छल्केर पोखिएका दुई थोपा आँसु

  • Get News Alerts

united
tata
सार्क यतिबेला ‘कोमा’ मा छ।
 
तै काठमाडौंस्थित सचिवालयले कूटनीतिज्ञ तथा अन्य विशिष्ट पाहुना डाकेर केही दिनअघि रेडिसन होटलमा सार्क दिवस मनायो। सचिवालय स्थापनायता आठै मुलुकको नृत्य प्रस्तुत गरी पहिलोपटक यस किसिमको साँस्कृतिक काममा हात हालेको सार्क महासचिव एवं पूर्व परराष्ट्रसचिव अर्जुनबहादुर थापा बताउँछन्।
 
दक्षिण एसियाको भूराजनीतिले अस्तित्वको संकट भोगिरहेको यो संगठनमा साँस्कृतिक आदानप्रदानका माध्यमबाट केही भई पो हाल्छ कि भन्ने थापालाई लागिरहेको छ। नलागोस् किन? स्थापनाकालदेखिकै जटिलतालाई चिरेकै यसैले त थियो।
...
 
नेपाल टेलिभिजन भर्खर स्थापना भएको थियो। त्यतिबेलै अर्थात् २०४२ सालमा काठमाडौंस्थित पाकिस्तानी दूतावासका प्रथम सचिव साजादको प्रयासले ‘तन्हाइँया’ बाट सुरु भएको पाकिस्तानी टेलिसिरियलका लामै मधुर सम्झना अहिले पनि धेरै दर्शकले भुलेका छैनन्। हाम्रा सिनेनायक शिव श्रेष्ठ र नायिका सुषमा शाहीले पाकिस्तानमै बसेर लामो समय काम गरे। सलमा आगाहरू नेपाल आए।
 
यी सबै त पछिका कुरा हुन्। लौ भन्नुस् त, काठमाडौंमा गजलको माहोल कहिले र कसरी सुरु भएको थियो?
 
अम्बर रेस्टुरेन्टका निशान भट्टराई हुन् वा एभरेस्ट होटलका आनन्द कार्की, अघिल्ला गजल गायकहरूले सुनाउने अधिकांश सिर्जना पंकज उदासकै हुन्थे। तर, काठमाडौंमा गजलको वातावरण भित्र्याउने श्रेयचाहिँ फेरि उही पाकिस्तानसँगका सुमधुर दिनहरूलाई नै जान्छ।
 
२०४० सालका झरीहरू भर्खरै थामिन लागेपछि भदौमा पनि यो उपत्यका चिसै थियो। त्यतिबेलै पाहुना बनेका थिए विश्वले नै ‘शहंशाह–ऐ–गजल’ पुकार्ने मेहदी हसन।
 
प्रज्ञा प्रतिष्ठानको निम्तोमा यता आएका हसनले तीन दिनसम्म ‘शाम ऐ गजल’ प्रस्तुत गरे। उनलाई सात दिनसम्मै राजधानीले भव्य स्वागत गरेको थियो। संगीतपारखीका अनुसार त्यसले नै काठमाडौंमा गजलको स्वाद स्थापना गरिदियो।
 
त्यसलाई अझ जोडदार निरन्तरता दिएका थिए, गजलका अर्का महान हस्ती गुलाम अली खाँले।
 
डिजिटल प्रविधि नभित्रिएको त्यो जमानामा चार दिनमा चारवटा गीत तयार पारेर रेकर्डसमेत गरिभ्याउनु रकेटको वेगमा दौडन खोजेजस्तै हो। र, यसरी गरेको काम अर्थात् चारवटै गीत कालजयी बनिदिनु चाहिँ अर्को आश्चर्य।
 
‘गाजलु ती ठूला ठूला आँखा
तीर बनि बसे यो दिलैमा’ 
 
‘के छ र दिउँ तिमीलाई मैले कोसेली भनेर
ल्याएको थिएँ दुई थोपा आँसु पोखियो छल्केर’
 
‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौं उति हिस्सी लाग्छ’
 
‘लोलाएका ती ठूला, तिम्रा दुई नजरले, 
हेरिदिए मलाई चाहिन्न अर्को केही’
 
त्यसो त संगीतकार दिपक जंगमका एक से एक गीत छन्। उनकै शब्द र संगीतमा नारायणगोपालले ‘तिमीलाई म के भनौं’, ‘यति धेरै माया दिइ’, ‘साउनको झरी बनी तिमी आउन’ र अरुणा लामाले ‘लहरे बर घुमाउने चौतारी’ जस्ता गीत गाएका छन्। अझ दिपक खरेलहरूको सन्दर्भ जोड्यो भने त निकै लामो हुन्छ।
 
तै पनि गत साता उनीसँगको भेटमा ख्वै किन हो, मनबाट अर्कै प्रश्न निस्क्यो–
 
‘कसैकसैको जीवनभरका कमाइ नै दुई–चार दिनले पूरा गरिदिन्छ,’ थपेँ, ‘तपाईंको जीवनबाट गुलाम अलीसँगका त्यो चार दिन हटाइदिने हो भने असाध्यै ठूलो शून्यता हुँदैन?’
 
