गत वर्ष तावेइ सफलताको ४०औं वार्षिकउत्सव मनाउन छेप्लुङमा भेला हुन जाँदै गरेका आरोहण सदस्य लाक्पा नोर्बु (बायाँ) र तेनुरी शेर्पा (बिचमा) सहयोगीको साथमा। तस्बिरः गिरीश गिरी/सेतोपाटी
सन् १९७४ को दसैं–तिहारताका ल्हाक्पा तेन्जिङ जापानमै थिए। जापानकै ठूलो आरोहण टिम ‘आरसिसी’ लाई सरदारका रूपमा भर्खरै सफलतापूर्वक सगरमाथा आरोहण गराएपछि उनलाई त्यो टोलीले उता लगेको थियो।
डेढ महिने घुमघाम र भेटघाटकै क्रममा एकदिन अचानक आरोहण टोलीका नेता सिसानोले ल्हाक्पासँग अनौठो प्रस्ताव राखे। ‘जापानी महिलाहरूको टोली सगरमाथा चढ्न नेपाल पुग्दै छन्,’ सिसानोले थपे, ‘उनीहरूलाई पनि अब तपाईंले नै सरदारका रूपमा सगरमाथा चढाउनुपर्यो।’
यो सुनेर ल्हाक्पा चकित पर्नु स्वाभाविक थियो। त्यतिन्जेलसम्म कुनै पनि छोरी मानिसले पाइला राख्न नसकेको सगरमाथामा नेपालजस्तै एउटा यस्तो समाजका छोरी हौसिइरहेका थिए, जसको जन्मदेखि हुर्काइभरी ‘छोरीहरू भनेका घरको चौघेराभित्र मात्र बस्नुपर्छ’ भनेर सिकाइन्थ्यो। र, यस्तो साहसिक कामका निम्ति त कतैबाट पनि योग्य मानिँदैन थियो।
‘एकछिन अनौठो लागे पनि मैले धेरैबेर सोचिन,’ आइतबार बिहान सेतोपाटीसँग कुरा गर्दै ७९ वर्षे ल्हाक्पा भनिरहेका थिए, ‘ओके, वेलकम भनिदिएँ।’
ल्हाक्पा काठमाडौं फर्किएको केही महिनामै होचा कदका १५ जना फुर्तिला जापानी चेली ठूलो उत्साहका साथ आइपुगे। ल्हाक्पाले काठमाडौं बसेरै सम्पूर्ण बन्दोबस्त र किनमेल गरिदिए। दस जना शेर्पाको टोली र भान्छामा समेत काम गर्नेहरू गरेर १५ जनाको टिम उनैले तयार पारिदिए।
ल्हाक्पाका अनुसार जापानका अग्रणी अखबारका पत्रकार पनि त्यतिबेला आएका थिए। ‘करिब ६–७ जनाको त्यो टोलीलाई सालो आङछिरिङका साथ जहाज चढाएर लुक्ला पठाएँ,’ उनले थपे, ‘१५ जना जापानी चेलीलाई भने मैले नै साथ लिएर लामोसाँघुको बाटो हुँदै पैदल खुम्बुतर्फ लागेँ।’
टोलीलाई नाम्चे पुग्न दुई साता लाग्यो भने नाम्चेबाट आधारशिविर पुग्न अर्को एक साता। त्यतिन्जेल अर्को एउटा महत्वपूर्ण निर्णय लिनुपरेको थियो। ‘भर्खर सगरमाथा चढेर आएकाले मलाई सरदार भएर फेरि उक्लिन मन लागेन,’ ल्हाक्पा भन्छन्, ‘मैले सालो आङछिरिङलाई नै सरदार बनाएर आफू लियाजो अफिसरका रूपमा आधारशिविरमै बस्ने निधो गरेँ।’
प्रविधिको अभाव रहेको त्योबेला लियाजो अफिसर हुनु पनि कम्ता कठिन थिएन। ‘हिजोआज पो मोबाइलले सबै काम हुन्छ,’ उनी भनिरहेका थिए, ‘त्योबेला आधारशिविरमा बसेका लियाजो अफिसरले दैनिक हातैले ‘मेलराना’ लेखेर सही गरेपछि दिनदिनै मान्छे कुदाएर नाम्चेमा रिपोर्ट पठाउनुपर्थ्यो।’
