नौसय वर्षभन्दा पुरानो ईतिहास रहेको ललितपुरस्थित हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) ले आफूसँग थुप्रिएका बहुमूल्य वस्तुहरु फेरि समेट्न र स्याहार्न सुरु गरेको छ। आर्थिक सांस्कृतिक हिसाबले मुलुककै सबैभन्दा सम्पन्न यो विहार भित्रै अब छिट्टै संग्रहालय पनि थपिने भएको छ।
‘स्थापनादेखि नै मन्दिर परिसरमा नअटाएर भित्र थुपारिएका हजारौं बहुमूल्य कलाकृति र महत्वपूर्ण ग्रन्थहरु छन्,’ विहार सुधार समितिका सहसचिव पुष्प बज्राचार्यले भने ‘अब ती सबै सामग्री सर्वसाधारण र पर्यटकहरुका निम्ति खुला गरिनेछ।’
ज्ञात इतिहास नौ सय वर्षको रहेता पनि विभिन्न किंवदन्तीका आधारमा भने काठमाडौं उपत्यकाको पानी बाहिर गएपछिका सबैभन्दा पुराना तीन धार्मिक महत्वका स्थानमध्ये यो विहार भित्रको मन्दिर पनि रहेको बताइन्छ। ‘विहार स्थापनाका बेलामै संग्रह गरिएका कलाकृति नअटाएर भित्र थुन्नुपरेको थियो,’ बज्राचार्य भन्छन्, ‘त्यसपछि भक्तजनहरुबाट लगातार प्राप्त हुँदैआएका अत्यन्त धेरै बस्तुहरु सबै थुनिएकै अवस्थामा छन्।’
यस विहारको गुठीभित्र ललितपुरकै पाँच हजार परिवार समेटिएका छन्। यी परिवारका लागि परम्परादेखि आस्थाको केन्द्र रहेको यो विहारमा निकै अघिदेखि भक्तजनहरुले बहुमूल्य सामग्रीहरु दर्ता गरेर चढाउँदै आएका छन्।
महाविहारले समेटेका परिवारमा असुरक्षाकै भयले पनि धेरैले आफूसँग भएका महत्वपूर्ण सामग्री परम्परादेखि मन्दिरलाई दिँदै आएका छन्। यसरी प्रदान गरिएका सामग्रीमध्ये कतिपयले घरमै सजाएका–पूजा गर्दैआएका मूर्तिसमेत छन्। गुठीका अनुसार यसरी दिनेहरुले घरका मूलीहरुदेखि सबैजना आएर विधिवत् पुजा गरेरै चढाउने परम्परा छ।
‘कतिपय परिवारमा अंशवण्डा हुँदा दाजुभाइबीच कुरा नमिलेपछि त्यस्ता सामग्री सामुहिक सहमतिबाटै यहाँ आएर चढाउने पनि गरेका छन्,’ बज्राचार्य भन्छन्, ‘त्यसरी दिने परिवारका सदस्यहरुले उनीहरुको पारिवारिक मूर्तिको पुजा यहीँ आएर गर्ने गर्छन्।’ यस्ता मूर्तिहरुमा प्रस्तरकादेखि लिएर विभिन्न किसिमका धातुले बनेका कलात्मक मूर्तिहरु छन्।
मूलतः बज्राचार्य र शाक्यहरुको यो गुठीमा श्रेष्ठ, जोशी, महर्जन, अमात्यहरुसमेत समेटिएका छन्। धेरै गुठी र समाजहरुको केन्द्रका रुपमा यो महाविहार रहँदै आएको छ।
‘उतिबेला बहुमूल्य वस्तुहरु लुकाएर राख्दा सुरक्षित रहन्छ भन्ने मान्यता थियो,’ बज्राचार्य भन्छन्, ‘अबचाहिँ लुकाएर होइन व्यवस्थित रुपमा सबैका निम्ति खुला गर्दा नै सुरक्षित रहला र यसबारे अध्ययन अनुसन्धानसमेत गर्न सजिलो हुन्छ भन्ने लागेकोले यस्तो निर्णय गरिएको हो।’गुठीले यतिबेला प्रत्येक विदेशी पर्यटकलाई प्रवेशका निम्ति पचास रुपैयाँ शूल्क लिँदै आएकामा त्यति नै पैसाले संग्रहालय पनि घुम्न दिइने भएको छ।
‘आर्थिक फाइदा लिने हिसाबले होइन,’ बज्राचार्यले भने, ‘विश्व सम्पदा सूचीमा परेको यस्तो महत्वपूर्ण स्थानका सम्पत्तिहरु सबैले व्यवस्थित तरिकाले हेर्न पाउन भन्ने मुख्य उद्देश्य हो।’संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार नेपालकै सबैभन्दा सम्पन्न मात्र नभइ यो विहार जत्तिको परम्परा र रितिथिति पनि अरु कसैको छैन।
‘यस विहारसँग किराँत–लिच्छवि कालदेखिका पछिसम्मकै महत्वपूर्ण घटनाहरु जोडिएका छन्,’ जोशी भन्छन्, ‘यति सम्पन्न स्थानको बहुमूल्य सम्पत्तिहरु सर्वसाधारणका निम्ति खुला हुनु स्वागतयोग्य कदम हो।’लिच्छवी कालतिरै एक भक्त वालकको ध्यान र पराक्रम जोडिएको यो विहारमा आहिले पनि ती बालकको अवतारकै रुपमा पुजारी नियुक्त गरेर यसको परम्परा अघि बढ्दै आएको जानकारी पनि जोशीले दिए।