सुरुमा त एकछिन थामिए। कतै डुबेजस्तो देखिए।
 
‘एकदम,’ उनले भने, ‘त्यो चार दिनलाई नै मेरो जीवनको महत्वपूर्ण क्षण भनिदिँदा फरक पर्दैन।’
...
 
 
कुरा सुरु भएको रहेछ, त्यसअगावै पाकिस्तान पुगेको नेपाली साँस्कृतिक टोलीको भ्रमणबाट। विभिन्न प्रान्तमा लगभग एक महिनाभित्र नौवटा कार्यक्रम तय थियो।
 
‘शहंशाह ए गजलको भूमिमा पुगेपछि उहाँलाई भेट्ने लालसा कुनचाहिँ संगीतकर्मीमा हुँदैन?’ गायकसमेत रहेका जंगम भन्छन्, ‘मैले जानुअघि नै उहाँका कृतिहरु खोजतलास गरेर त्यसको अभ्यास गरेको थिएँ।’
 
कुनै पनि मुलुकमा गएर उनीहरूको लोकप्रिय गीत विदेशीले गाइदियो भने स्रोताले असाध्यै मनपराउँछन् भन्ने जंगमलाई राम्रोसँग थाहा थियो। त्यसमाथि पाकिस्तान पुगेपछि उताका आयोजकहरुले सकभर नृत्यभन्दा गायनमै बढी जोड दिन अनुरोध गरे। 
 
‘सक्नुहुन्छ भने हाम्रा गीत पनि गाइदिनु होला’ भनेपछि जंगमका आँखा टलक्क टल्किए। उनले मेहदी हसनको एउटा सिंगो अल्बमका गीतहरु कण्ठस्थ पारिसकेका थिए।
 
नभन्दै त्यसले चमत्कार गरिदियो। राजधानी इस्लामावादको कार्यक्रम सकेर कराँची पुग्नुभन्दा अगावै दिपक जंगमको नाम उता पुगिसकेको थियो।  त्यहाँको प्रसिद्ध ‘डन’ अखबारले प्राथमिकतासाथ प्रकाशित गरेको समाचारमा  ‘नेपालबाट एउटा मेहदी हसनको गीत फरक शैलीमा मिठोसँग गाउने मानिस आएको छ’ भनिएको थियो।
 
आफ्नै वासस्थान कराँचीमा जंगम पुग्दैछन् भनेपछि हसनले पनि भेट्ने इच्छा देखाए। जंगमलाई त यो ठूलै कुरो हुने नै भयो।
 
‘भेट्नुअगावै उहाँले मेरो सम्पूर्ण जानकारी लिइसक्नुभएको रहेछ,’ जंगम भन्छन्, ‘त्यति उच्च गायकमा मप्रतिको हार्दिकता देखेर चकित भएँ।’ 
 
संगीत र अझ गजलका मामलामा खानदानी महासागरको छेउमा पुगेपछि जंगमसँग सोध्नुपर्ने कुरा धेरै थिए। जान्नुपर्ने जिज्ञासा अनेक थिए। त्यसैले दिनभरि नै हसनको घरमा दुई जनाबीच कुराकानी भए। हिँड्ने बेला जंगमले बेलुकीको कार्यक्रम निम्ति निम्तो दिए। हसनले पनि ‘म तपाईंको गीत सुन्न आउँछु’ भने। 
 
बेलुकी त मेहदी हसन आफूमात्र होइन, कराँचीका एकसेएक वरिष्ठ सञ्चारकर्मी र संगीतज्ञहरुको लश्करै लिएर पुगेछन्। कार्यक्रमको अन्तिमसम्मै बसे र हिँड्नेबेला अंगालो मारेर धन्यवाद दिए। 
 
‘त्यो घटनाले मभित्र ठूलो परिवर्तन ल्याइदियो,’ जंगम भन्छन्, ‘मजस्तो संगीतमा लाग्नुपर्ने मानिसका निम्ति त्यसले ठूलो आत्मविश्वास जगाउनु स्वाभाविक थियो।’ 
 
लगत्तै फेरि लाहौरमा कार्यक्रम रहेकाले भोलिपल्टै टोलीले कराँची छाड्यो। र, त्यो भेट त्यतिमै सीमित भयो।
 
त्यसपछि प्रज्ञा प्रतिष्ठानको निम्तोमा पहिलोपटक नेपाल आएका मेहदी हसनले प्रज्ञाकै जागिरे दिपक जंगमलाई खोज्नु स्वाभाविक थियो। उनी यहाँ बसुन्जेल जंगमले नै रेखदेखको सम्पूर्ण जिम्मेवारी पाए।
 
त्यो समयको भरपुर फाइदा उठाउन चाहन्थे जंगम। त्यसैले राजा महेन्द्रले लेखेका एउटा गीत ‘भन लौ तिमी नढाँटी’ तत्कालै तयार पारेर मेहदी हसनलाई प्रस्ताव गरे। हसनले प्रज्ञा भवनको कार्यक्रममा त्यसलाई गाएर त सुनाए। तर, व्यवस्थित रेकर्ड हुन पाएन।
 
‘मलाई तपाईंको भाषा आउँदैन र यसमा मुड पनि समात्न सकेँ जस्तो लागेन’ हसनले त्यतिबेला भनेका रहेछन्।
 
तै पनि मेहदी हसनको उचाइका मानिसले नेपाली गीत गाइदिएका थिए। त्यसमा पनि मविवि शाहको। उनलाई त्यो भ्रमणकै क्रममा गोरखा दक्षिणबाहु ‘प्रथम’ले विभूषित गरियो। कुनै पनि विदेशी संगीतकर्मीले पाएको त्यो पहिलो यति उच्च सम्मान थियो।
 
आफूले रेकर्ड गर्न नपाए पनि महेन्द्रकै गीतलाई जंगमकै संगीतमा पाकिस्तानी आवाजले सिँगार्ने अठोट मेहदी हसनले लिएर फर्के। जंगमका अनुसार निकै पछिसम्म पनि मेहदी हसनले अन्तर्वार्ताहरुमा नेपालको उल्लेख गरेका थिए। त्यसको डेढ वर्ष नबित्दै काठमाडौंमा अर्का महान गजल गायक गुलाम अली आइपुगे। 
 
‘त्योबेला राजनीतिक तवरबाट एकातिर सार्क स्थापनाका तयारीले तीब्रता पाइरहेको थियो,’ जंगम सम्झन्छन्, ‘अर्कातर्फ नेपाल, पाकिस्तान र बंगलादेशका बीचमा साँस्कृतिक आदानप्रदानका गतिविधि धमाधम अघि बढिरहेका थिए।’
 
मेहदी हसनजस्तै गुलाम अली पनि काठमाडौं आएपछि जंगमसँग नजिकिए। ‘अघिल्ला भेटहरुमै खाँ साहेबले आफूलाई सकभर नेपाली गीतहरू रेकर्ड गरेरै फर्किनु भन्ने उतैबाट इशारा लिएर आएको संकेत दिइसक्नुभएको थियो,’ जंगम भन्छन्, ‘मविवि शाहकै शब्द र मेरै संगीतका चारवटा रचनाहरूको चाहना उहाँले राख्नुभयो।’
 
जुन पार्टीमा गुलाम अलीले जंगमलाई त्यसो भनेका थिए, त्यसपछिको चार दिन मात्र उनको बसाइँ काठमाडौंमा हुँदै थियो। त्यसमाथि तीन दिन त कन्सर्ट नै थिए। 
 
यति छोटो अवधिमा भ्याउन कसरी सम्भव हुन्थ्यो?
 
त्यतिबेला जंगमलाई आँट दिलाउने दुईवटा कुरा मात्र थिए। एक, यस्तो अवसर जीवनमा विरलै मिल्छ भन्ने चेत। अर्को, त्यतिबेला रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धकको कुर्सीमा आफैं विराजमान हुनु। 
 
त्यो स्वागत पार्टीमा गुलाम अलीले जंगमलाई दुईवटा गीत तयार पारेर भोलि नै ११ बजे आफू बसेको एभरेष्ट होटलमा आइपुग्नु भनेका थिए। 
पार्टीबाट घर फर्किंदा नै एघार बजिसकेको थियो। अर्थात् उनीसँग अब केवल १२ घन्टा थियो। त्यसै बीचमा सुत्नु पनि पर्ने र भोलि बिहानै पद्मकन्या क्याम्पस पुगेर पढाउनु पनि पर्ने। 
 
कसरी सम्भव होला?
 
