राज्यका ‘तस्कर’, जनताका ‘मसीहा’

  • Get News Alerts

united
tata
सही र गलत भनेको आ–आफ्नो हेराइ हो। कुनै काम कानुनको नजरमा ‘गलत’ हुन सक्छ, तर त्यसैलाई जनताले समर्थन गरिदिन सक्छन्।
 
फ्रान्सको नीस सहरमा यही स्थिति छ।
 
स्थानीय जैतून कृषक सेड्रिक हेरो राज्यका निम्ति ‘तस्कर’ हुन् भने जनताका निम्ति ‘मसीहा’। उनीविरुद्ध राज्यले हालेको मुद्दामा अघिल्लो बुधबारबाट सुनुवाइ सुरु भयो। त्यस दिन उनका समर्थकले ठूलो संख्यामा अदालतबाहिर जम्मा भएर नाराबाजी गरे। त्यो दृश्य हेर्दा कानुनको परीक्षामा ‘तस्कर’ भनिएका सेड्रिक हेरो छन् कि स्वयं राज्य छ, छुट्टयाउन मुश्किल पर्थ्यो।
 
सेड्रिकमाथि दुई सय जनाभन्दा बढी अफ्रिकी आप्रवासीलाई इटालीबाट गैरकानुनी रूपमा फ्रान्स छिर्न मद्दत गरेको आरोप छ। उनी आफूमाथि लागेको आरोप अस्वीकार गर्दैनन्। बरु हाकाहाकी भन्छन्, ‘मैले ती अफ्रिकीलाई फ्रान्सको सीमा कटाउन मद्दत गरेकै हुँ। राज्यको नजरमा यो अपराध हो भने म यो अपराध फेरि–फेरि पनि गरिरहनेछु।’
 
त्यसपछि न्यायाधीशले सोधे, ‘तपाईंले यस्तो काम किन गर्नुभयो?’
 
जवाफमा सेड्रिकले उल्टै प्रतिप्रश्न गरे, ‘जीवनदेखि थाकेका ती भोका–नांगा अफ्रिकीहरू आफू र आफ्ना बालबच्चाको पेट भर्न फ्रान्स आउन चाहन्छन्, उनीहरूलाई यहाँ स्थान दिनु हाम्रो मानवीय धर्म हो कि होइन? राज्यको कानुनले के भन्छ मलाई मतलब छैन, तर मेरो धर्म र फ्रान्सको गौरवपूर्ण इतिहासले त्यस्ता असहायमाथि सहानुभूतिले हेर्नुपर्छ भन्ने सिकाउँछ। र, मैले त्यही गरेको हुँ। के आपतमा परेकालाई सहयोग गर्नु पनि अपराध हो? के कसैको निम्ति बाँच्ने वातावरण बनाइदिनु पनि अपराध हो?’
 
‘यहाँ भोकले सडक किनारमै मान्छे मरिरहेका छन्,’ सेड्रिकले भने, ‘यो सही होइन। यहाँ केटाकेटीहरू सुरक्षित छैनन्। एउटा बच्चा भोकले रातभरि छट्पटाएको कसरी टुलुटुलु हेरेर बस्न सकिन्छ?’
 
‘म फ्रेन्च हुँ, यस्तो घडीमा निरीह भएर बस्ने अनुमति मलाई मेरो देशको गौरवपूर्ण इतिहासले दिँदैन,’ उनले भने।
 
 
पछिल्लो समय युरोपले आप्रवासीहरूको प्रवेशमा कडा नीति लिँदै आएको छ। समुद्री बाटो युरोप छिर्न खोज्ने आप्रवासीलाई समुद्रकै बीचमा गएर समातिएका छन्। शरणार्थीसम्बन्धी कानुन कडा पारिएका छन्। यति मात्र होइन, युरोपको खुला सीमा प्रणालीलाई स्थगित गर्नेसम्मको नीति अपनाउन थालिएको छ। यति कडाइका बाबजुद विभिन्न छिद्रबाट आप्रवासीहरू युरोप प्रवेश गरिरहेकै छन्।
 
त्यही छिद्रमध्ये एक हो, फ्रान्स र इटालीबीचको हिमाली क्षेत्र।
 
यसलाई टाल्न दुवै तर्फका प्रहरीलाई रेल्वे स्टेसन, बसपार्क लगायत ओहोरदोहोर हुने ठाउँमा ठूलो संख्या परिचालन गरिएको छ। अर्को वर्ष हुने फ्रान्सको राष्ट्रपति निर्वाचनका लागि आप्रवासी समस्या एक प्रमुख मुद्दा बने पनि यसमा कस्तो नीति लिने अझै टुंगो लागिसकेको छैन। इटालीको बाटो हुँदै छिर्ने ती आप्रवासीसँग मानवीय व्यवहार गर्ने कि उनीहरूलाई फेरि त्यही बाटो फर्काइदिने भन्नेमा बहस जारी छ।
 
