जो बाहिरी आँखाले बाहिरी दृश्य पढ्न सक्दैनन्, उनीहरू कानले संसार पढ्छन्।
यो प्रविधिको कमाल हो।
प्रविधिको यति विकास हुन्थेन भने दृष्टिविहीनहरूलाई संसार चियाउने पुस्तकको सम्पर्कमा पुग्न निकै गाह्रो पर्ने थियो। अहिले निकै सजिलो भएको छ। काखको ल्यापटप, टेबुलको कम्प्युटर होस् या खल्तीको मोबाइल– उनीहरू आफूले चाहेअनुसारको किताब पढ्न सक्छन्।
यो सहजता उपलब्ध गराएको छ, नेपाल राष्ट्रिय अपांग मानवअधिकार संरक्षण मञ्चले। भृकुटीमण्डपस्थित कार्यालयमा करिब ६ सय दृष्टिविहीन अडियोबाट किताब पढ्ने सदस्य बनेका छन्।
जसमध्ये एक हुन्, गोविन्दप्रसाद आचार्य। रत्नराज्य क्याम्पसमा नेपाली विषय पढाउँदै आएका आचार्य अडियो किताबकै सहाराले ‘प्रगतिवादी खण्डकाव्यका प्रवृत्ति’ शीर्षकमा पिएचडी गर्दैछन्।
जसमध्ये एक हुन्, दीपक माझी। रसुवा जिल्लामा विद्यालय निरीक्षक पदमा कार्यरत माझी अडियो किताबकै सहाराले उप–सचिव पदमा भिडिरहेका छन्।
जसमध्ये एक हुन्, नीरा अधिकारी। महिला तथा बालबालिका मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत अधिकारी पनि अडियो किताबकै सहाराले उप–सचिव पदकै लागि तयारी गरिरहेकी छन्।
यी प्रतिनिधि उदाहरण मात्र हुन्, अडियो किताब पढेर थुप्रै दृष्टिविहीनहरूले स्नातक, स्नातकोत्तरदेखि शिक्षक सेवा, लोकसेवाका परीक्षासमेत पास गरेका छन्। गत वर्ष ६३ जना दृष्टिविहीनले शिक्षक सेवामा नाम निकालेका थिए। तीमध्ये अधिकांशले भृकुटीमण्डपको अडियो लाइब्रेरीबाटै पुस्तक लिएको मञ्चका महासचिव रमेश तिवारी बताउँछन्।
लाइब्रेरीमा आउनेमध्ये अधिकांशको रोजाइमा लोकसेवा, शिक्षकसेवा, एजुकेसन, आर्ट्सजस्ता विषय र बजारमा चर्चा पाइरहेका साहित्यिक किताब पर्ने उनको भनाइ छ। साहित्यिक किताब भने पाइरेसीको मारमा पर्ने गरेको उनले सुनाए।
लाइब्रेरीका डिजाइनर हुन्, मञ्चका अध्यक्ष बाबुकृष्ण महर्जन।
यो ०५८ सालतिरको कुरा हो। महर्जन स्कुल पढाउँथे। सुरु–सुरुमा आफूले पढेर थाहा पाएको कुरा पढाए। जब हरेक वर्ष उही कुरा दोहोरिँदै जान्थ्यो, उनलाई लाग्यो, ‘मैले विद्यार्थी र आफैंलाई ठगिरहेको छु। यसरी सधैंभरी एउटै कुरा पढाउने हो भने न विद्यार्थीको स्तर बढ्छ न आफ्नै।’
‘मलाई त्यतिबेला आफूमा नयाँ ज्ञानको खडेरी परेको आभाष भयो। सँगै, नेपाली शिक्षामाथि नै मैले घात गरिरहेको छु भन्ने लाग्यो,’ महर्जन अगाडि थप्छन्, ‘विद्यार्थीलाई राम्रो शिक्षा दिनुछ भने शिक्षकले झनै पढ्न जरुरी हुन्छ, तर दृष्टिविहीनले कसरी पढ्ने? नयाँ किताब पढौं, आफूले नसक्ने। अरूलाई पढाउन लगायो, कसैले आफूले चाहेअनुसारको नपढिदिने। स्कुल÷कलेज पढ्दादेखि नै मैले यस्तै कष्ट भोग्दै आएको थिएँ। सरसंगतका दृष्टिविहीनले पनि यस्तै भोगेको देखेपछि सोचेँ, अडियो लाइब्रेरी सुरु गर्छु। ताकि, दृष्टिविहीनले आफूले चाहेअनुसारको किताब पढ्न पाउन्।’
