हरिणले बाटो काट्दा भएको मोटरसाइकल दुर्घटना परेर महोत्तरीको लक्ष्मिनियाँ जंगलमा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुर उपमाहानगरपालिका २४ का ३० बर्षीय रोहित कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रविन्द्र खनालले बताए ।
हरिणलाई ठक्कर दिएर दुर्घटनामा परेका मोटरसाइकल चालक महतोलाई विपरीत दिशाबाट आइरहेको ट्रकले किचेर घटनास्थलमै उनको मृत्यु भएको हो।
स४प २९६७ नम्बरको मोटरसाइकलमा सवार महतोले बाटो काट्दै गरेका हरिणलाई ठक्कर दिएर सडकमा लडेका थिए। त्यसैबेला बर्दिबासबाट दु्रतगतिमा पथलैयातर्फ जाँदै गरेको ना २ ख ८११५ नम्बरको ट्रकले सडकमा लडेर अचेत अवस्थामा रहेका महतोलाई लक्ष्मिनियाँ ५ स्थित जंगलमा किच्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालक इप्रका बर्दिबासको नियन्त्रणमा रहेको छ।