मुखै रसाउने चुकाउनी

yamaha
  • Get News Alerts

united
स्वादे जिब्रो
tata

मिस नेपाल आयोजना गर्ने संस्था हिडन ट्रेजरका प्रमुख गोपाल कक्षपति ३६ वर्षअघि जर्मनी पुगेका थिए। जर्मन साथीले एक साँझ जमघटमा कक्षपतिलाई पनि निम्त्याए।

बेलुकी खाना खाने बेला संसारभरका चर्चित आलुका परिकार देखेर उनी छक्क परे। र, त्योभन्दा छक्क पार्यो नेपाली परिकार चुकाउनीले।

बेला–बेला नेपाल घुम्न आइरहने र पुस्तक लेख्ने ती जर्मनले तानसेनबाट चुकाउनी बनाउने कला सिकेका रहेछन्। जर्मनी पुगेपछि त्यहाँका व्यावसायिक कुकलाई पनि सिकाएछन्। त्यसपछि त साना(ठूला सबै जमघटमा चुकाउनी कहिल्यै छुटाएनन्।

‘तिमीले यो खाना जहाँबाट ल्यायौ, म जन्मेको ठाउँ त्यहीँ हो,’ कक्षपतिले बडो गर्वसाथ सुनाए, ‘मेरो हुर्काइ नै यो खानासँगै भएको हो।’

‘ओहो! निकै सुन्दर ठाउँ र साह्रै स्वादिलो खाना पाइने ठाउँ हो नेपाल। तानसेन पुग्दा यो परिकार निकै मन पर्यो। अहिले यताका थुप्रै साथीले यसको स्वाद चाखिसकेका छन्। मैले थुप्रै धन्यवाद पाइसकेको छु,’ उनले भने।

त्यो साँझ पनि जमघटमा सहभागी सबैले चुकाउनीको खुब तारिफ गरेछन्। कक्षपति त मख्खै!

आजभन्दा झन्डै ४० वर्षअघि नै विदेशी भान्छामा प्रवेश पाइसकेको चुकाउनीले हालसालै खानासम्बन्धी एउटा पुस्तकमा पनि स्थान पाएको छ। संसारका ७५ वटा चर्चित ‘मुखै रसाउने आलुका परिकार’ विशेषांकका रूपमा निस्किएको उक्त पुस्तकमा नेपाली खानाले सम्भवतः पहिलोपल्ट प्रवेश पाएको होटल व्यवसायी कर्ण शाक्यको भनाइ छ।

पुस्तकमा ठाउँ पाउँदा अरू पनि थुप्रै नेपाली मौलिक खानाको प्रवर्द्धन हुने उनको विश्वास छ।

विदेशसम्मै पुगे पनि नेपालभर भने चुकाउनीको स्वाद फैलिन भ्याएको छैन। कतिले नाम सुनेका मात्र छन्, स्वाद चाखेका छैनन्। कतिले यसलाई ‘पाल्पाली अचार’ का नाममा मात्र चिन्छन्।

कक्षपति भने थोरै रेस्टुरेन्टका मेनुमा पाइए पनि विस्तारै बढ्न थालेको बताउँछन्। ‘अहिले त काठमाडौंका भोजभतेरमा पनि यो खाना राखिन थालिसक्यो,’ उनले भनेो

पाल्पा, अर्घाखाँची, गुल्मीतिरबाट बसाइँ सरेर विभिन्न क्षेत्र पुगेकाहरूले चिनजान–नातागोतालाई चखाएसँगै चुकाउनीको स्वाद फैलिएको हो। पछिल्लो समय बढेको आन्तरिक पर्यटनले पनि मद्दत गरेको बताउँछन् कक्षपति।

‘पाल्पा पुगेकाहरू यसको स्वाद नचाखी फर्कंदैनन्। सकेसम्म बनाउने तरिका नै सिकेर आउँछन्,’ कक्षपति भन्छन्।

बनाउन सजिलो, छिटो र छुट्टै स्वाद हुने भएकाले यो पाल्पा र आसपासका सबै जाति तथा समुदायमा लोकप्रिय छ। त्यताका नेवारी भोजमा त अनिवार्यजस्तै छ।

चुकाउनी मात्र होइन, पाल्पा अन्य मौलिक परिकार बटुक र हाँसको छोयलाका लागि पनि प्रसिद्ध छ। यी तीनै परिकार नेवारी समुदायबाटै सुरु भएका हुन्। यीमध्ये साकाहारी परिकार चुकाउनी सबै जातजातिको भान्छामा फैलिएको छ। साकाहारी नै भए पनि बटुकलाई विस्तार हुन केही समय लाग्यो। खसीबाहेकको मासु नखाने समुदायमा हाँसको छोयला छिर्न भने निकै समय लाग्यो। पछि त यो पनि उत्तिकै फैलियो, सबैभन्दा बढी त सहरमा।

चुकाउनी छिटो फैलिनुको कारण साकाहारी भएर मात्र होइन। बनाउन सजिलो भएर मात्र पनि होइन। यसको मुख्य स्रोत दही भएकाले सबै जातजातिले रुचाएको हुन सक्ने कक्षपतिको अनुमान छ।

दहीलाई धेरैले सगुन अर्थात् शुभ–साइतको प्रतीक मान्छन्। नेवार समुदायमा त दहीको महत्व अरू समुदायमा भन्दा बढी नै छ।

चुकाउनीको कथा काठमाडौं उपत्यकाको भक्तपुरसँग जोडिन्छ। यसको सुरुआत कहिलेबाट भयो यकिन भन्न नसके पनि नेवारहरूको बसाइसराइँसँगै चुकाउनीको कथा प्रारम्भ भएको कक्षपति बताउँछन्।

उनले सुनेअनुसार भक्तपुरका उनका पुर्खा राजा यक्ष मल्लको पालामा पाल्पा पुगेका हुन्। काठमाडौं खाल्डोमा विफर रोग फैलिएपछि त्यसबाट जोगिन उनका पुर्खाले भक्तपुर छाडेका थिए।

जन्मदेखि मृत्यु संस्कार र अन्य भोजभतेरसम्म अनिवार्य दही चाहिने नेवार समुदायले आफू जुनसुकै ठाउँ पुगे पनि दहीका परिकारलाई साथै लिएर गयो। उहिल्यै विकसित भइसकेको काठमाडौं उपत्यकामा पो दूधबाट विभिन्न परिकार बनाउन सहज थियो। पाल्पामा भने उत्पादित दूधबाट दही मात्र बन्न थाले। तर, त्यत्रा दही कसले खाइसक्नेर? सबै दही तह लगाउन तीन–चार खेप नै मोही पार्नुपर्ने भयो। धेरै जम्मा हुँदा दही पुरानो हुन थाल्यो। त्यसबाट अर्कै गन्ध निस्कियो। त्यत्तिकै फाल्न किसानलाई माया लाग्यो। उनीहरूले अचार बनाउने विकल्प निकाले।

त्यतिबेला आलु प्रशस्त उत्पादन हुन्थ्यो। उनीहरूले उसिनेको आलुलाई दहीसँग मिसाए। अलि अमिलो बनाउन चुक हाले। अनि बन्यो, चुकाउनी।

चुक अमिलो मिसाएकैले चुकाउनी भनेको हुन सक्ने कक्षपतिको भनाइ छ। ‘पछि त कागती वा निबुवाको काँचो रस पनि हाल्न थालियो,’ कक्षपति भन्छन्, ‘निख्खर कालो चुकको स्वाद अर्कै हुन्छ। दिनभरी भकभक उमालेर बाक्लो बनाइने चुकको स्वाद मौलिक हुन्छ। चुक हालेको चुकाउनी कागतीको काँचो रस हालेभन्दा रंगीन र स्वादिलो हुन्छ।’