जैतून खेती गर्दै आएका ३७ वर्षीय कृषक सेड्रिक हेरोले भने कित्ता छानिसके। फ्रान्सले आफ्नो इतिहासलाई निरन्तरता दिँदै यो मुद्दा मानवीय आँखाले हेर्नुपर्ने उनको निष्कर्ष छ। उनी आफ्नो यही विश्वासमा टेकेर इटाली र फ्रान्सको सीमामा अलपत्र ती अफ्रिकीलाई हरसम्भव मद्दत गर्न अघि सरेका छन्।
 
असुरक्षा, अनिश्चय र दुःखको भँवरमा फसेका ती आप्रवासीले युरोपको सुरक्षित भविष्यमा पाइला टेक्न सकून् भनेर उनले केही स्थानीय व्यक्तिको अनौपचारिक सञ्जाल निर्माण गरेका छन्। राज्यले ‘तस्कर’ को संज्ञा दिएको त्यस सञ्जालका उनी निर्विवाद ‘नायक’ र ‘नेता’ हुन्। 
 
यसरी सीमा कटाइदिने क्रममा प्रहरीसँग बेला–बेला झडप हुन्छ। तर, उनीहरू यसबाट दच्किएका छैनन्।
 
‘सुरक्षाकर्मीहरू ती कालालाई समात्न रेल्वे स्टेसन नै घेरेर बसेका हुन्छन्,’ सेड्रिकले केहीअघि एक अन्तर्वार्तामा भनेका थिए, ‘महिला र बच्चाहरूलाई समेत बल प्रयोग गरेर फिर्ता पठाउँछन्।’
 
‘आफ्नो घरको आँगनमा यस्तो घटना हुँदा मसँग दुइटा विकल्प रहन्छ, कि त मैले आँखा चिम्लनुपर्यो, होइन भने यो अन्यायविरुद्ध बोल्नुपर्यो,’ उनले भने, ‘मैले दोस्रो विकल्प रोजेँ।’
 
ती अफ्रिकीका साथमा कागजपत्र केही थिएन। यसको मतलब, उनीहरू असुरक्षित थिए। त्यस्ता व्यक्तिलाई झन् ठूलो असुरक्षा र अन्धकारतिर धकेल्नु भनेको मानवताविरुद्धको अपराध भएको सेड्रिकको भनाइ छ।
 
 
अन्तरआत्माले घच्घच्याएर यो अभियानमा धकेलिएका सेड्रिकले त्यसपछि जैतूनको खेतीमा भन्दा आप्रवासीहरू हिँडडुल गर्ने हिमाली बाटोमा बढ्ता समय बिताए। इटाली र फ्रान्सको सीमामा पर्ने भेन्टिमिग्लिया भन्ने ठाउँमा उनी धेरैचोटि गए। त्यही ठाउँबाट फ्रेन्च प्रहरीले केहीअघि ८ सय जना आप्रवासीलाई रोक्यो, जसमा महिला र स–साना बच्चा पनि थिए। आफ्ना लालाबाला च्यापेर सपरिवार युरोप छिर्न खोजिरहेका गरिब परिवारलाई सुरक्षाका नाममा प्रहरीले दुःख दिएको सेड्रिकलाई सह्य भएन।
 
उनी शरणार्थी शिविरमा राखिएका ती अफ्रिकीको उद्धार गर्न र उनीहरूलाई सकुशल फ्रान्स छिर्ने बाटो बनाउन आफ्नो गाडी लिएर त्यहीँ गए। त्यही गाडीमा उनले समातिएका आप्रवासीको खानपिन निम्ति अन्डा, कुखुराको मासु र अन्य खानेकुरा पनि लगेका थिए। 
 
उनले ती आप्रवासीलाई रोया उपत्यकामा रहेको आफ्नो जग्गामा लिएर आए। त्यहाँ जैतून खेतीको बीचमा तिनको बसोबासका लागि दुइटा सानो क्याम्प खडा गरे। र, अन्ततः उनीहरूलाई सुरक्षित फ्रान्स छिराउन सफल भए।
 
सेड्रिकका अनुसार उनले अहिलेसम्म २ सय जना आप्रवासीलाई फ्रान्स छिर्न मद्दत गरेका छन्। तीमध्ये केही फ्रान्सको बाटो हुँदै बेलायत र जर्मनी पुगिसकेको उनी बताउँछन्।
 
यति मात्र होइन, उनको अनौपचारिक सञ्जालले फ्रान्स छिर्ने क्रममा हिमाली क्षेत्रमा अलपत्र परेका आप्रवासीको उद्धार पनि गर्दै आएको छ। उनीहरूलाई न्याना लुगा र खानेकुरा पनि उपलब्ध गराउँछ। 
 
भविष्यको खोजीमा युरोप छिर्ने ती आप्रवासीसँग न नक्सा हुन्छ न त गाइड। उनीहरू अंग्रेजी भाषा पनि बोल्न जान्दैनन्। यस्तोमा सेड्रिक र उनका साथीहरूले बढाएको सहयोगको हातलाई उनीहरू ‘ईश्वरको आशीर्वाद’ नै ठान्ने गरेका छन्। 
 
र, सेड्रिकलाई आफ्नो ‘मसीहा’ मान्ने गरेका छन्।
 
 
आप्रवासीलाई मद्दत गर्ने सेड्रिकको अभियान र उनीविरुद्ध दायर मुद्दाले समग्र युरोपको विभाजित मनस्थिति झल्काउँछ। ‘आतंकवाद’ प्रति गम्भीर बन्दै युरोपमा आप्रवासीहरूलाई छिर्न नदिने कट्टरपन्थी राजनीति हाबी हुँदै आएको छ। फ्रान्सको आगामी राष्ट्रपति निर्वाचनमा पनि आप्रवासीसँग सम्बन्धित यही बहसले प्राथमिकता पाउने देखिँदै छ। यसको एक कितामा फ्रान्सले आफ्नो सीमा खुकुलो पारेर आप्रवासीलाई स्वागत गर्नुपर्ने पक्षधर छन् भने अर्कातिर तिनलाई लखेट्नुपर्ने अनुदारवादीहरू छन्।
 
यो लडाइँमा अनुदार विचारधाराको जित भयो भने मानवता, विश्व भाइचारा र एकताप्रतिको प्रतिबद्धता नै धमिलो हुँदै जाने सेड्रिकका समर्थक बताउँछन्।
 
‘हामी युरोपका बासिन्दा हौं, हामीसँग केही अपेक्षा राखेर आउने आप्रवासीहरूलाई लखेट्नु भनेको युरोपको चरित्र होइन,’ सेड्रिकको सुनवाइका दिन अदालतमा आएका एक व्यक्तिले भने, ‘युरोपलाई युरोपजस्तो रहन नदिने प्रयास हुँदै छ। सेड्रिक त्यही प्रयासविरुद्ध उठेको आवाज हो, त्यसैले हामी उनको साथ छौं।’
 
सेड्रिकको सुनुवाइसँगै यो धारणा अदालत परिसरदेखि नीसका बजार, गाउँ, बार र खेतहरूसम्म सुनिन थालेको छ। 
 
नीस त्यही ठाउँ हो, जहाँ केही समयअघि आतंकवादी हमलामा ८५ जनाको ज्यान गएको थियो।
 
नीस त्यो ठाउँ पनि हो, जहाँ दोस्रो विश्वयुद्धको समयमा नाजीबाट भागेर आएका यहुदीहरूले आश्रय लिएका थिए। 
 
यी दुवै पृष्ठभूमिमा आज यहाँ सेड्रिक हेरोलाई लोककथाका नायकका रूपमा लिन थालिएको छ। जसले आप्रवासीहरूको ओसारपसारका लागि ‘भूमिगत’ बाटो खने। र, कानुनी अड्चनबीच पनि दुःख पाएकाहरूलाई आश्रय दिन आफ्नो सहयोगको हात बढाए। 
 
 
गरिब परिवार, महिला र केटाकेटीका निम्ति राज्यसँग लड्न–भिड्न तयार भएका सेड्रिकको ख्याति यतिबेला निकै चुलिएको छ। अदालत परिसरमा उनको समर्थनको प्लेकार्ड बोकेर बसेकाहरूले नारा लगाए, ‘हामी सबै आप्रवासीका सन्तान हौं।’
 
यही भिडभाडबीच जब सेड्रिक सुनुवाइ निम्ति अदालत पुगे, समर्थकहरूले उनको भव्य स्वागत गरे। प्रतिवादी वकिलले समेत उनको कामलाई ‘महान’ भने। उनले सेड्रिकलाई आठ महिना कैद सजाय माग गरेका थिए। पछि उनैले यो सजाय स्थगित पनि गर्न सकिने बताए।
 