यसपछि उनी हान्निए, न्युरोड। र, आफ्नै खल्तीबाट पाँच हजार रुपैयाँ निकालेर सोनीको क्यासेट प्लेयर किने। केही दर्जन रिलवाला खाली चक्का पनि किने। मञ्चका महासचिव रमेश तिवारीलाई आफूसँग भएका किताब खर्रर पढ्न लगाएर चक्का भरे। अरुसँग किताब मागे, नयाँ किताब किने र रेकर्ड गराउन थाले। अडियो लाइब्रेरीको सदस्यता आह्वान गरे। विस्तारै सदस्यहरु थपिँदै गए।
मञ्चका उपाध्यक्ष तिवारीका भनाइमा त्यतिबेला निकै कम दृष्टिविहीन अडियो लाइब्रेरीको सम्पर्कमा आइपुगेका थिए। विस्तारै एकले अर्कोलाई सुनाउँदै गएपछि एसएलसीसम्म पढेर छाडेका दृष्टिविहीनले उच्च शिक्षा सुरु गरे। किनकि, पाठ्यक्रममा एसएलसीसम्म मात्र ब्रेललिपीमा पढ्न पाइन्छ।
हुन त सरकारी स्तरबाट पनि अडियो लाइब्रेरीको व्यवस्था नभएको होइन। पृथ्वीनारायण क्याम्पसमा मात्र यस्तो व्यवस्था छ। देशमा यति धेरै कलेज हुँदा पनि प्रविधिलाई उपयोग नगरेको र आफूहरूलाई पढ्न गाह्रो हुने दृष्टिविहीनहरुको गुनासो छ। भृकुटीमण्डपस्थित लाइब्रेरीमा भेटिएका सुमितको भनाइमा दृष्टिविहीनलाई कक्षामा फस्ट बेन्च पाउनेबाहेक अरू खासै सुविधाको व्यवस्था छैन। यस्तै–यस्तै कारणले सबै विद्यार्थी भृकुटीमण्डप नै आउने गरेको तिवारीको दाबी छ।
किन त?
तिवारीका अनुसार लाइब्रेरीको कम्प्युटरमा करिब ५५ सय किताब अडियोमा संगृहित छन्। जसमा एक कक्षादेखि स्नातकोत्तरसम्मका, लोकसेवादेखि शिक्षकसेवासम्मका, साहित्य, दर्शन, धर्म, राजनीति लगायत मानिसका बढी चासो रहने विषयका किताब छन्। आफूलाई रुचि भएका सबैखाले किताब पाइने भएकाले धेरै यहाँको लाइब्रेरी धाउँछन्। त्यसबाहेक लाइब्रेरीमा नभएका, तर आफूलाई रुचि भएका पुस्तकलाई अडियोमा रुपान्तरण गर्न थुप्रै दृष्टिविहीन आउने गरेको तिवारीले बताए।
तर, कुनै समय थियो, लाइब्रेरीले पाठकले चाहेअनुसारको किताब पुर्याउन सक्दैनथ्यो। एक त रिलवाला चक्काको जमाना छँदा खर्च बढी हुन्थ्यो भने किताब किन्न सक्ने क्षमता पनि मञ्चसँग थिएन। ‘प्रविधिले यति सजिलो बनाइदियो, अहिले खल्तीमा लाइब्रेरी नै अट्छ,’ मञ्चका अध्यक्ष महर्जन भन्छन्, ‘पहिले त चक्का नै यति धेरै हुन्थ्यो कि राख्ने ठाउँ पनि नपुग्ने।’
ती थुप्रै चक्का र सोनीको क्यासेट प्लेयर महर्जनसँग अहिले पनि छ। बेला–बेला महर्जन त्यही क्यासेटबाट अडियो किताब पढ्छन्, रेडियो/गीत–संगीत सुन्छन् अनि पुराना दिन सम्झँदै जम्मा १२ वर्षको अन्तरमा प्रविधिमा आएको विकासको अन्दाज गर्दै दंग पर्छन्।
सुरुमा चक्कामा रेकर्ड गरिन्थ्यो, त्यसपछि सिडी हुँदै अहिले पेनड्राइभ। चक्का होस् या सिडी या पेनड्राइभ, किताब अडियोमा पाउँदैमा दृष्टिविहीनलाई सजिलो हुन्छ भन्ने छैन। अरूलाई पढ्दे न भन्नुपर्ने बाध्यताबाट मुक्त भए पनि खर्रर पढेको सबैले एकैचोटिमा बुझ्दैनन्। कति शब्द बुझिँदैनन्, कन्ठ पार्न कति त दोहोर्याएर पढ्नुपर्ने हुन्छ। सयौं पेजको किताब अडियोमा त घन्टौं लामो हुन सक्छ। आफूले खोजेकै पेजको सामग्री कसरी पत्ता लगाउने त? फेरि दोहोर्याएर सुन्नुपर्यो!