पछि चुकाउनीलाई स्वादिलो बनाउन हरियो लसुन, प्याज र मेथी हालेर झान्ने चलन सुरु भएको कक्षपतिको भनाइ छ। अहिले त केराको पनि चुकाउनी बन्न थालेको कक्षपति बताउँछन्।

त्यताका नेवार अहिले पनि चुकाउनीको असली स्वादलाई नै प्राथमिकता दिन्छन्। उनीहरू प्याज, लसुन हालेर अघिल्लो दिन बनाएको चुकाउनी भोलिपल्ट मात्र खाँदा रहेछन्। दहीमा प्याज र लसुन मिसिइसकेपछि त्यसको बासना र स्वाद नै बेग्लै हुन्छ।

पाल्पा भेगमा चुकाउनी यति लोकप्रिय हुनुमा अरू अचारको भन्दा बेग्लै स्वाद हुनुले मुख्य भूमिका खेलेको कक्षपति बताँछन्।

‘हामी जोकोही दूधदही खाएरै हुर्कियौं,’ कक्षपति भन्छन्, ‘दूधदही प्रोटिनका लागि खाइन्छ भने आलु कार्बोहाइड्रेट। अमिलोले भिटामिन सीको काम गर्ने भयो। लसुन, प्याज र मेथीका आ–आफ्नै फाइदाजनक विशेषता छन्। चुकाउनीमा दुग्धजन्य स्वाद पनि पाइन्छ, आलुको स्वाद पनि। जुनसुकै परिकारसँग खाए पनि मिठो हुने भएकाले सबै समुदायले यसलाई अपनायो।’

नेवारी भोजमा यसले अनिवार्यता पाउनुमा चुकाउनीको स्वास्थ्यजनक विशेषता प्रमुख कारण हुन सक्ने कक्षपतिको अनुमान छ। उनको भनाइमा नेवारी भोजमा अन्तिममा दही राख्नुको कारण खाएको पचाउन सहज होस् भनेर हो। स्वास्थ्यका हिसाबले फाइदाजनक, शरीरलाई चाहिने धेरैखाले तत्व एकै परिकारमा पाइने र स्वादका हिसाबले चुकाउनी सबैको रोजाइमा परेको हुन सक्ने उनी बताउँछन्।
...

तपाईं पनि आजको शनिबार चुकाउनीको स्वाद चाखेर बिताउनु हुन्छ कि! अहिलेसम्म चुकाउनीको स्वाद नै चाख्नुभएको छैन भने पनि चिन्ता नलिनुस्। हामी बनाउने तरिका सिकाइदिन्छौं। एकचोटी प्रयास गरेर पो हेर्ने कि!

भान्छामा छिर्नुहोस्!

आवश्यकताअनुसार आलु, दही, प्याज, धनियाँ, नुन, तोरीको तेल, मेथी, बेसार, तील, रातो खुर्सानी र चुक अमिलो (चुक अमिलो नभए कागती वा निबुवा)–यत्ति भए चुकाउनीका लागि सामग्री पुग्यो।

भान्छामा छिरिसकेपछि सबैभन्दा पहिले आलु उसिन्न भाँडो बसाल्नुस्। आलुका अरु अचार त पक्कै बनाउनुभएको छ! हो, त्यत्तिकै गिलो भएपछि आलुलाई मझौला टुक्रा पार्नुस् र फराकिलो भाँडोमा राख्नुस्, ताकि, मोल्दा सजिलो होस्।

आलु उसिनिरहेको समयमा तपाईंले अरु साम्रगी ठिक पारिराख्नुस्। जस्तो कि, दही तयारी अवस्थामा होस्। मसिनो गरी प्याज काटिराख्नुस्। अर्को, कुरा प्याज नराखे पनि चुकाउनी बनाउन सकिन्छ है!

अब एउटा भाँडोमा थोरै तील भुट्नुस्। र, त्यसलाई सिलौटामा मसिनोगरी पिस्नुस्।

भाँडोमा काटेको आलु तयार छै हैन? त्यसमाथि काटेको प्याज राख्नुस्। नुन, तीलको धुलो र दही खन्याइदिनुस्।

अब तोरीको तेल तताउन एउटा भाँडो चुल्होमा बसाल्नुस्। सूर्यमुखीको तेल भए पनि हुन्छ। तेल तातेपछि रातो खुर्सानी र मेथी फुराउने। मेथी र खुर्सानी रातो गाढा रातो हुँदै कालो हुन नपाउँदै बेसार राख्नुस्। बेसारलाई कालो हुन नदिनुस् है। हाल्नेबित्तिकै पनि ननिकाल्नुस्।

अब आलु र दही राखेको भाँडोमा खन्याइदिनुस्। यसलाई झान्ने भनिन्छ। खन्याएको तेल अलि सेलाएपछि हातले मोल्नुस् र चुक अमिलो या कागतीको रस हालेर फेरि मोल्नुस्। हरियो धनियाँ काटेर माथिबाट फुर्रफुर्र छर्कनुस्।

देख्दैमा मुख रसाउने भएन त?

तस्बिर-गुगल

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु

    बाँकेको डडुवा गाउँपालिका–१ होलियाको कुडुवागाउँमा भएको आगलागीमा परेर एकै घरका तीनजना बालबालिकाको मृत्यु भएको छ। गएराति १२ बजे स्थानीय दुई छिमेकी दुलारे मुराउ र मुन्सी मुराउको घरमा लागेको आगलागीमा परी तीनजनाको मृत्यु भएको हो। आगोले जलेर घटनास्थलमा मृत्यु हुनेमा मुन्सी मुराउका छ वर्षीय बालक पवन मुराउ, आठ वर्षीय बालिका राधना मुराउ र १० वर्षीया बालिका सोनी मुराउ रहेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए। 

  • सोलुखुम्बु दूधकौसिकामा जिप दुर्घटना, एकको मृत्यु, आठ घाइते

    दूधकौसिका गाउँपालिका–८ देउसामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । सोताङ गाउँपालिका–५ मसेदा निवासी ३० वर्षीया विष्णुमाया बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।

  • पुनःनिर्माणको पर्खाइमा स्वास्थ्य संस्था

    दुई वर्षअघि गएको भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संस्था जग्गा, स्थानीय विवादलगायत कारणले पुनःनिर्माण हुन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार अधिकांश स्वास्थ्य संस्थाको आफ्नै भवन नभएकाले भूकम्पले क्षति पु¥याएपछि भने जग्गा विवाद हुँदा समयमै पुनःनिर्माण गर्न ढिलाइ भएको हो ।

  • कर्मचारीको व्यवस्थापन नहुँदा भूकम्पपीडितलाई सास्ती

    दोस्रो किस्ताका लागि सम्झौता भएर पनि भूकम्पपीडितले राहत रकम पाउन सकेका छैनन् । स्थानीय तहमा कर्माचारीको व्यवस्थापनको अभावकै कारण भूकम्पपीडितले रकम पाउन नसकेका हुन्। गत २०७३ फागुन २८ गते जिल्ला प्रशासन कार्यालयबाट दोस्रो किस्ताका लागि सम्झौता भए पनि अहिलेसम्म राहत रकम पाउन नसकेको गुनासो साविक रबिओपी गाविस हाल धुलिखेल नगरपालिकाकी स्थानीय कल्पना कोइरालाले पोखिन् । “घर बनाउन त ऋण गरेर सुरु गरियो तर अहिले दोस्रो किस्ताबापतको रकम नपाउँदा ब्याज बुझाउन निकै गाह्रो भएको छ” – उनले भनिन्।

  • रानीबारी वनमा चरा अध्ययन केन्द्र

    राजधानीको केन्द्र भागमा अवस्थित रानीबारी सामुदायिक वनमा पक्षी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवनको उद्घाटन भएको छ। नेपाल पक्षी संरक्षण सङ्घको स्थापना दिवसका अवसरमा रानीबारी वनमा आज आयोजित कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष हरिशरण काजी नेपालीले सो भवनको उद्घाटन गरेका हुन्। 

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी