महोत्तरी जिल्लाको सदरमुकामस्थित जलेश्वर नगरपालिकामा आज राजनीतिक दलको एक समूहले तालाबन्दी गरेको छ।
जलेश्वर नगरपालिकाले एक महिनाअघि बर्खास्त गरेका इन्जिनियर पवनकुमार झा २०/२५ जनाको समूहमा नगरपालिकामा आई कर्मचारीलाई गाली बेइज्जती गर्दै जबर्जस्ती हाजिर गर्न खोज्दा सोको विरोध गर्दै समूहले तालाबन्दी गरेको हो।
बर्खास्त भएका इन्जिनियरसँगै आएका सबैमाथि कडा कारबाहीको माग गर्दै विभिन्न दलका प्रतिनिधिले नगरपालिकामा तालाबन्दी गरेका छन्।
आज बिहान कार्यालय खुल्नेबित्तिकै गरिएको तालाबन्दी बर्खास्त इन्जिनियरसहित सो कार्यालयमा अमर्यादित क्रियाकलाप गर्ने सम्पूर्ण व्यक्तिमाथि कारबाही नहुन्जेल यथावत् रहने राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन्। बर्खास्त गरिएका झाले भने आफू बर्खास्त नभएको र नियमपूर्वक मन्त्रालयले दिएको पत्रका आधारमा आफू हाजिर भएको जिकिर गरे। रासस