उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ।
शनिबार राति ८ बजे स्थानीयवासी ४२ वर्षीय दलबहादुर पुर्जाको आफ्नै भाइ ३६ वर्षीय बलबहादुर पुर्जाको कुटाइबाट ज्यान गएको हो।
घरायसी सामान्य विवाद हुँदा टाउकोमा ढुङ्गाले लागी गम्भीर घाइते भएका दलबहादुरको उपचारका लागि गण्डकी अस्पताल, पोखरा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
उक्त घटनामा संलग्न बलबहादुरलाई प्रहरीले पक्राउ गरेको छ। शव गण्डकी अस्पताल पोखरामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पर्वतका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए। रासस