कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको बिएस्सी एजीको प्रवेश परीक्षाको उत्तरपुस्तिका लिएर भरतपुरबाट रामपुर जाँदै गरेको गाडी तोडफोड भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार विश्वविद्यालयको बा १० च ९३४५ नंको उत्तरपुस्तिका बोकेको उक्त गाडी विश्वविद्यालय नजिक दिउँसो २ बजे अज्ञात समूहले तोडफोड गरेको हो।
चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार ढुङ्गा प्रहारबाट गाडीको सिसा फुटेको छ। घटनापछि अनुसन्धानका लागि १० जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको श्रेष्ठले बताए। उत्तरपुस्तिका सुरक्षित रहेको उनले जानकारी दिनुभयो । कसले किन तोडफोड गरेको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस