फाइल फोटो
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध नियन्त्रणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।
६१ औं अपराध अनुसन्धान दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले अपराध नियन्त्रणमा नागरिकहरुको साथ अति आवश्यक रहेको बताए। उनले अपराधीहरुको संजाल बढदै गएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारी, गैरसरकारी सबै पक्षको योगदानको खाँचो औंल्याए।
महानिरीक्षक अर्यालले सक्षमताको विकास नभई प्रहरी संगठनले आफनो कामलाई प्रभावकारी बनाउन नसक्ने पनि स्पष्ट पारे। अपराधलाई नियन्त्रण गर्न र राज्यले बनाएको ऐन कानुनलाई पालना गर्न पनि प्रहरी संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए।
दिवसको अवसरमा प्रमाणमुखि अपराध अनुसन्धानका लागि पोलिग्राफ शाखालाई थप प्रभावकारी बनाइएको पनि जानकारी दिइएको छ। बैदेशिक रोजगारीमा जानेहरु ठगिनेक्रम बढ्दै गएकाले यसको सुचना संकलनका लागि छुटै डेस्क खडा गरी काम सुरु गरिएको पनि नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीले अपराध सुचना संकलन र विश्लेषणका लागि इन्टेलिजेन्स नेटवर्किङ ४० जिल्लामा विस्तार गरिएको पनि जनाएको छ।