तर, अहिले त्यस्तो छैन। कम्प्युटरमा ‘डेजी’ नामको एउटा विशेषखाले एप्लिेकसन इन्स्टल गरिसकेपछि त्यसमा रेकर्ड गर्दा कति नम्बर पेज, कुन शीर्षक, कुन उप–शीर्षकजस्ता स–साना कुरा छुट्याउँदै रेकर्ड गर्न मिल्छ। यसले दृष्टिविहीनलाई आफूले खोजेको पेजको त्यही शीर्षकमा पुगेर पढ्न सजिलो बनाउँछ।
मूलतः अडियो किताब पढेर पिएचडी गरिरहेका आरआर क्याम्पसमा पढाउने गोविन्दप्रसाद आचार्य र उप–सचिवका लागि तयारी गरिरहेका दीपक माझीको पढाइ अनुभवले प्रविधिको विकास र त्यसले दृष्टिविहीनलाई दिएको सुविधालाई बुझाउँछ।
आचार्य क्याम्पस पढ्दा बेलाको कुरा हो, उनी होस्टल बसेर पढ्थे। जब परीक्षा आउँथ्यो, साथीलाई किताब पढेर सुनाउन लगाउँथे। तर, सबैले आफूले पनि पढ्नुपर्ने बहाना बनाउँदै तर्किन्थे।
‘त्यस्तोबेला मलाई कम्ति चित्त दुख्थेन,’ आचार्य सम्झन्छन्, ‘टाउको ठोक्काउँदै ‘पढ्नै नपाउने ठाउँमा किन जन्मिएछु नि’ भन्दै कयौं दिन रोएको छु। पढ्न नपाएरै थुप्रै विषयमा फेल पनि भएको छु। मलाई अंग्रेजी पढ्ने साह्रै रहर थियो तर पढ्न सघाउने साथी नहुँदा मैले आफ्नो रहर मार्नुपर्यो।’
निकै कष्ट भोगेरै भए पनि उनले स्नातकोत्तर सकाए। अहिले प्रविधिले दिएको सुविधाले उनले आफूले चाहेअनुसारको विषय पढ्न पाएको बताउँछन्।
दीपक माझीको पनि अनुभव उस्तै छ। किताब पढ्न लगाउँदा उनका साथीहरूले आफूले भनेअनुसारको किताब नै नपढी उसको रुचिअनुसारको कथा मात्रै पढिदिँदा रहेछन्।
‘विज्ञान, गणितजस्ता विषय त पढ्दै नपढिदिने,’ माझी सम्झन्छन्, ‘त्यतिबेला त साह्रै कष्ट थियो, आफ्नो रुचि एकातिर हुन्छ, सघाउनेको रुचि अर्कैतिर।’
आचार्य र माझी मात्र होइनन्, अहिले प्रविधिमा आएको विकासले धेरैमा पहिले आँट नगरेको क्षेत्रमा प्रतिस्पर्धा गर्ने आँट पलाएको छ।
त्यसो त, विकासको दाँजोमा नेपालमा प्रविधिको उपयोग हुन नसकिरहेको दृष्टिविहीनहरुको गुनासो छ। माझीका भनाइमा तथ्यांकका टेबल, चित्र भएका पुस्तक र शब्द संरचना जान्न अझै पनि सजिलो छैन।
‘अहिले धेरैलाई एजुकेसन, आर्ट्सजस्ता विषय पढ्न सजिलो भएको छ, तर साइन्सका फिगर, तथ्यांकको टेबल पढ्न गाह्रो छ,’ उनले भने, ‘त्यति मात्र होइन, शब्द त सुन्यो तर त्यो शब्द कसरी लेखिन्छ भन्ने कुरा त अडियोले भन्दैन।’
