त्रिभुवन विमानस्थलको सुरक्षा जाँच पार गरेर प्रहरीले साढे ३३ किलो सुन बरामद गरेपछि भन्सार कार्यालय त्यहाँ कार्यरत २९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।
सुन बरामद भएको बेला त्यहाँ कार्यरत कर्मचारीलाई तत्कालका लागि काम गर्नबाट हटाइएको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले सेतोपाटीलाई जानकारी दिए। कार्यालय सहयोगिदेखि उपसचिवसम्मका कर्मचारीलाई काम गर्न रोक लगाइएको हो।
विमानस्थल भन्सारमा उनीहरुलाई हटाएर अहिले अरु नै कर्मचारी खटाइएको छ। ड्युटीका क्रममा लापरवाही गरेको भन्दै भन्सार कार्यालयले उनीहरुलाई काम गर्न रोकेको हो। सुन काण्डपछि विभागले भन्सार विभागकै उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।
दुवईबाट आएका बाँकेका गोपालबहादुर शाहीको लगेजबाट सिआइबीले हिजो साँढे ३३ किलोभन्दा बढी सुन बरामद गरेको थियो। सुन लिन जोरपाटीमा बसिरहेका दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।