‘तै मसँग मविवि शाहका गीतहरुको किताब थियो,’ जंगम भन्छन्, ‘पार्टीबाट फर्किने बित्तिकै काममा जुटेँ।’ 
 
सबैभन्दा पहिले छानिएको गीत थियो ‘लोलाएका ती ठूला, तिम्रा दुई नजरले’। अलीको गायकी र शैली हेरेर जंगमले त्यसमा सेमी क्लासिकल र गजलको स्वाद मिसाएर कम्पोज गरे।
 
‘मविवि शाहका ती शब्दमै संगीत भरिएका थिए,’ उनी भन्छन्, ‘मैले त्यसको उत्खनन् मात्र गरेको हुँ।’
 
आफ्नो भनाइलाई पुष्टि गर्दै जंगमले एउटा लाइन गुनगुनाए।
 
‘छिनेको त्यो कटीमा, जलको घडासरी भई
टाँसिरहन पाए, चाहिन्न अर्को केही’ 
 
‘लौ हेर्नुस् न, कति मिठोसँग एउटा सिंगो इमेज र क्यारेक्टर उभ्याइएको छ त्यहाँ,’ थपे, ‘मैले त्यो राति साढे दुई नबज्दै यो गीतको संगीत तयार पारिसकेको थिएँ।’
 
यसरी तयार पारेको भए पनि गुलाम अलीले आफ्नो स्तर सुहाउँदो लागेन भन्दै अस्वीकार पो गरिदेलान् कि भन्ने छटपटीमै उज्यालो भयो। अनिँदो राता आँखा लिएरै उनी छ बजे कलेजमा पढाउन पुगे। विद्यार्थीहरुले घेरिहाले। ‘आज एकदिन क्लास लिन्नँ, केही सोध्नु छ भने सोधिहाल’ उनले भनेछन्। विद्यार्थीहरु पनि के कम? ‘सर, तपाईंले गर्नुभएको काम हामीले चुप लागेर हेर्न मिल्दैन?’ भनेर सोधे। उनले सहमति जनाए।
 
त्यसपछि जंगमको गोजीबाट अर्को गीत निस्क्यो
 
‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ’
 
ट्युनिङ गर्दागर्दै अचानक विद्यार्थीहरू पनि उनी सँगसँगै गाउन थाले। केही मिनेटमै उनीहरु निकै पहिलेदेखि सुनिरहेको गीतजस्तै सर्रर गाउन थालिहाले।
 
‘मैले फेरि फेरि गाउन लगाएँ,’ जंगम भन्छन्, ‘उनीहरुको गलाबाट फेरि दुरुस्त सुनेपछि मेरो खुशीको सिमाना नै रहेन।’
 
जंगमले यस्तो दबाबमा रहेर सिर्जना गरिरहेको गीत नयाँ पुस्ताले तत्कालै टिपिरहेको थियो। अर्थात्, एक किसिमले स्वीकारोक्तिको पूर्वसंकेत त्यहीँनिर मिल्यो।
 
हार्मोनियम बन्द गरे र सरासर होटलतिर लागे। साढे ११ बजे गुलाम अलीसँग भेट भयो। गीत सुन्नेबित्तिकै अभ्यासमा लागिहाले। एक ठाउँमा चाहिँ उनलाई टिप्न अलिक अप्ठेरो भएछ। 
 
‘सौभाग्यशाली औँठी तिम्रो त्यो हातको भई
स्पर्श मात्र पाए, चाहिन्न अर्को केही’
 
जंगमका अनुसार त्यहाँनिर अलिक ‘हाइ नोट’ थियो। त्यसलाई तल झारियो। अब चाहिँ पूरै गाइसकेपछि गुलाम अलीले ‘मलाई त यो असाध्यै मनपर्यो’ भनिदिए।
 
‘अस्वीकृत पो होला कि’ भनेर तर्सिरहेको मान्छेलाई अब चाहिँ बल्ल स्वास आयो।
 
त्यसपछि थियो ‘किन किन तिम्रो तस्बिर’
 
यो दोश्रो गीतमा चाहिँ गजल परम्पराभन्दा फरक नेपालमा चल्तीको ‘ट्रेण्ड’ पछ्याएको जानकारी उनले अलीलाई दिए। 
 
‘ए यहाँको कलर यस्तो छ?’ अलीले भनेछन्, ‘एकदम ठीक छ। मलाई त यो मनपर्यो।’
 
भोलिपल्ट नै रेकर्डिङको निम्ति योजना तय भयो। रत्न रेकर्डिंगसँग आफ्नै स्टुडियो थिएन। त्यसैले रेडियो नेपाल बुक गरियो। म्युजिक एरेन्जमेन्टको जिम्मा संगीतकार शुभबहादुर सुनामलाई दिएपछि सम्पूर्ण वाद्यवादन युनिटको झन्झट बोकिरहनै परेन। 
 
‘तै संयोगले त्यतिबेला खाँ साहेबसँग सुफी गायिका आविदा परवीन पनि आएकी थिइन्,’ जंगम भन्छन्, ‘यता गीत रेकर्ड भइरहँदा उता कन्सर्टमा आधा भाग आविदाले गाइदिने हिसाबले समय मिलाएका थियौं।’
 
त्योबेला अहिलेको जस्तो मल्टी ट्रयाक सिस्टम थिएन। एकैपटकमा सिंगो गीत रेकर्ड गर्नुपथ्र्यो। 
 
‘यस्तोमा उता आविदाले गाइसकेर खाँ साहेबको पालो आइसकेको छ,’ जंगम भन्छन्, ‘यता रेकर्ड ओके भएकै छैन।’ 
 
त्योबेला एउटा सानो गल्ती हुनेबित्तिकै फेरि सुरुदेखि रेकर्ड थाल्नुपर्थ्यो। साह्रै दबाब आएपछि जे पर्ला पर्ला भनेर जंगमले ठूलै जोखिम मोले। 
 
‘काटकुट पारेरै भए पनि काम लिन्छु भन्दै एकैपटक दोश्रो अन्तराबाट रेकर्ड सुरु गराएँ,’ उनले भने, ‘त्यो एनालगको जमानामा अलिकति पनि तलमाथि भइदिए सिंगो रेकर्ड गरेको गीतै ध्वस्त हुन्थ्यो। तै पनि मसँग विकल्प थिएन।’ 
 
यसरी हतारमा गरिएको रेकर्डिंङकै कारण यस्तो जोखिम दुईवटा गीतमा उठाउनुपरेको थियो।
 
‘गाजलु ती ठूला ठूला आँखा’मा पनि त्यस्तै भएको थियो।
 
रेकर्डको बेला जंगम भित्र कन्डक्ट गरेर बसेका थिए। त्यत्रो टिमको एक एक गतिविधि मिलाउनुपथ्र्यो। ३५ जनाभन्दा बढी त वाद्यवादनकै थिए। यस्तोमा एकजना सिनियर आर्टिस्टलाई बाहिर राखेर ‘माइनर डिटेल’ सुन्न लगाइन्थ्यो। कतै तलमाथि सुनिनेबित्तिकै ठाउँको ठाउँ ठ्याक्कै रोक्ने जिम्मेवारी दिइएको हुन्थ्यो। यसरी तैनाथ गरिएका ती सिनियर आर्टिस्टले दुईपटक लिएको टेकमा दुवैचोटि ‘ओके’ गरिदिएछन्।
 
काम सकिएको संकेत पाएपछि गुलाम अली पनि फर्किहाले।
 
भोलिपल्ट सम्पादनको टेबलमा बस्दा भने जंगमले तिरिमिरि झ्याइँ देखे। पहिलो टेक बिग्रिएको थियो भने दोश्रोमा पनि एक ठाउँ गुलाम अलीको आवाज फाटेको थियो। फेरि रेकर्ड सम्भवै थिएन। अब के गर्ने? 
 
फाटेको स्वर जस्ताको त्यस्तै राखेर गीत प्रसारण लायकै हुँदैन थियो। ‘त्यसपछि एउटै उपाय थियो,’ जंगमले सुनाए, ‘त्यो फाटेको स्वरलाई त्यहीँ भित्रको आवाज प्रयोग गरेर जसरी भए पनि थिचथाच पारिदिनु।’
 
सबैभन्दा पहिले त्यो फाटेको स्वरले कति एरिया कभरेज गरेको रहेछ भनेर इन्टरभलको गन्ती गरियो। ठ्याक्कै त्यति भागलाई हिसाब गरेर त्यो आवाजलाई अर्को आवाजबाट ‘डोमिनेट’ गराउने योजना बन्यो। तर, एक सेकेन्डको पनि सयौं हिस्सा गणना हुने त्यहाँनिर छिसिक्क तलमाथि भइदियो भने सिंगो रेकर्ड ध्वस्त हुन्थ्यो।
 