आधारशिविर पुगेको दिनदेखि नै आरोहणको तयारी सुरु भएको थियो। तर, एउटा नरमाइलो घटनाले टोली विचलित बन्न पुग्यो। आरोहण सुरु गरेको १०–१२ दिनमै टोली क्याम्प–२ पुगेका बेला अचानक हिमपहिरो गइदियो।
‘राति सबै जना सुतेका बेला छेउको पहरा खसेछ,’ ल्हाक्पा भन्दै गए, ‘अरूलाई त खासै केही भएन, सुतेको पालमाथि हिउँले थिचेपछि दुई जना शेर्पा भने नराम्ररी घाइते भएका थिए।’
त्यसपछि कोकोहोलो मच्चाउँदै टोली आधारशिविर फर्कियो। शिविरमा एक साता बसेपछि फेरि माथि उक्लिने निधो भयो। उनीहरू माथि चढे। १५ जना युवतीमध्ये एक जना चिकित्सक सुरुदेखि आधारशिविरमै बसेकी थिइन्। बाँकी १४ जनाले सगरमाथा चढ्ने प्रयास गरेका थिए।
‘सबैले सकेनन्,’ ल्हाक्पा भन्छन्, ‘चौथो शिविरसम्म पुग्न ताबेइ र अर्की मासाको नागानुमा मात्र सफल भए।’
त्यहाँनिर एउटा कठोर निर्णय लिनुपरेको थियो। वातानावेले बोकेको अक्सिजन कम भइसकेकाले ताबेइलाई मात्र शिखरमा लैजाने निधो गरियो।
‘त्यो बेला सगरमाथा चढ्नु कहाँ अहिलेजस्तो सजिलो थियो?’ ल्हाक्पा भन्छन्, ‘साढे छ किलोको बोतलमा अत्यन्तै थोरै अक्सिजन हुन्थ्यो, जबकि अहिले तीन किलोकै बोतलमा त्योभन्दा धेरै अक्सिजन अटाएको हुन्छ।’ अन्य अत्याधुनिक प्रविधिदेखि लिएर जनशक्तिसम्मका हिसाबले सगरमाथा आरोहणको अवस्थै एकदम फरक भएको ल्हाक्पा सुनाउँछन्।
यसरी दुई जापानी चेलीमध्ये जुनको ताबेइलाई मात्र लिएर सरदार आङछिरिङ शिखरतर्फ लागे। शिखर पुग्नै लाग्दा तरबारको धारजस्तो उकालोमा चढ्नुपर्दा अर्को ठूलो खतरा आफूले भोग्नुपरेको ताबेइले पछि उल्लेख गरेकी थिइन्। अघिल्ला आरोहीले त्यस्तो खतरनाक ठाउँका बारे आफूलाई पूर्व जानकारी नगराएकामा उनले गुनासो पोखेकी थिइन्। त्यो यति खतरनाक धार थियो जसमा पाइला अघि बढाउँदा सानो मात्र गल्ती भइदिए या त उत्तरको चीनतर्फ ५ हजार मिटर गहिरो भीर वा नेपालतर्फको ६ हजार ४ सय मिटर गहिरो भीरमा लडिन्थ्यो।
जे होस्, सन् १९७५ मे १६ तारिखका दिन विश्वकै सर्वोच्च शिखरमा पहिलो छोरी मानिसको उपस्थिति दर्ज भयो, जो तीनवर्षे सन्तानलाई पतिको जिम्मामा छाडेर यो जोखिम उठाउन नेपाल आइपुगेकी थिइन्।
ताबेइलाई शिखरसम्म लैजाने सरदार आङछिरिङको करिब चार वर्षपहिले निधन भइसकेको छ। लगत्तै उनकी श्रीमति पनि बितिन्। बाँकी सबै सन्तान बिदेसिए पनि उनीहरूका एक छोरी आङसेराले लुक्लामा लोभलाग्दो कफीघर ‘कर्मा इन’ चलाएर बसेकी छन्।
‘बुबाको निधनपछि नाम्चेको घरमा कोही छैनन्,’ गत वर्ष यस संवाददातालाई लुक्लास्थित उनको कफीघरमा मिठो कपुचिनोले स्वागत गर्दै आङसेराले भनेकी थिइन्, ‘बुबाले जीवनको अन्तिम क्षणसम्मै ताबेइलाई सगरमाथा चढाउँदाका अनुभव सुनाइरहनु हुन्थ्यो।’
