वैवाहिक बलात्कारमाथि बहस चल्दै थियो।
‘वैवाहिक बलात्कार भनेको के हो?’ एक किशोरीले प्रश्न गरिन्।
‘आफ्नै श्रीमान वा श्रीमतीबाट हुने बलात्कार।’
अर्कीले सोधिन्, ‘वैवाहिक सम्बन्धमा बलात्कार भएको कसरी थाहा हुन्छ?’
यो प्रश्न झर्नासाथ यस्तो तरंग आयो, मानौं नेपाल ल क्याम्पसको त्यो कक्षाकोठा आफैंमा अदालतको इजलास हो। कालो कोट र प्यान्टमा ठाँटिएका छात्राहरूले भावी वकिलको छनक देखाउँदै एकपछि अर्को प्रश्नको उरुङ लगाए।
‘विवाहअघि शारीरिक सम्बन्ध राख्नु नै हामीकहाँ वर्जित छ। यहाँ धेरैलाई शारीरिक सम्बन्ध र बलात्कारबीचको भेद नै थाहा छैन। यस्तो समाजमा विवाहको पहिलो रात लोग्नेले राखेको सम्बन्ध बलात्कार हो कि आत्मीय हो भनेर कसरी थाहा पाउने?’
‘हो त नि,’ अर्कीले सही थाप्दै भनिन्, ‘आफूमाथि बलात्कार भएको थाहै नपाएपछि को महिला कानुनी कारबाहीका लागि अदालत आइपुग्ला?’
कठघरामा थिइन्, ल क्याम्पसकी अध्यापिका पवित्रा राउत जो आफ्ना छात्राहरूको जिज्ञासा सुनेर खुसीले मुस्कुराइरहेकी थिइन्।
बिएएलएलबी तेस्रो वर्ष पढ्ने आफ्ना विद्यार्थीको जिज्ञासा मेट्दै पवित्राले भनिन्, ‘चाहे लोग्ने र स्वास्नी नै किन नहोस्, एकअर्काको सहमतिमा हुने शारीरिक सम्बन्ध मात्र कानुनी हुन्छ। बिहेपछि पनि श्रीमती यौन सम्पर्कका लागि राजी छैन, तैपनि श्रीमानले जबर्जस्ती गर्यो भने कानुनी रूपमा त्यो बलात्कार ठहर्छ। केटीले उजुरी लिएर अदालत आउन सक्छिन्।’
विद्यार्थीसँगको सवाल–जवाफका क्रममा लगभग आठ वर्षदेखि कानुन व्यवसाय गर्दै आएकी पवित्राले पेसाको अनुभव थपिन्, ‘अदालतमा सम्बन्धविच्छेदको निम्ति आउने धेरै मुद्दाको भित्री कारण खोज्दै जाँदा वैवाहिक बलात्कार देखिन्छ।’
करिब ६२ वर्षदेखि कानुन पढाइ हुँदै आएको नेपाल ल क्याम्पसमा यस्तो कानुनी बहस नौलो होइन। यो छ दशकमा कक्षाकोठाको दृश्य भने नौलो हुन थालेको छ।
केही वर्षयता वकालत पढ्ने विद्यार्थीमा छात्रलाई छात्राहरूले उछिनेका छन्। नेपाल ल क्याम्पस र नेसनल ल कलेजमा वार्षिक ७० जना विद्यार्थीको सिट तोकिएको छ। यसमध्ये छात्राको संख्या ५० र छात्र २० हाराहारी हुन्छ।
‘रमाइलो हुन्छ, सुरुमा कक्षाकोठामा पस्नेबित्तिकै हाम्रो पालाजस्तो केटैकेटा देख्नुपर्दैन,’ पवित्राले कक्षाकोठाको परिवर्तित दृश्य औंल्याउँदै भनिन् ‘उनीहरू त पछाडिको दुई–तीनवटा बेन्चमा मात्रै देखिन्छन्, अरू सबै केटी।’
त्रिभुवन विश्वविद्यालयले पाँचवर्षे विएएलएलबी सुरु गरेपछि छात्राहरूको संख्या उल्लेखनीय रूपले वृद्धि भएको हो। पाँच वर्ष अघिसम्म कानुन पढ्न स्नातक सक्नैपर्थ्यो। यसलाई विस्तार गरेर प्लस टु पढेकाहरूको निम्ति पाँचवर्षे एलएलबी कोर्स सुरु भयो। काठमाडौं स्कुल अफ ल मा १० वर्षअघि, नेपाल ल क्याम्पस र नेसनल ल कलेजमा २०६७ सालदेखि एलएलबी पढाइ हुन थालेको हो।
भावना बानियाँले प्लस टु सकेको त्यही बेला हो।
व्यवस्थापन विषयमा प्लस टु सक्दा भावनालाई फेसन डिजाइनर बन्ने सोख थियो। उनका आमाबुबा भने छोरीले कालो कोट लगाएर अदालतमा बहस गरेको हेर्न चाहन्थे। आखिरमा आमाबुबाकै चाहनाले जित्यो।
भावनाले नेपाल ल क्याम्पसको पाँचवर्षे स्नातक तहमा प्रवेश परीक्षा दिइन्। नाम निस्क्यो। अहिले उनी पायोनियर ल फर्ममा काम गर्न थालिसकेकी छन्।
‘म किताब पढ्न रुचाउने केटी होइन,’ उनले सेतोपाटीसँग भनिन्, ‘फेसनमा रुचि भएकी मलाई किताबका पानाभित्र हराइरहन के मन लाग्थ्यो र? आमाबुबाको मन राख्न मात्र कानुन पढ्न आएकी थिएँ, अहिले त यसैमा रस बसिसक्यो।’
भावनालाई कानुन पढाइमा रस बसेको तेस्रो वर्ष पुगेपछि हो। फेसनका नौरंगी डिजाइन कल्पेर हिँड्ने उनी सुरुमा त कक्षाभन्दा क्यान्टिनमा बढी समय बिताउँथिन्। कक्षामा बस्दा पनि शिक्षकलाई प्रश्नको ओइरो लगाएर कसरी हैरान पार्न सकिन्छ भन्ने नै उनको ध्याउन्न हुन्थ्यो।
आखिर राम्रो वकिल बन्न चाहिने सबभन्दा ठूलो गुण पनि त यही हो– प्रश्न सोध्ने कला।
उता, विएएलएलबी तेस्रो वर्ष पढिरहेका सदीक्षा, रजिता र रक्षा भने कानुन पढ्ने रुचिले नै यहाँ आएका हुन्। रक्षा र रजिता दुवै वकिल बन्न चाहन्छन्। सदीक्षाको भने राष्ट्रसंघको जागिरमा छिर्ने धोको छ।
‘कानुनको स्कोप छ, जुनै क्षेत्रमा पनि कानुनी सल्लाहकार या अधिकृत चाहिने भएको छ,’ रक्षाले सेतोपाटीसँग भनिन्।
देशभरि जम्मा ७ जना महिला न्यायाधीश र महिला वकिल पनि औंलामै गन्न सकिने संख्यामा रहेका बेला कानुन पढाइप्रति छात्राहरूको बढ्दो रुचिले भविष्यमा थुप्रै महिला वकिल र न्यायाधीश जन्मिने आशा जगाएको छ।
‘कानुन व्यवसायमा महिलाहरूको कमी आगामी दिनमा पूरा हुने संकेत देखिन्छ,’ पवित्राले भनिन्, ‘यो खुसीको कुरा हो।’
पछिल्लो ६ वर्षमा नेपाल ल क्याम्पसको पाँचवर्षे विएएलएलबी ४ सय २० जना विद्यार्थीले पढे। यीमध्ये छात्राको संख्या २ सय ९० छ। यो झन्डै ७० प्रतिशत हो। त्यस्तै, नेसनल ल कलेजमा २ सय ६० जना विद्यार्थीमध्ये ६० प्रतिशत छात्रा छन्। काठमाडौं स्कुल अफ लमा पनि छात्र र छात्राको अनुपात यही छ।
नयाँ शैक्षिक सत्रका लागि हालै सकिएको प्रवेश परीक्षामा आवेदन दिने र पास हुनेमा पनि छात्राकै संख्या बढी रहेको ल क्याम्पसका सहायक प्रशासक मुरारी केसीले बताए।
नयाँ विद्यार्थीको अन्तर्वार्ताको अनुभव सुनाउँदै उनले भने, ‘मैले अस्ति मात्र २२ जना विद्यार्थीको अन्तर्वार्ता लिएँ, जसमा ४ जना मात्रै केटाहरू थिए।’
उनका अनुसार प्रवेश परीक्षा मात्र होइन, वार्षिक परीक्षामा समेत छात्राहरूले नै सधैं टप गर्दै आएका छन्। नेपाल ल क्याम्पसमा पाँचवर्षे एलएलबीका निर्देशक विवेक पौडेल पनि यसमा सहमत छन्। आफ्नो ६ वर्षे अनुभवमा एकपटक बाहेक सबै वर्ष छात्राहरू नै पहिलो भएको उनले सुनाए।
पवित्रा राउतको अनुभव केही फरक छ।
‘कोर्सबुक र अदालती बहसको अभ्यासमा केटीहरू सजिलै केटालाई जित्छन्, तर सामाजिक, राजनीतिक बहसमा केटाहरू बाह्य सूचना बढी राख्छन्,’ उनले भनिन्, ‘केटीहरु कुनै काम परिआए मज्जाले गर्न सक्छन्, तर आफैं कस्सिँदैनन्। यो हाम्रो परिवार, समाज र सिकाइमा भएको समस्याको प्रभाव हो।’
कानुन विषयमा यति धेरै छात्राको रुचिको कारण के पाँचवर्षे विएएलएलबीको सुरुआत मात्र हो त?
नेसनल कलेजका सञ्चालक तथा कार्यकारी निर्देशक रामकृष्ण तिमल्सिना बढ्दो महिला सशक्तीकरण, सामाजिक परिवर्तनलाई पनि यसको कारण ठान्छन्।
उनका अनुसार अन्य क्षेत्रको दाँजोमा कानुनी क्षेत्रमा अवसर धेरै छन्। कुनै संस्था खोल्दा होस् या कम्पनी दर्ता गर्दा, कानुनी राय दिने व्यक्ति सबभन्दा पहिला खोजिन थालेको छ। एनजिओ र अन्य संस्थाहरूमा पनि कानुन पढेकाले प्राथमिकता पाउँछन्। मुलुक संघीयतामा गएपछि स्थानीय तहदेखि नै कानुन व्यवसायीको माग बढ्नेछ। यसले पनि नयाँ अवसर सिर्जना गर्ने तिमल्सिनाले बताए।
‘अवसर भएका क्षेत्रमा महिलाको आकर्षण बढ्नु धेरै राम्रो कुरा हो,’ उनले भने।