साउन्ड इन्जिनियरले मान्दै मानेनन्। 
 
‘बिग्रे बिग्रन्छ। मेरो यत्रो मेहनत परेको चिज हो। म जोखिम मोल्छु,’ जंगमले पनि अड्डी लिए।
 
सम्पादन टेबुलमा बसेर जंगमले दुईवटा नब समातेँ र साउन्ड इन्जिनियरलाई अर्को दुईवटा नब घुमाउन लगाए। मिटर तीब्रसँग घुमिरहेको थियो। यता त्योभन्दा तेज धड्कन चलिरहेको थियो। जे पर्ला पर्ला भनेर जंगमले ठ्याक्कै तोकिएको समयमा अन्दाज लगाएर हिर्काए। उनको हिम्मतलाई भाग्यले पनि साथ दियो। एनालग रेकर्डको त्यो जमानामा अत्यन्त कठिन र जोखिमपूर्ण त्यो काम सम्पन्न भइदियो।
 
‘आज पनि ठूलो सेन्सिटिभ साउन्ड सिस्टममा मिहिन पाराले सुन्ने हो भने ठ्याक्क त्यो ठाउँमा इको ह्वात्त बढेको थाहा पाइन्छ,’ जंगम भन्छन्, ‘सामान्य श्रोताले चाल नपाउने त्यही इकोले त्यति महत्वपूर्ण गीतलाई बचाइदियो।’
 
त्यो क्रममा रेकर्ड भएका चारवटै गीत ‘कुनभन्दा कुन कम’ थिए। तर, श्रोताले सबैभन्दा बढी मनपराएको गीत यही ‘गाजलु ती’ भइदियो।
 
‘मिठो स्वर भइकन पनि अनौठो उच्चारण आइरहेकाबेला त्यस गीतमा प्रयोग गरिएको आलापले पो श्रोताको ‘मुड’ डोर्याइदिन चमत्कार गरेको थियो कि?’
 
गीत सुरुहुनुभन्दा अगाडि र अन्त्यका चामत्कारिक गुनगुनाहटबारे मैले लामो समयदेखि आफूभित्र रहेको जिज्ञासा यसका संगीतकारसँगै राखेँ।
 
‘हो,’ जंगमले भने, ‘एकदम सही कुरा।’ 
 
त्यसो भए त्यहाँनिर आलाप राख्ने निर्णय कसले लिएको थियो?
 
‘मैले,’ उनले थपे, ‘खाँ साहेबले त उल्टो आलाप राख्न मानिरहनुभएकै थिएन।’
 
रेकर्ड गर्न बसेकै बेला जंगमलाई यो गीतमा केही फरक गर्नुपर्छ भन्ने लागिरहेको थियो। तर, त्यो फरक के हुनसक्छ?
 
‘खाँ साहेब, यसमा सानो आलाप राखौं है’ उनले भने।
 
‘नगरौं,’ गुलाम अलीले निधार खुम्च्याउँदै जवाफ दिएछन्। जंगमले पनि अनुरोध गरिरहन छाडेनन्। यसरी भनसुन भइरहँदा त्यहाँ पाकिस्तानबाटै आएका ‘ग्रुप डाइरेक्टर’ पनि थिए। 
 
‘यो त ठीक छ नि, के भो त?’ जंगमले तयार पारेको आलाप सुनिसकेपछि उनले गुलाम अलीलाई सम्झाएछन्, ‘सिर्जना गरिरहेको मानिसले कहाँ के कसरी गरिरहेको छ त्यसलाई तपाइले गम्भीरतापूर्वक लिनै पर्छ।’
 
त्यसपछि बल्ल गुलाम अली अलिक नरम भएछन्।
 
‘मैले फ्रेम यसरी बनाए पनि तपाईंले आफ्नो अनुकूलता प्रयोग गर्नुस् न,’ जंगमले पनि अलीलाई सहज पार्दै भनेछन्, ‘यसमा मुर्की र हर्कत चाहिँ तपाईं स्वयंले तय गर्नुभए हुन्छ।’
 
अर्थात्, नोट जंगमकै भए पनि त्यसलाई गुनगुनाउने बेला कहाँ कति र कसरी घुमाउने भन्ने छुट गायकलाई नै दिइयो।
 
यसरी त्यो सिंगो आलाप गुनगुनाइएको थियो।
 
त्यो एउटा तत्काल आएको परिकल्पनाले गीतलाई नै चमत्कार गरिदियो।
‘रेकर्डिंग सकिएपछि खाँ साहेबले तत्कालै बजाउन लगाएर सुन्नु भयो,’ जंगम भन्छन्, ‘त्यसपछि सरासर आएर मलाइ ग्वाम्लाङ्ग अंगालो मार्नुभएको थियो।’
 
यस किसिमको आलाप राख्ने प्रयास आफूले पछि पछि पनि गरेकामा नेपाली गायक गायिकाहरुबाट चाहेजस्तो कामै लिन नसकेको जंगम बताउँछन्।
‘त्यतिबेला मैले यस्तो मानिस भेटेको थिएँ जसबाट जुनसुकै काम पनि लिन सकिन्थ्यो,’ जंगम भन्छन्, ‘निरन्तर उचा हस्तीहरुसँग काम गर्न पाइरहेका मानिसको सिर्जना त्यही भएर त स्तरिय हुन्छन्।’ 
 
हो त। हामी सामान्य गायकको कुरै गरिरहेका थिएनौं। खूद नारायणगोपालले समेत एकसमय नेपाली प्रेससँग आफुलाई सबैभन्दा मनपर्ने गायक भनेर बताएका गुलाम अली पो थिए।
 
जंगम, अली र मविवि शाहको समागममा बनेका चारवटा गीत चार किसिमका छन्। ‘के छ र दिउँ तिमीलाई मैले’ अलिकती सेमी क्लासिकल छ। त्यही अनुकुलको राग त्यसमा मिसाइएको छ। ‘लोलाएका’ लाई गजलको धेरै नजिक पुर्याएर तयार पारिएको छ। ‘गाजलु ती’मा पहाडी रागको प्रभाव भए पनि त्यो अगाडि राखेको आलापले फेरि अर्कै काम गरेर गजबको स्तरमा लगिदिन्छ।
 
‘बारम्बार यस्तो मौका आइरहँदैन भन्ने कुरालाई गाँठो पारेरै मैले यी काम गरेको थिएँ,’ जंगम भन्छन्, ‘ती चार दिनका प्रत्येक सेकेण्ड जति प्रसवमा बितेको थियो, अहिले सम्झँदा उत्तिकै आनन्द लाग्छ।’
 
आफ्नो सिर्जना जसलाई पनि प्रिय हुन्छ। तर, श्रोताको फराकिलो घेराबाट वाहवाही पाउँदा चाहिँ सर्जकलाई मिल्ने आनन्दको वर्णनै हुन्न।
 
तीन दसक नाघिसक्दा पनि अझै यी गीतहरु नयाँ पुस्ताका तन्नेरीले गाएर युट्युबमा राखेको देख्दा जंगम दङ्ग पर्छन्। अझ, यु ट्युबमै खूद गुलाम अलीले गाएकोभन्दा बढी हिट नयाँ पुस्ताको रेकर्डमा देख्दा उनको आश्चर्यले सिमा नाघ्छ।
 
कुनै समय तत्कालीन राजा महेन्द्रले लेखेका गीतलाई उतिबेलै रेडियोमा अरु नै गायकबाट रेकर्ड गरिएको थियो र उतिबेलै यी गीतहरु हराइसकेका पनि थिए। तर, जंगम र गुलाम अलीको प्रयासले पाएको दोश्रो जीवन कैयौं गुणा बढी प्रभावकारी बन्न पुगे।  
 
‘पञ्चायतकालमा यस्तो काम गरेपछि दरबार त निकै खुसी भएको थियो होला नि?’ मैले सोधेँ।
 
‘यस्तो जिज्ञासा मलाई धेरैले धेरैपटक राखे,’ जंगम भन्छन्, ‘जबकि न मैले दरबारबाट केहि आश गरेको थिएँ न त मेरा निम्ति कसैले केही गरे।’
 
उनका अनुसार यो गीत रेकर्ड भएको लगत्तै पदावधि सकिएर उनी रत्न रेकर्डिङ संस्थानबाट बाहिरिए। त्यसपछि आजसम्म कुनै पनि सरकारी ओहोदामा पुग्ने वा अन्य कुनै लाभ लिने काम उनले गरेकै छैनन्। 
 
‘आजीवन कलेजमा पढाएरै बिताएँ,’ उनी भन्छन्, ‘भर्खरै अवकाश पाएको छु।’
 
सत्ताको नजिक रहेकालाई जथाभावी नियुक्ति दिने काम त्यो समयमा अहिले जस्तो नरहेको जंगम प्रस्ट पार्छन्। 
 
उनले एकैछिन निधार खुम्च्याएर सोचेपछि पुरानो याद निकाले। ‘बरु मलाई एकपटक मुमा बडामहारानी रत्नका नजिक रहेका व्यक्तिले चाहिँ सम्पर्क गरेका थिए,’ उनले भने, ‘संगीतमा पनि लगाव रहेका ती मानिसले मलाई ‘मुमा बडामहारानीले तपाईंको काम साह्रै मनपराउनु भएको छ’ भनेर सुनाएका थिए।’
 
‘त्यसपछि के गर्नुभयो त?’
 
