विकासको मापदण्डअनुसार अब पुतलीसडक २२ मिटर चौडा पार्ने काम सुरु हुनेछ ।’
उनका अनुसार त्यसनिम्ति सिंहदरबार, महान्यायाधिवक्ता कार्यालय, सर्वोच्च अदालत, बार एसोसिएसन, पुरातत्व विभाग, स्वास्थ्य मन्त्रालय, विमा संस्थान लगायत पर्खाल भत्काइने छन् । पुतलीसडकको दुवै छेउ लहरै बनेका घर पनि त्यसैगरी भत्काउनुपर्ने तिवारीले जनाए ।
तेस्रो चौमासिकको बजेट एक महिना बित्दा पनि निकासा नभइदिँदा सबैतिर एकसाथ भत्काउन नसकेको र तत्काललाई बग्गीखाना भत्काएर काम सुरु गर्न लागेको उनले बताए ।
२०३३ सालमा नगर विकास कार्यान्वयन ऐन पारित भएपछि काठमाडौंका विभिन्न सडक वर्गीकरण गर्दै त्यसको मापदण्ड कायम गरिएको थियो । त्यसै मापदण्डअनुसार सडक छेउ बनेका घर भत्काउने काम गत वर्षदेखि सुरु गरिएको हो । प्राधिकरणका अनुसार हालसम्म काठमाडौंभित्र मात्रै एक सय किलोमिटर सडकको दुवै छेउका घर भत्काइसकेका छन् भने उपत्यकाभर एक सय ७० किलोमिटर बाटो फराकिलो पार्न तयार भइसकेका छन् । यसमध्ये नगरपालिकाले समेत गरेर १५ किलोमिटर सडक पक्की भइसकेका छन् । अर्को १५ किलोमिटर सडक भने एक साताभित्रै तयार भइसक्ने छन् ।
जेठ मसान्त अगावै माइतीघर–तीनकुने
उपत्यका विकास प्राधिकरणका अनुसार माइतीघरदेखि तीनकुनेसम्मको सडक जेठ मसान्त अगावै समाप्त गरिसक्ने गरी ठेकेदारले कबुल गरेका छन् । अरनिको राजमार्गको मापदण्डअनुसार यो सडक अब ५० मिटर चौडा हुनेछ । यस खण्डमा रहेका दुईवटा पुल भने तत्काललाई साँघुरै अवस्थामा रहने छन् ।
‘तत्काल बजेट नभएकाले यी दुई स्थानमा पुरानै पुलबाट काम चलाइनेछ,’ तिवारी भन्छन्, ‘यी दुई बोटल नेकमा दुर्घटना नियन्त्रण गर्न स्पिड ब्रेक गर्ने उपायहरू अपनाइने छन् ।’ पुलको निम्ति बजेट आउनेबित्तिकै बेग्लै व्यवस्था गरेर सडक अनुसारकै चौडा पारिने उनले स्पष्ट पारे ।
माइतीघर–तीनकुने सडकसमेत गरेर जेठ मसान्तभित्र काठमाडौंका ५३ किलोमिटर सडक पक्की भइसक्ने दाबी तिवारीको छ ।
१५ दिनमै आधा चक्रपथ ६२ मिटर फराकिलो बनाउन सुरु
चक्रपथको कोटेश्वरदेखि बल्खु हुँदै कलंकीसम्मको खण्डलाई ६२ मिटर फराकिलो बनाउने काम १५ दिनमै सुरु हुने प्राधिकरणले जनाएको छ । यसका निम्ति उक्त क्षेत्रमा सडक दुवैतर्फ तयार पारिएका संरचना १५ दिनभित्र भत्काउने आदेश बुधवारै पत्रपत्रिकामा विज्ञापनमार्फत दिइसकिएको छ । त्यो अवधि भित्र नभत्काइएमा प्राधिकरणले भत्काउनु पर्दाको रकम समेत असुल गरेर आफैंले भत्काउने जानकारी तिवारीले दिएका छन् ।
‘तर, यो खण्डमा लगभग सबैले खाली गरिदिइसकेका छन्,’ उनी भन्छन्, ‘त्यसैले तोकेको समयमै काम सुरु गर्न समस्या छैन ।’
आयुक्त तिवारीका अनुसार चक्रपथलाई ६२ मिटर चौंडा पार्ने चिनियाँ टोली काठमाडौं आइसकेको छ । उनीहरुले कार्यक्षेत्रको विभिन्न स्थानमा क्याम्प बनाउनका निम्ति प्राधिकरणसँग जग्गा मागिरहेका छन् ।
‘हामीले उनीहरुलाई क्याम्प राख्ने जग्गा दिने बित्तिकै काम सुरु गर्ने बताएका छन्,’ तिवारीले भने, ‘त्यसका निम्ति प्रकृयाको थालनी भइसकेको छ ।’