जस्तो, अमेरिकाको राष्ट्रपतिको नामको स्पेलिङ कस्तो हुन्छ? ओसिआर भन्ने प्रविधिले अंग्रेजीमा लेखिएको किताब खर्रर त पढिदिन्छ। तर, त्यो अंग्रेजकै लवजमा हुन्छ। एकातिर अंग्रेजीको उच्चारण एकखाले र लेख्ने तरिका फरक हुन्छ। अर्कातिर उनीहरूको लवज पनि बुझ्न गाह्रो हुन्छ। त्यति मात्र होइन, गैर–नेपाली मातृभाषा भएकालाई नेपाली भाषा नै गाह्रो लाग्छ। नसुनिरहेकालाई ‘श्रद्धाञ्जलि’ शब्द लेख्नुप¥यो भने त्यसमा के–के अक्षर राख्नुपर्छ भन्ने ज्ञान हुँदैन। प्रविधिलाई प्रयोग गर्ने हो भने यी सबै गाह्रो कुरा होइन। हामीसँग हातमा सुन त छ तर त्यो गहना हो भन्ने जानिरहेका छैनौं।
उनी नेपाली पुस्तकलाई सहज किसिमले पाठकसम्म पुर्याउन जान्ने प्राविधिक नेपालमा नभए बाहिर देशबाट झिकाएरै भए पनि नेपाली दृष्टिविहीन पाठकको सुविधामा ल्याउनुपर्ने बताउँछन्। र, पुस्तकका बारेमा जानकारी दिन बेला–बेला कार्यशाला भइराख्नुपर्ने आवश्यकता औंल्याउँछन्।
आचार्यको भनाइ पनि उस्तै छ। उनी प्रविधिले सजिलो बनाइदिए पनि दृष्टिविहीनहरूमा पढ्ने संस्कार भने विकसित नभएकोमा जोड दिन्छन्।
‘पहिले हामी आफूले खोजेको किताब अडियोमा पाउँदा निकै खुसी हुन्थ्यौं,’ आचार्य भन्छन्, ‘भृकुटीमण्डपकै लाइब्रेरीमा मैले मसँग भएका धर्म, राजनीति, दर्शनका थुप्रै किताब लगेर रेकर्ड गर्न लगाएको छु। ती किताब दृष्टिविहीनलाई मात्र होइन, अक्षर नचिनेका अरूलाई पनि काम लाग्छ। पढ्न चाहने हो भने दृष्टिविहीनलाई किताब पाउन त्यति गाह्रो छैन।’ उनी दृष्टिविहीनहरूमा ‘रिडिङ कल्चर’ बढाउनुपर्ने बताउँछन्।
यता, मञ्चको गुनासो भने बेग्लै छ।
सरकारबाट बर्सेनि तीन लाख रुपैयाँ पाइए पनि खर्च नै दस लाखभन्दा बढी हुने भएकाले दृष्टिविहीनहरूले खोजेअनुसार किताब किन्न, भाडा तिर्नेजस्ता समस्यामै वर्षौंदेखि अल्झिएकाले प्रविधिका पछिल्ला सुविधा दृष्टिविहीनसम्म पुर्याउन नसकिरहेको महासचिव तिवारीको भनाइ छ।
‘अहिले हामी राजधानीकेन्द्रित भइरहेका छौं,’ उनले भने, ‘हामीसँग स्रोत हुन्थ्यो भने देशैभरका दृष्टिविहीनसम्म पुस्तकको पहुँच पुर्याउन सक्छौं।’
(तस्बिरहरुः अनिश रेग्मी/सेतोपाटी)