सेड्रिकका वकिलले भने बचाउमा उनको अभियानलाई फ्रेन्स गणतन्त्रको मूलमर्मसँग जोडेका छन्।
 
‘उनको यो अभियान फ्रेन्च मूल्य–मान्यताको संरक्षणका लागि हो,’ उनले भने, ‘उनले जे गरे, त्यसले हाम्रो गरिमामय इतिहासलाई अब फेरि लामो समय उत्तिकै चमकदार रूपले जीवित राख्नेछ।’
 
सेड्रिकविरुद्धको मुद्दामा तीन न्यायाधीशको इजलासले आगामी फ्रेब्रुअरी १० तारिखमा आफ्नो फैसला सुनाउनेछ। 
Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • बेइजिङमा चल्ने भयो चालकरहित रेल

    बेइजिङमा चल्ने भयो चालकरहित रेल

    उत्तरी छिमेकी चीनले राजधानी बेइजिङ शहरमा यसै वर्षदेखि चालकरहित रेल चलाउने भएको छ। बेइजिङ महानगरका अधिकारीहरुले शुक्रबार यसै वर्षदेखि चालकरहित रेल चलाउने तयारी भइरहेको बताएका छन्।

  • काभ्रेपलाञ्चोकमा ४५ प्रतिशतमा क्षयरोगको सङ्क्रमण

    काभ्रेपलाञ्चोकमा ४५ प्रतिशतमा क्षयरोगको सङ्क्रमण

    काभ्रेपलाञ्चोकको ४५ प्रतिशत जनसङ्ख्या क्षयरोगबाट सङ्क्रमित भएको अनुमान गरिएको छ। क्षयरोग दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलले आज धुलिखेलमा आयोजना गरिएको क्षयरोग सम्बन्धी अन्तक्र्रियामा सङ्क्रमितमध्ये ६० प्रतिशत युवा र वयस्क देखिएको जनाएको छ।

  • मेसीले नेपालमा बनाए तीन स्वास्थ्य केन्द्र, ११ निमार्णको पर्खाइमा

    मेसीले नेपालमा बनाए तीन स्वास्थ्य केन्द्र, ११ निमार्णको पर्खाइमा

    अर्जेन्टिनाका विश्व चर्चित स्ट्राइकर लिओनल मेसीले नेपालको विकट जिल्लामा जोखिममा परेका बालबालिकाको पुर्नउत्थानका लागि तीनवटा स्वास्थ्य केन्द्रको स्थापना गरिदिएका छन्। उनले युनाइटेड नेशनको बालबालिका कार्यक्रम (युनिसेफ) सँग मिलेर नेपालमा बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन विकट जिल्लामा स्वास्थ्य केन्द्रको निमार्ण गराएका हुन्।

  • क्षयरोगको अन्त्य नियमित औषधि सेवन र सचेतना

    क्षयरोगको अन्त्य नियमित औषधि सेवन र सचेतना

    गुल्मी जिल्ला भार्सेकी झनीमायाँ दर्लामीले लुम्बिनी अञ्चल अस्पतालको डट्स क्लिनिकमा आवासीय रुपमै उपचार गर्न थालेको करिब दुई महिना भयो। उनले बुटवलका विभिन्न ठाउँमा उपचार गराइन्। तर उनको रोग निको हुनुभन्दा झनै बल्झियो।

  • 'चितवन राष्ट्रिय निकुञ्ज गैँडाका लागि उपयुक्त बासस्थान'

    'चितवन राष्ट्रिय निकुञ्ज गैँडाका लागि उपयुक्त बासस्थान'

    दुर्लभ एक सिङ्गे गैँडाका लागि चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र उर्बर देखिएको छ। सयौं गैँडा चोरी सिकारीले मार्ने, प्राकृतिक कारणले मर्ने, अन्य स्थानमा स्थानान्तरण गर्ने र विदेशीलाई उपहार दिने गरिए पनि यहाँ गैँडाको सङ्ख्या बढ्दो क्रममा रहेको छ। सन् १९८६ यता बर्दिया राष्ट्रिय निकुञ्जमा ८८ र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा चार गैँडा स्थानान्तरण गरिसकिएको छ भने चीन, बेलायत, अमेरिका र अष्ट्रेलियालाई गैँडा उपहार दिइसकिएको छ।

लोकप्रिय

vianet

सूचनापाटी