सगरमाथामा सफलता पाइसकेपछि पनि ताबेइले विश्राम लिइनन्। उनले सातवटै महादेशका अग्ला शिखर ताकिन्। र, सन् १९९२ मा अर्को विश्वकीर्तिमान कायम गरिन्– सातवटै महादेशका सर्वोच्च टाकुरा चढ्ने पहिलो महिला आरोही।
विश्वभरिमै महिलाहरूको साहसिक गाथामा सधैंलाई अग्रस्थान राख्ने ठाउँ बनाइसकेकी जुनको ताबेइलाई शनिबार जापानको अस्पतालले मृत घोषित गरेको थियो। क्यान्सर रोगले ग्रस्त उनी ७७ वर्षकी थिइन्। त्यो नमिठो खबर डडेलोजस्तै तत्कालै नेपाल आइपुग्यो। लुक्लाबाट नाम्चे लागेपछि छेप्लुङको एकान्त डाँडामा भने आइतबार बिहान मात्र एफएमको समाचारमार्फत् यो खबर सुनियो। सुनेर लाक्पा नुर्बुका आँखा रसाए। केही थोपा चुहिए पनि।
‘पोहोर आरोहणको चालिस वर्ष पुगेको उपलक्ष्यमा मलाई श्रीमति छोराछोरीसहित काठमाडौं बोलाएर याक एन्ड यती होटलमा भव्य भोज गर्नुभएको थियो,’ उनले ताबेइलाई सम्झँदै भने, ‘उहाँ नेपाल आएपिच्छे हामी आरोहण दलका सबै सदस्यलाई सपरिवार बोलाएर उत्सवजस्तै मनाउनु हुन्थ्यो।’
ताबेइले सगरमाथा चुमेको बेला लाक्पा नुर्बु र उनका पिता आङ ग्याल्जेन पनि आरोहण दलका सदस्य थिए। त्यसअगावै दुईपटक ताबेइसँग अन्नपूर्ण आरोहणमा सामेल भइसकेका पिताकै साथ लागेर लाक्पा पनि सगरमाथा अभियानमा सरिक भएका थिए। पिताभन्दा फरक उनको भूमिका आरोहण दललाई पकाएर खुवाउने थियो। उनका पिताको निकैअघि निधन भइसकेको छ। ६२ वर्षे लाक्पा भने यतिबेला पदमार्गको छेवैमा ‘नुर्बुलिंगा होटल’ चलाएर बसेका छन्।
यो त्यही होटल हो जहाँ गत वर्ष छेप्लुङका आरोहीले ताबेइ सफलताको चालिसौं वर्ष मनाएका थिए। लाक्पाका अनुसार उनको गाउँबाट मात्रै त्यतिबेला सात जना ताबेइको आरोहण दलमा सरिक थिए।
‘अहिले त पेम्बा दोर्जी, पासाङ नुरु र म गरेर तीन जना मात्रै बाँचेका छौं,’ उनले एउटा अप्रिय समाचार पनि जोडे, ‘पोहोर तेनुरी शेर्पाको पनि निधन भयो।’
तेनुरी त्यो टोलीमा सरदार आङछिरिङपछिका महत्वपूर्ण शेर्पामध्ये पर्थे। सेतोपाटीसँगको कुराकानीमा तेनुरीले आफू साउथकोलसम्मै ताबेइसँग पुगेको दाबी गरेका थिए। झन्डै ८५ वर्ष उमेर पुगिसकेका भए पनि उनी गत वर्ष ताबेइ आरोहणको ४० वर्षे उत्सव मनाइरहेका बेला मध्यरातसम्मै कुप्री परेर नाचिरहेका थिए।
यो छेप्लुङ गाउँसँग ताबेइको कतिसम्म मायामोह बसेको थियो भने सन् १९९४ ताका उनले यसको झन्डै ०.३ हेक्टर जग्गामा स्याउ फार्म नै स्थापना गरेकी थिइन्। ठूला–साना गरेर करिब साढे तीनसय स्याउका रुख हुर्किसकेका छन्। त्यसमध्ये सयवटाले त बर्सेनि फल नै दिइरहेको छ।