‘मैले धन्यवाद भनेँ,’ जंगमले थपे, ‘बस् त्यत्ति हो।’
 
२०४२ साल बैशाख १ गते अर्थात् ढाकामा पहिलो सार्क शिखर सम्मेलन आयोजना हुनुभन्दा आठ महिनाअघि यी चारवटा गीत सार्वजनिक भएका थिए।
 
‘कुन मुलुकको नजिक र कुन मुलुकसँग टाढा भन्दा पनि क्षेत्रीय भाइचाराको पक्षधरतामा त्यतिबेला थुप्रै काम भएका थिए,’ सार्क स्थापनाताका साँस्कृतिक आदानप्रदानका कार्यक्रम लिएर सबैजसो मुलुक पुगेका जंगम भन्छन्, ‘आज ती सबै प्रयास धराशायी भइसकेका छन्।’
 
सार्कका पूर्व महासचिव यादवकान्त सिलवाल पनि यसका भुक्तमान हुन्।
 
सार्कका अघिल्ला दिनबारे जानकारी राख्ने सिलवालका अनुसार भारत र पाकिस्तानका समस्या सार्क स्थापनाकै बेला पनि उस्तै थियो। ‘त्यतिबेला सरकारी र जनस्तरबाट भएका अनेक साँस्कृतिक आदानप्रदानले सम्बन्ध खुकुलो पार्न सघाएकै हो,’ सिलवाल भन्छन्, ‘अहिले त सार्क आफैं कोमामा पुगेको छ।’
Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • क्यान्सरका कारण चार दिनमा दुई कैदीको मृत्यु

    क्यान्सरका कारण चार दिनमा दुई कैदीको मृत्यु

    चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ । यही चैत ९ गते एकजना क्यान्सर रोगी कैदीको मृत्यु भएकामा शनिबार अर्का एक जनाको क्यान्सरकै कारण ज्यान गएको जिल्ला कारागार चितवनले जनाएको छ ।

  • बर्डफ्लु देखिएपछि कास्की र सुनसरीमा उच्च सतर्कता

    बर्डफ्लु देखिएपछि कास्की र सुनसरीमा उच्च सतर्कता

    यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत गर्न दिइएको छ ।

  • ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा ३ जनाको ज्यान गयो

    २ जनाको अत्तरियाको पद्मा र धनगढीस्थित सेती अञ्चलमा उपचारका क्रममा मृत्यु भएको र एक जनाको यहाँ उपचार सम्भव नभए पछि नेपालगञ्जको कोहोलपुर लैजाने क्रममै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्याललय केलालीका डिएसपी बिरबहादुर बुढामगरले जानकारी दिए।

  • पत्रकार आचारसंहिताको पालनामा जोड

    पत्रकारिताको मूल्य र मान्यतालाई बचाउन पत्रकारले आचारसंहिताको पालना गर्नुपर्ने सञ्चार सम्बद्ध व्यक्तिले आग्रह गरेका छन्। राज्यको चौथो अङ्ग पत्रकारिताले समाजलाई डोर्‍याउने भएकाले त्यसलाई अनुशासनमा राख्नका लागि पत्रकार आचारसंहिताको पालना गर्नुपर्ने बताएका हुन्।

  • महिलालाई आत्मनिर्भर बनाउँदै राष्ट्रपति उत्थान कार्यक्रम

    राष्ट्रपति उत्थान कार्यक्रमको तीन महिने तालिम लिन आएकी एक सहभागी हुन् बाँधु गाविस–६ की राधिका अधिकारी। उनी अहिले ३९ वर्षकी भइन्। महिला तथा बालबालिका कार्यालय, बाजुराले सञ्चालन गरेको तीन महिने हाते होेजियारी तालिम लिन सामान्य परिवारकी अधिकारी दुई दिन पैदल हिँडेर सदरमुकाम आएकी हुन्। छोराछोरीको कुनै चिन्ता नमानी तालिममा एकमन भएर सीप सिक्ने अधिकारीको लक्ष्य रहेको छ।

लोकप्रिय

vianet

सूचनापाटी