‘म हुँदा सय किलोभन्दा बढी स्याउ उत्पादन हुन्थ्यो,’ यो फार्मलाई तीन वर्षसम्म रेखदेख गरेकी माया शेर्पा भन्छिन्, ‘यसरी फलेका सबै स्याउ स्थानीय स्तरमै खपत हुँदै आएको छ।’
ताबेइ हरेकपटक छेप्लुङ आउँदा साथमा थरिथरिका स्याउका विरुवा ल्याउने गर्थिन्। उनी आफैँले रोपेर यति धेरै रुख त्यहाँ हुर्किएको जानकारी मायाले दिइन्।
‘दुई वर्षअघि भने यो फार्मलाई समिति गठन गरेर गाउँलेलाई नै व्यवस्थापन गर्ने हिसाबले जिम्मेवारी सुम्पिइएको छ,’ मायाले भनिन्, ‘त्यसयता ताबेइले बिरुवा ल्याएर रोपे पनि सम्पूर्ण रेखदेख गाउँलेहरूकै हातमा छ।’
मायाका अनुसार यो जमिन ताबेइले खरिद गरेको नभई त्यत्तिकै रहेको डाँडा उपभोग गरिएको थियो। हस्तान्तरण गर्नेबेला ताबेइले दस लाख रुपैयाँ नगद पनि दिएको माया बताउँछिन्।
लाक्पा नुर्बुका अनुसार यसरी ग्रामीण जनतालाई हस्तान्तरण गरिएपछि फार्मको अवस्था भने उचित रेखदेख र स्याहारको अभावमा पहिलेभन्दा अलिक नाजुक बन्न पुगेको छ। ‘सगरमाथामा सफलता पाएदेखि ताबेइको मनमुटु यो भेगसँग जोडिएको थियो,’ लाक्पा भन्छन्, ‘सगरमाथामा थुप्रिएको फोहोरको चिन्ता गर्दै सफाइको अभियान थाल्ने पनि ताबेइ नै हो।’
लाक्पाका अनुसार ताबेइ सगरमाथा क्षेत्रलाई माया गर्ने मामलामा यसका पहिलो आरोही एडमण्ड हिलारीसँग पनि असाध्यै नजिकिएकी थिइन्। ‘मलाई जापान बोलाएको बेला फुकुसिमाभन्दा माथि नमुजुरास्थित उहाँको घरमा राखिएको थियो,’ उनी भन्छन्, ‘म बसेको कोठामा पटकपटक हिलारी आएर बसेको सुनाउनुभएको थियो।’
हिलारी र तेन्जिङले पहिलो सगरमाथा आरोहण गरेको पचास वर्ष पुगेका बेला पनि ताबेइ उत्सवमा सरिक हुन खुम्बु पुगेकी थिइन्। ‘हरेकपटक यहाँ आउँदा घर पस्ने र परिवारका सबैको सोधिखोजी गर्ने गर्नुहुन्थ्यो,’ लाक्पा भन्छन्, ‘आरोहण दलका प्रत्येक सदस्यले उहाँबाट यस्तो माया पाउँदै आएका थिए।’
लियाजो अफिसर ल्हाक्पा तेन्जिङका अनुसार आरोहण सफल भएपछि टोली लुक्लाबाट विमान चढेरै काठमाडौं आएको थियो। यसरी काठमाडौंबाट हिँडेर काठमाडौं फर्किँदा लगभग तीन महिना लागेको थियो।
‘त्यति थोरै समयको सहकार्यले हामीलाई जीवनभरि एउटा परिवारजस्तै बाँधिदियो,’ ल्हाक्पा भन्छन्, ‘ताबेइ नेपाल आएको क्षण र बर्सेनि आरोहण सफल भएको दिन एक हिसाबले उत्सवजस्तै हुन्छ।’
ताबेइले चाडपर्वका बेला सबै सदस्यलाई नटुटाइकन शुभकामना कार्ड पनि पठाउने गरेकी थिइन्। अब त्यस्तो कार्ड आउन बन्द हुनेछ भनेर सम्झँदा मात्र पनि ल्हाक्पालाई नमिठो लागिरहेको छ।
‘ताबेइ नरहे पनि आरोहण सफल भएको दिन त हरेक वर्ष आइरहन्छ,’ उनले भने, ‘हामी त्यस दिनलाई उत्सवका रुपमा मनाइरहने छौं।’